तीन अर्ब दश करोड लागतमा तनहुँमा छिम्केश्वरी केबलकार बन्दै

  २०७९ मंसिर १६ गते १६:२५     विकासन्युज

दमौली । तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको हो ।

पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमले दोस्रो परियोजनाका रुपमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ ।

छिम्केश्वरीमा केबलकार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजमका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । बन्दीपुरमा केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि छिम्केश्वरीमा काम सुरु गर्ने तयारी छ । बन्दीपुरमा आगामी वैशाखदेखि केबलकार सञ्चालन गर्ने लक्ष्य छ ।

‘छिम्केश्वरीमा केबलकार निर्माणका लागि डिपिआर तयार भएको छ’, शर्माले भने, ‘बन्दीपुर केबलकार र स्थानीयको सेयर रहने गरी काम अगाडी बढाउने पक्षमा छाैं ।’ छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाउने उद्देश्यसहित केबलकार निर्माण गर्न लागिएको शर्माले बताए । ‘केबलकार निर्माण भएपछि छिम्केश्वरीको विकासमा थप टेवा पुग्नेछ’, शर्मा भन्छन् । छिम्केश्वरी मन्दिरमा अहिले पनि उल्लेख्य मात्रामा भक्तजन आउने गरेकामा केबलकार निर्माणपछि उक्त सङ्ख्या झन थपिने विश्वास गरिएको छ ।

परियोजनाले छिम्केश्वरीमा रिसोर्ट निर्माण गर्ने लक्ष्य राखेको छ । तीन हजार छ सय मिटर लामो रहने केबलकारले दैनिक दश हजार यात्री बोक्ने क्षमता राख्नेछ । केबलकार निर्माणका लागि पृथ्वीराजमार्ग खानीखोलामा २२ रोपनी जग्गा खरिद गरिसकिएको छ । थप २५ रोपनी हकभोग गर्दै आएको तर लालपुर्जा नभएका जग्गा नियमपूर्वक गाउँपालिकाको रोहवरमा खरिद गर्ने तयारी गरिएको छ ।

एक हजार आठ सय मिटर पार गरेपछि खर्कमा केबलकारको ‘ट्रान्जिट स्टेशन’ रहनेछ । ‘यस ठाउँमा आकर्षक सांस्कृतिक रिसोर्ट निर्माण गरिनेछ, यो ठाउँ समुद्र सतहदेखि एक हजार दुई सय मिटरको उचाइमा अवस्थित छ’, उनले भने, ‘यहाँ ३० रोपनी जग्गा खरिद गरिसकिएको छ ।’

हकभोग गरेको थप ६० रोपनी जग्गासमेत गाउँपालिकाको रोहवरमा नियमपूर्वक खरिद गर्ने प्रक्रिया अगाडि बढेको शर्माले बताए । ‘थप ४० रोपनी लालपूर्जा रहेको जग्गा खोजी कार्य गरेका छौँ’, उनले भने, ‘सरकारसँग थप ५० रोपनी जग्गा भाडामा लिएर एक सय ९० रोपनी क्षेत्रफल जग्गामा अत्याधुनिक संस्कृति थिमपार्क रिसोर्ट बनाउने रणनीति छ ।’

तीन हजार छ सय मिटर पार गरेपछि माथिल्लो स्टेशनमा पुगिनेछ । त्यस ठाउँमा भने कम्पनीको नाममा जग्गा खरिद नगरिने बताइएको छ । नेपाल सरकारसँग एक सय रोपनी जग्गा भाडामा लिएर धार्मिक गतिविधिको केन्द्र बनाउने कम्पनीको रणनीति रहेको शर्माले बताए । यसै स्थानमा चर्चित देवी कालीमाँ छिम्केश्वरीको मन्दिर छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

विशेषगरी नयाँ वर्ष र होलीको अवसरमा विभिन्न जिल्लाबाट भक्तजन छिम्केश्वरीसम्म पुग्ने गरेका छन् । पृृथ्वीराजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.