धोबिखोला करिडोर सडकका खाल्डा खुल्डी धमाधम पुर्दै प्राधिकरण, महिना दिनमै सक्ने लक्ष्य

  २०७९ मंसिर १५ गते १३:०२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबिखोला कोरिडोर सडकमा परेका खाल्डा खुल्डी पुर्न सुरु गरेको छ । सडकमा बनेका स-साना खाल्डा समयमै नपुर्दा जोखिम भएको कुरालाई मध्यनजर गर्दै प्राधिकरणले खाल्डा पुर्न सुरु गरेको हो ।

केही वर्ष अघिसम्म सुन्दर देखिएको धोबिखोला कोरिडोर सडक खाल्डाखुल्डीका कारण अहिले भने जोखिमयुक्त बन्दै गएको छ । उक्त करिडोरको सडकको २/२ मिटरमा खाल्डा भनेको र अब भने उक्त खाल्डा पुर्दै जाने उपत्यका विकास प्राधिकरण इन्जिनियर सज्जन कुँवरले बताए । उनका अनुसार प्राधिकरणले एक महिना भित्र उक्त खाल्डा पुरिसक्ने लक्ष्य लिएको छ ।

केही समय अगाडि प्राधिकरणले खाल्डा पुर्ने, पिच र खोला सफा गर्ने ठेक्का के एण्ड केजी-इन्द्रेणी-द सुप्रम-जेबीलाई दिएको थियो । प्राधिकरणले उक्त कम्पनीलाई भ्याट सहित २ करोड ६८ लाख रुपैयाँमा ठेक्का लगाएको प्राधिकरणका इन्जिनियर कुँवरले बताए । सडकमा परेका सबै खाल्डा पुर्ने योजना बनाएको प्राधिकरण खानेपानी र विद्युत प्राधिकरणले काम गर्नको लागि स्वीकृति मागेको ठाउँमा चाहिँ नपुर्ने मनसायमा छ ।

यस्तै, ठेकेदार निरञ्जन न्यौपानेले खोला सफा गर्न लिए जति ठेक्काको काम सम्पन्न भएको बताएका छन् । उनका अनुसार अहिले कालो पुलदेखि चाबहिलसम्म कोरिडोर क्षेत्रमा परेको खाल्डा पुर्ने काम भइरहेको छ ।

त्यस्तै, कपनको निलो पुलदेखि कालो पुलसम्म धोबी खोला सफा गर्दा लगभग ६० लाख रुपैयाँ खर्च भएको पनि न्यौपानेले जानकारी दिए । ‘अहिले हामीले ठेक्कामा सम्झौता भए अनुसारको काम गरिरहेका छौं, अझै काम गर्न बाँकी नै छ, हाम्रो तर्फबाट द्रुत गतिमा नै काम गरिरहेका छौं,’ उनले भने ।

धोबिखोला कोरिडोरको नाम अहिले परिवर्तन भई धोबिखोला करिडोर कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना भएको पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.