काठमाडौंमा डिजिटल हेल्थ कन्फरेन्स हुँदै, अन्तर्राष्ट्रिय वक्ताहरूले कार्यपत्र प्रस्तुत गर्ने

  २०७९ मंसिर १२ गते १३:५८     विकासन्युज

काठमाडौं । नेपालमा पहिलोपटक यही मंसिर १२ र १३ गते डिजिटल हेल्थ कन्फरेन्स आयोजना हुने भएको छ ।

काठमाडौंमा आयोजना हुने सो सम्मेलन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको ई–हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको आयोजना तथा जेनेभा डिजिटल हेल्थ हबको सहआयोजनामा सञ्चालन हुन लागेको हो ।

सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा लगायतका विषयमा केन्द्रित हुने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो सम्मेलनमा नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरका साथै स्वीट्जरल्याण्ड, जापान, दुबईलगायतका डिजिटल हेल्थमा क्रियाशील अन्तर्राष्ट्रिय वक्ताहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालका स्वास्थ्यसम्बद्ध विज्ञहरूले समेत कार्यपत्र प्रस्तुत गर्ने आयोजकले बताएका छन् ।

सम्मेलनमा नेपालका डिजिटल हेल्थसम्बद्ध सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहनेछ । डिजिटल हेल्थको सन्दर्भमा नेपालको वर्तमान स्वास्थ्य नीतिले सम्बोधन गरेको विषय पनि सम्मेलनको विशेष मुद्दा हुनेछ ।

यसका साथै डिजिटल हेल्थमा नेपालका दूरदराजका जनताको सहज पहुँचको वातावरण सिर्जना गर्ने विषय पनि सम्मेलनमा मुख्य छलफलको विषय बन्ने बताइएको छ ।

कार्यक्रममा वर्ल्ड हेल्थ अर्गनाइजेसन, जर्मन सहयोग नियोग, जीआईजी, एनएसआई, तुर्किस एयरलाइन्स, नेपाल दूरसञ्चार प्राधिकरणलगायतको सहकार्य रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.