कसरी छानिन्छ राष्ट्रिय दल ? के पाइन्छ सुविधा ?

  २०७९ मंसिर ११ गते १७:२४     विकासन्युज

काठमाडौं ।  राष्ट्रिय दल बन्नको लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । तर अन्य दल र राष्ट्रिय मान्यता प्राप्त दलमा संघीय संसद सचिवालयको दृष्टिकोणले उपलब्ध गराउने सेवा, सुविधामा भने खासै भिन्नता छैन ।

यसलाई राजनीतिक मान्यताको रुपमा ऐनमा नै व्यवस्था गरिएको संसद सचिवालय बताउँछ । नयाँ सांसद निर्वाचित भएर आएसँगै उनीहरुको सेवा सुविधा के होला भन्ने आम नागरिकको चासोको विषय रहन्छ । निर्वाचित सांसदहरुले संसद सचिवालयबाट कस्तो सुविधा पाउँछन् भन्ने कुरामा यतिबेला नयाँ सांसदहरु चुनिएसँगै सबैको ध्यान गएको छ ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमला राष्ट्रिय दल बन्नको लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको बताउँछन् । ‘प्रत्यक्षतर्फ २ जना निर्वाचित सदस्य भएको खण्डमा भने संसदीय दलको कार्यालय पाउने व्यवस्था रहेको छ, संसदीय दलको कार्यालय स्थापना भइसकेपछि मात्रै संसदीय दलको कार्यालयलाई संघीय संसद सचिवालयले उपलब्ध गराउनुपर्ने सेवा,सुविधाहरु दिइने छ, दुई भन्दा कम निर्वाचित सदस्य रहेको दलले भने संसदीय दलको रुपमा मान्यता पाउँदैन, अहिलेको निर्वाचन परिणामअनुसार कुनैपनि एउटा दलले मात्रै बहुमत पाउने अवस्था छैन,’ उनले भने ।

उनले दुई वा दुई भन्दा बढी दलहरु मिलेर सरकार गठन गर्ने अवस्था देखिएकाले यो अवस्थामा प्रतिनिधि सभामा १० प्रतिशत वा सो भन्दा बढी सदस्य रहेको प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल प्रमुख विपक्षी दलको रुपमा रहने बताए । उनले प्रमुख विपक्षी दलको १ जना मात्रै नेता रहने व्यवस्था रहेको र उनले कानूनमा भए बमोजिम सेवा, सुविधा पाउने बताए ।

सहायक प्रवक्ता धमलाकाे अ नुसार प्रमुख विपक्षी दलले प्रमुख सचेतक र सचेतक तोक्ने व्यवस्था रहेको छ र उनीहरुले पनि ऐन अनुसार सेवा सुविधा पाउनेछन् ।  त्यस्तै, सत्ता पक्षमा पनि एक जना सचेतक रहने व्यवस्था रहेको उनले बताए ।

‘१० प्रतिशत वा सो भन्दा बढी सदस्य नभएको अवस्थामा १० जना भन्दा बढी सदस्य भएको दलले पनि प्रमुख सचेतक तोक्ने व्यवस्था रहेको छ, प्रमुख सचेतक पनि तोक्ने र दलको सचेतक पनि तोक्न भने पाइदैन, सत्ता पक्षको सचेतकलाई पनि संसद सचिवालयले कानूनले तोकेबमोजिमको सुविधा उपलब्ध गराउँछ,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.