म्याग्दीमा खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण

  २०७९ मंसिर ११ गते १५:०९     विकासन्युज

म्याग्दी । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दर्मिजा गाउँमा हालै सम्पन्न गाउँलेको भेलाले रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण गरेको छ ।

परम्परा, रीतिरिवाज र स्थानीयको एकताका कारण व्यवस्थित गाउँका रुपमा परिचित दर्मिजाका गाउँलेको भेलाले गाउँमा उत्पादित खाद्यान्न, ढुवानी भाडा र ज्यामी मजदुरको ज्याला निर्धारण गरेको हो । गाउँ भेलाले पास गरेको उक्त निर्णयविपरित गरेमा मनपरी गर्ने व्यक्तिलाई सामाजिक वहिष्कारसम्मको कारबाही हुने गरेको रघुगङ्गा–४ का अगुवा तबहादुर शेरपुञ्जाले बताए ।

‘बिहीबार सम्पन्न गाउँलेहरुको भेलाले दरभाउ र ज्याला मजदुरी गर्नेको पारिश्रमिक निर्धारण गरेको छ’, स्थानीय अगुवा धनबहादुर गर्बुजाले भने । गर्बुजाका अनुसार अन्नबालीतर्फ मकै प्रतिपाथी एक सय ५० रुपैयाँ, कोदो र धान प्रतिपाथी दुई सय रुपैयाँ, जौ प्रतिपाथी एक सय ५० रुपैयाँ, गहुँ र उवा प्रतिपाथी दुई सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

यसैगरी भटमास प्रतिपाथी चार सय रुपैयाँ, फापर प्रतिपाथी एक सय ५० रुपैयााँ, सिमी प्रतिपाथी छ सय रुपैयाँ, आलु र पिँडालु प्रतिपाथी एक सय ५० रुपैयाँ, बेसार प्रतिमाना एक सय ५० रुपैयाँ र रक्सी जम्बो बोतललाई एक सय ३० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी सिपालु ज्याला प्रतिव्यक्ति सात सय रुपैयाँँ, हलगोरु ज्याला प्रतिदिनको एक हजार रुपैयाँ, साधारण खेताला ज्याला प्रतिदिनको पाँच सय रुपैयाँँ, इलेक्ट्रिसियन ज्याला प्रतिदिनको आठ सय रुपैयाँँ, सिकर्मी ज्याला प्रतिव्यक्ति आठ सय रुपैयाँँ, सिमेन्ट प्लाष्टर प्रतिव्यक्ति आठ सय रुपैयाँँ निर्धारण गरिएको छ । त्यस्तै राँगो शुल्क आठ सय रुपैयाँँ, गोरु र बोका समारेको एक सय रुपैयाँँ, लोकल मह र घिउ प्रतिमाना छ सय रुपैयाँँ र दाउरा काट्ने खेतालाको ज्याला प्रतिदिनको पाँच सय रुपैयाँँ निर्धारण गरिएको गर्बुजाले बताए ।

गाउँमा उत्पादन हुने र बाहिरबाट आयात गरिने सबै वस्तुमा एकरुपता कायम गर्न र उपभोक्ता तथा बिक्रेताको आपसी सम्बन्ध बलियो बनाउन यो चलन निकै प्रभावकारी हुने गरेको पूर्ववडाध्यक्ष रुकबहादुर गर्बुजाले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.