श्री इन्भेष्टमेन्ट फाइनान्सका सञ्चालकको हस्ताक्षर अवैधानिक, राष्ट्र बैंकले रोक्यो लाभांश

  २०७९ मंसिर ११ गते १५:१२     सीआर भण्डारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले श्री इन्भेष्टमेन्ट फाइनान्सको सञ्चालक समितिले हस्ताक्षर गरेको वित्तीय विवरण अमान्य रहेको भन्दै फिर्ता पठाएको छ । कार्यकाल सकिएको सञ्चालक समितिले हस्ताक्षर गरेर एजीएम क्लियरेन्सका लागि राष्ट्र बैंकमा वित्तीय विवरण पठाएपछि राष्ट्र बैंकले नियम विपरित भएको भन्दै वित्तीय विवरण नै फिर्ता पठाएको हो ।

श्री इन्भेष्टमेन्ट फाइनान्सले एजीएम क्लियरेन्सका लागि राष्ट्र बैंक पठाएको गत आर्थिक वर्षको वित्तीय विवरणमा समय सकिसकेको सञ्चालकहरुको हस्ताक्षर भेटेपछि राष्ट्र बैंकले फिर्ता पठाएको हो । यस फाइनान्सले पठाएको वित्तीय विवरण राष्ट्र बैंकले स्वीकृति नदिँदा नयाँ सञ्चालक समिति गठन गर्नु पर्ने भएको छ ।

फाइनान्स कम्पनीको हालको सञ्चालक समितिको समयावधि गत असारमा सकिएको थियो । आगामी वार्षिक साधारण सभाले नयाँ समिति गठन गर्ने भन्दै आफैं समय अवधि थपेको थियो । तर, राष्ट्र बैंकले सञ्चालक समितिको समयावधि आफै बढाउन वा थप गर्न नपाउने भन्दै वित्तीय विवरण नै रोकिदिएको हो । वित्तीय विवरण नै रोकिएपछि संस्थले वितरण गर्ने लाभांश वितरणको विषय पनि दुविधामा परेको छ । राष्ट्र बैंकले वित्तीय विवरण नै स्वीकृत नगरेपछि संस्थाले लाभांश वितरण गर्न पाउँदैन ।

श्री इन्भेष्टमेन्ट फाइनान्स सूचना अधिकारी दुर्गा लम्सालका अनुसार श्री इन्भेष्टमेन्ट फाइनान्सले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको छ । राष्ट्र बैंकले हालका सञ्चालकहरुले हस्ताक्षर गरेको वित्तीय विवरण स्वीकृत नगर्ने भएपछि नयाँ सञ्चालक समिति गठन गरेर पुनः वित्तीय विवरण राष्ट्र बैंकमा पठाउने तयारी भइरहेको उनले बताए ।

‘सञ्चालक समितिको समयावधि गत असार २० गते नै समाप्त भएको थियो, वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति गठन गर्ने योजना थियो, सञ्चालक समितिको समय अवधि स्वेच्छाले थप गर्न पाउँदैन भनेर राष्ट्र बैंकले वित्तीय विवरण रोकिदियो,’ उनले भने ।

राष्ट्र बैंकले सञ्चालकहरुको समयावधि आफैं थप्न नपाउने भनेपछि फाइनान्सले विशेष साधारण बोलाएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २३ गते विशेष साधारण सभा बोलाएको हो ।

कम्पनीको सभाले ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरूको निर्वाचन गर्ने कम्पनीले बताएको छ । कम्पनीले निर्वाचन सम्बन्धि कार्यक्रमको तयारी गर्न निर्वाचन अधिकृत समेत तोकिएको सूचना अधिकारी लम्सालले बताए ।

‘नेपाल राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृति नदिएका कारण विशेष साधारण सभा बोलाउनु पर्ने बाध्यता आइपर्याे, नियामकबाट विशेष सभा गरेर नयाँ सञ्चालकले हस्ताक्षर गरेको आउनु भनेको छ,’ उनले भने, ‘अहिलेको सञ्चालक समिति काम चलाउ मात्रै थियो तर यो बीचमा जति पनि काम भएका छन् त्यसलाई साधारण सभाले पारित गर्नुपर्ने हुन्छ ।’

निर्वाचन गर्ने भनिए पनि विशेष साधारण सभामा सहमतिमा नै नयाँ सञ्चालक समिति गठन हुन सक्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत दिएको छैन, आन्तरिक प्रक्रिया पुरा गरेर पठाएको डकुमेन्टहरु अध्ययनको शिलशिलामा छन्, राष्ट्र बैंकले नयाँ सञ्चालक समितिले हस्ताक्षर गरेको वित्तीय विवरण पठाउन भनेको छ,’ उनले भने ।

एक महिनाको फरकमा पुनः वार्षिक साधारण सभा बोलाउने उनले बताए । शशि राज पाण्डेय अध्यक्ष रहेको सञ्चालक समितिमा दिनेशराज जोशी, महेश प्रसाद अधिकारी, उमेश भगत प्रधानाङ्ग, रामकृष्ण शर्मा वाग्ले र ममता अधिकारी सञ्चालक रहेका छन् ।

कम्पनीको चुक्ता पूँजी ९५ करोड ८६ लाख रुपैयाँ रहेको छ । कम्पनीमा ५१ प्रतिशत सेयर संस्थापक समूह र ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको स्वामित्व रहेको छ ।

नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले समावधि सकिएको सञ्चालक समितिले मनोमानी रुपमा कार्यकाल बढाउन नपाउने बताए । उनका अनुसार अब नयाँ कार्य समितिले हस्ताक्षर गरेको वित्तीय विवरण आए मात्रै सो फाइनान्सको वित्तीय विवरण स्वीकृत हुन सक्नेछ ।

‘अहिलेको सञ्चालक समितिको कार्यकाल सकिएकाेले नयाँ समिति आउनु पर्छ, पुरानै सञ्चालकहरुले मिलेर कार्यकाल थप्न पाउँदैनन्, सो समितिले विशेष साधारण सभा बोलाएर सभाले निवार्चित गरेका सञ्चालकहरुको हस्ताक्षरसहितको वित्तीय विवरण आएमात्रै प्रक्रिया अगाडि बढ्छ,’ उनले विकासन्युजसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.