सामाजिक सुरक्षा कोषमा जानेलाई यस्ता छन् नयाँ सुविधा

  २०७९ मंसिर ११ गते १४:४३     विकासन्युज

काठमाडाैं । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सुरक्षा कोषमा योगदान कर्ताले विगतमा पाएको सेवासुविधामा अतिरिक्त थप सुविधाको व्यवस्था गरेको बताएका छन् ।

आईतबार नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) ले सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमा बोल्र्दै कार्यकारी निर्देशकले यस्तो बताए । उनले कोषको कार्यविधि परिमार्जन गरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ताहरुले पाइरहेको सेवासुविधा थप गरी १० घातक रोगको उपचारमा १० लाख रुपैयाँ दिने व्यवस्था गरेको बताए ।

‘सामाजिक योगदानमा आधाररित सुरक्षा कोषमा श्रीमानले यागदान गर्दा श्रीमतीले पनि श्रीमान सरह उपचार खर्च पाउने व्यवस्था गरेका छाैं, औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत थप श्रमिकमैत्री बनाउने गरी कोष अगाडि बढेको छ,’ उनले भने ।

उनले कोषको सञ्चालक समितिको बैठकले अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयमा पठाएकाले चाँडै स्वीकृत हुने तयारी रहेको बताए । ‘मन्त्रालयले नीति स्वीकृत गरेपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पाउने छन्, कोषले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको लागि कार्यविधि बनाइरहेकाे छ ।’

काेषकाे अनुसार प्रत्येक महिनामा चारदेखि ६ हजार श्रमिकहरू सामाजिक सुरक्षा कोषमा जोडिन थालेका छन् । पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन् । हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ । जसमध्ये दुई अर्ब ५७ करोड रकम औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, अवकाश दाबी लगायत विभिन्न शीर्षकमा भुक्तानी गरिएको कोषले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.