मङ्सिर १३ गतेसम्म तीन जिल्लाबाहेकको मत परिणाम आइसक्ने

  २०७९ मंसिर ११ गते १४:१५     विकासन्युज

काठमाडौं । यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।

त्यस्तै नेकपा (एमाले) ४१ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात/सात, जनता समाजवादी पार्टी नेपालले छ स्थानमा जित हासित गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन् ।

बाँकी स्थानको केही विवादका कारण निर्वाचन र मतगणनामा भएको ढिलाइ तथा मतगणना स्थागितका कारण समयमै नतिजा आउन सकेको छैन । बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आज साँझ अथवा भोलिसम्म आइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

हाल प्रत्यक्षसँगै समानुपातिकको पनि मतगणना जारी रहेकाले उक्त तीन जिल्लाबाहेकको सबै मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने उनले बताए । बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका सम्बन्धमा आयोगले आवश्यक निर्णय गरी यथाशीघ्र सबै मतपरिणाम आइसक्ने आयोगको दाबी छ । अन्तिम मतपरिणाम प्राप्त भएपछि त्यसको सम्पूर्ण विवरण आयोगले राष्ट्रपतिलाई बुझाउने कानुनी प्रावधान छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.