बीमा एजेन्टको परीक्षा इन्स्योरेन्स कम्पनीले नै लिने, पाए ७ शर्तसहितको जिम्मेवारी

  २०७९ मंसिर ८ गते १६:३०     विकासन्युज

काठमाडौं । बीमा अभिकर्ता (एजेन्ट) को परीक्षा अब बीमा कम्पनीहरुले नै लिने भएका छन् । नेपाल बीमा प्राधिकरणले सम्पूर्ण बीमा कम्पनीहरुलाई एक पत्राचार गर्दै एजेन्टको परीक्षा लिने जिम्मेवारी प्रदान गरेको हो ।

२०७९ कार्त्तिक २२ गतेदेखि लागू भएको बीमा ऐन, २०७९ अनुसार प्राधिकरणले बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार प्राधिकरणले अर्को निर्णय नभएसम्मको लागि कम्पनीहरुलाई बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिएको हो ।

जसको लागि प्राधिकरणले विभिन्न शर्त समेत तोकेको छ । यससँगै कम्पनीहरुले उक्त शर्तको अधिनमा रही परीक्षा सञ्चालन गर्नुपर्ने छ ।

यस्ता छन् शर्तहरु

क. परीक्षा सम्बन्धी व्यवस्था प्रचलित कानुनको अधिनमा रही विशेषज्ञ सहितको परीक्षा उपसमिति गठन गरी परीक्षा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन तथा परीक्षाको गोपनियता, निष्पक्षता र पारदर्शिता समेत कायम गर्नु पर्नेछ ।

ख. परीक्षाको अङ्कभार १०० तथा उतिर्णाङ्क ५० हुनेछ ।

ग. प्रश्नहरु वस्तुगत हुनुपर्ने छ र प्रत्येक प्रश्नको अंकभार २ कायम गर्नु पर्नेछ ।

घ. परीक्षा उत्तीर्ण गरेको प्राप्तङ्क सहितको प्रमाणपत्र जारी गर्नु पर्नेछ ।

ङ. परीक्षा सम्बन्धी काम कारवाहीको सम्बन्धमा प्राधिकरणले जुनसुकै समयमा अनुगमन गर्न सक्नेछ ।

च. परीक्षा सम्बन्धी सम्पूर्ण कागजातहरु सुरक्षित राख्नु पर्नेछ ।

छ. परीक्षाको पाठ्यक्रम यसैसाथ संलग्न छ ।

साथै, कार्त्तिक २२ गतेभन्दा अघि बीमा अभिकर्ताको तालिम लिई लाइसेन्स नलिएका व्यक्तिले समेत लाइसेन्सको लागि परीक्षा उत्तीर्ण गर्नुपर्ने प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.