विवाहकै सिजनमा सुनको अभाव हुँदा ग्राहक मर्कामा, दैनिक ४० केजी माग

  २०७९ मंसिर ८ गते १५:५१     विकासन्युज

काठमाडौं । यो विवाहको सिजन हो । मंसिर महिनामा अधिकांश मानिसहरुले विवाह गर्छन् । विवाहका लागि भन्दै सुनचाँदीका गरगहना बनाउन तथा खरिद गर्नेको यो समयमा पसलहरुमा भीड हुन्छ । मंसिरको महिनामा विवाहका लागि धेरै साइत जुर्ने भएकाले पनि बजारमा विवाहको रौनकसँगै सुनचाँदीको व्यापार पनि चम्किन्छ ।

तर, यस पटक भने अवस्था त्यस्तो छैन । विश्व महामारीका रुपमा फैलिएको कोरोना महमारीपछि धेरै व्यापार व्यवसायमा मन्दी आएसँगै सुनचाँदीको व्यापारमा पनि त्यस्तै मन्दी छ । अहिले बजारमा सुनको अभाव छ । अहिले विावहको सिजन सुरु भएपनि सुनको अभाव हुन थालेको हो ।

व्यापारीहरुका अनुसार बजारमा सुनचाँदीको मागमा वृद्धि भएपनि सुनको अभाव भएकोले माग परिपुर्ति गर्न सकिएको छैन । नेपालीको रितिरिवाज अनुसार बिहेमा सुनचाँदी बनाउने चलन छ, तर सुन अभाव हुँदा ग्राहकले खोजे अनुसार आपुर्ति गर्न नसकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्य बिहेकै सिजनमा बजारमा सुनको अभाव भएको बताए । ‘पछिल्लो समय सुनको मागमा दैनिक वृद्धि हुन थालेको छ तर हामीले मागे अनुसारको सुन बैंकले नदिँदा ग्राहकलाई रितो हाल फर्काउनु परेको छ’, उनले भने, ‘दैनिक ४० किलो बढीको माग छ, अहिले बजारमा सुनको अभाव छ, बिहेको सिजन सुरु भएको छ, तर सुनको कोटा दैनकि १० किलोमै सीमित छ, तुरुन्तै कोटा बढाउन हामीले सम्बन्धित निकायलाई भन्दै आएका छौँ, आशा छ अब छिट्टै हाम्रो मागको सुनुवाई हुनेछ ।’

उनले तरलता अभाव र विदेशी मुद्रा सञ्चितीका कारण सुन आयातमा कोटा राखेको भन्दै पछिल्लो समय अवस्था सहज भएसँगै कोटा बढाउने तयारी भएको जानकारीमा आएको बताए ।

‘माग धेरै हुँदा हामीले म्यानेज गर्न असहज भएको छ, आएका सबै अर्डर लिन सकेका छैनौं, पहिला जुन ग्राहक आउँछन्, उसकै अर्डर लिने र पछि आउनेलाई फर्काउनु पर्ने बाध्यता छ, सुन नै नभएपछि फर्काउनु बाहेक विकल्प छैन’, उनले भने, ‘हाम्रो धर्म संस्कृतिमा बिहे, व्रतबन्धमा गहना लगाउनुपर्ने चलन छ, आफ्नोे आवश्यकता अनुसार सुन नपाएपछि ग्राहकलाई असहज भयो, सुन नै नभएपछि रोजगारी समेत असर गर्ने नै भयो ।’

नेपाल राष्ट्र बैंकले गत फागुनमा एक परिपत्र जारी गर्दै सुनको कोटा घटाएको थियो । फागुन अघि दैनिक २० किलो सुन आयातको अनुमति दिइएकोमा तरलता अभाव तथा विदेशी मुद्राको सञ्चितीलाई देखाउँदै दैनिक १० किलोको कोटा तोकेको थियो ।

व्यवसायीहरुले दैनिक २० किलोबाट बढाएर ४० बनाउनु पर्ने माग राखेको समयमा राष्ट्र बैंकले झन कोटा घटाएको भन्दै व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.