पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ प्रदान गर्न प्राधिकरणलाई निगमको अनुरोध

  २०७९ मंसिर ६ गते १८:४१     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमलाई प्रदान गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ ।

निगमले ग्राउण्ड ह्याण्डलिङमा लामो अनुभव रहेको र सोहीअनुसारको दक्ष जनशक्ति तथा आवश्यक प्राविधिक स्रोत साधनको उपलब्धता रहेकाले निगमलाई प्रदान गर्न अनुरोध गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

सोमबारदेखि यान्त्रिक परीक्षण उडान भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा प्राधिकरण आफैँले गर्ने जनाएको थियो ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको स्थापनाकालदेखि नै आफ्नो र अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको छ । ग्राउण्ड ह्याण्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोहीअनुसारको स्रोत साधन र जनशक्ति रहेकाले पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्यसमेत निगमलाई नै प्रदान गर्न व्यवस्थाका लागि अनुरोध गरिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमले अन्तर्राष्ट्रियस्तरको ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको र आइसागो, आयोटा सेफ्टी अडिट फर ग्राउण्ड अपरेसन्स सर्टिफाइड रहेको निगमले उल्लेख गरेको छ । साथै आन्तरिक वायुसेवाको भूमिस्थ सेवासमेत गर्न सक्षम भएको छ ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्य गर्दै आएको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हाल भारतका तीनसहित आठ देशका विभिन्न १० वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.