दुईचोटि संसद विघटन गरेका ओली अब फेरिपनि प्रधानमन्त्री बन्लान् ?

  २०७९ कार्तिक ३० गते ९:४४     अनुसा थापा

काठमाडौं । कुनै बिरामी मर्छ कि बाँच्छ, चिकित्सकलाई पहिल्यै थाहा भइसकेको छ । तरपनि डाक्टरले बाँच्छबाँच्छ भनेर हौसाइरहेका हुन्छ । डाक्टरले कहिले पनि मर्ने भन्दैन्, जबकि उनले पत्तो पाइसकेका छन् । यता, गर्भवती भएका महिलालाई डेलिभरी डेटचाँहि डाक्टरले पहिल्यै भनिदिन्छन् । अहिले नेकपा एमालेको हालत पनि उस्तै छ । आसन्न निर्वाचनका लागि एमालेका प्रतिनिधिहरुलाई भोट माग्न भ्याइनभ्याइ छ ।

उनीहरु जनताको घरघरमा पुगेका छन् । जनताहरु पनि तिनका हावादारी कुरा सुन्दै टाउको हल्लाइरहेका छन् । तर, मंसिर ४ पछि जनताहरुले एमालेको नतिजा निकाल्ने छन् । हिजो एमालेको कर्तुत त कसैले बिर्सिएका छैनन् । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थका कारण एमालेलाई टुक्राटुक्रा बनाए । विगतदेखि एमालेसंगै जोडिएका माधव नेपाललाई पार्टी नै त्यागेर हिँड्नुपर्ने अवस्था बन्यो ।

पार्टीबाट अलग्गिएर आफ्नै पार्टी खोलेका माधवलाई अहिले ओलीले फेरि पनि एमालेमा ल्याउन जोडबल गरिरहेका छन् । उनले राम्रो पदको आश्वासन दिएर माधवलाई बोलाइरहेका छन् । तर, हिजो बालकोटको बालकनीमा बसेका उनलाई गद्दार भनेको कुराचाँहि ओलीले बिर्सिए छन् । एमालेले योचोटिको चुनाव जित्ला भनेर अपेक्षा गर्न छोडिसकेका छन् ।

भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतको अघिपछि हिँड्नेको संख्या पनि निकै न्यून छ । महेशले चुनाव जित्दैन् भनेर पक्कापक्की थाहा पाइसकेका उनका कार्यकर्ताहरुले नै उनको साथ छोडेका छन् । घरदैलो कार्यक्रममा हिँडेको पनि देखिदैन् । अन्य क्षेत्रमा पनि एमालेका उम्मेदवारहरुको यही हाल छ । पार्टी अध्यक्ष ओलीले प्रत्यक्ष र समानुपातिक गरेर १५० सीट ल्याउने दाबी गर्दै आएका छन् ।

तर जनताले आफ्नो पार्टीलाई भोट दिँदैनन् भनेर जनताले थाहा पाइसकेका छन् । केही दिनअघि एउटा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने,‘गठबन्धनले बहुमत ल्याएपनि ६ महिना सरकार टिक्दैन् ।’ उनलाई गठबन्धनले बहुमत ल्याँउछ भनेर त थाहा भइसकेको रहेछ । गठबन्धनकै सरकार आँउछ भन्ने पनि उनले भेउ पाइसकेका छन् । तर, जुन सरकार आएपनि आफूहरुले ६ महिना टिक्न नदिने उनले बताए ।

एमालेका उम्मेदवारहरु घरदैलोमा पुग्दा जनताले गुनासो मात्र पोख्छन् । एक त ओलीले दुई चोटि सांसद् विघटन गरे । अर्कोतिर उनको घमण्डले पार्टी फुटेर टुक्राटुक्रा भयो । पाँच हजार दिने भनेको वृद्धभत्ता पनि भाषणमै सीमित भएका कुराहरु पनि जनताले उठाइरहेका छन् । शेरबहादुर देउवाले दीर्घरोगीलाई दिने भनेको भत्ता पनि उनले कटौती गरिदिएपछि जनताहरु आक्रोशित भएका छन् ।

२०७४ सालको चुनावमा प्रत्यक्ष जितेका क्षेत्रहरु एमालेले गुमाउदै छ । २०७० सालको चुनावमा भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेतले जम्मा १६ हजार भोट ल्याएका थिए । नेपाली कांग्रेसले २१ ह्जार मत ल्याएर विजयी हासिल गरेको थियो । २०७४ को चुनाव नेकपा माओवादी केन्द्र र एमालेबीच एकीकरण भएको थियो । जसले गर्दा बस्नेतले जीत हासिल गरे । माओवादीको साथ नपाएको भए बस्नेतले जित्नु असम्भवझैं हो ।

आसन्न चुनावमा बस्नेत १० देखि ११ हजार भोटमा खुम्चिने आकंलन लगाउन थालिएको छ । अरु जिल्लामा पनि एमालेका प्रतिनिधि खुम्चिने छन् । अनि एमालेले कहाँबाट बहुमत ल्याउँछ ? ओली सरकार बन्न कसरी सम्भव छ ? ओलीले भनेको बेलामा बुद्दि नपुर्याउदा एमाले त सिद्धियो । जनताबाट पनि नङगियो । २०७४ फागुन ३ गते ओलीको सरकार बन्नुअघि उनले माओवादी अध्यक्ष प्रचण्डसंग एउटा सम्झौता गरेका थिए ।

पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री आधाआधा कार्यकाल चलाउने सहमति भएको थियो । पछि आएर ओली आफ्नो प्रतिबद्धताबाट पन्छिए । उनले प्रचण्डलाई ढाड देखाइदिए । ओलीले उक्त सम्झौता पूरा गरेको भए आज अन्य पार्टीलाई शिला खोजेझै खोज्नुपथ्र्यो । माओवादीलाई भित्तामा पुर्याउन खोज्दा ओली आफैं सिद्धिए । प्रचण्ड जहाँको त्यही अडिग भएर बसेका छन् ।
ओली ‘घर न घाट’ को बनेका छन् ।

उखान टुक्काले देश चल्दो नरहेनछ भन्ने जनताले थाहा पाइसकेका छन् । आफ्नो उखान टुक्का नबिक्ने भएपछि ओलीले पनि भन्न छोडिदिए । ओलीको राजनीति सकियो । एमाले पत्तासाफ भयो । मंसिर ४ पछि एमालेलाई दिँउसै बत्ती बालेर खोज्नुपर्छ । ओलीसंग विचार र सिद्धान्तको अभाव छ । उनीसंग देश र जनताका लागि काम गर्न क्षमता पनि छैन् ।

हिजो ओली प्रधानमन्त्री भएको बेला फाइदा लिनेहरुचाँहि उनको दाँयाबाँया हिँडिरहेका छन् । फेरिपनि फाइदा लिन सकिन्छ कि ? भनेर ओलीको गुलामी गर्दै आएका छन् । तर, सर्वसाधारणहरु एमालेको पछि लाग्न छोडेका छन् । उनको कार्यक्रम जान पनि जनताले छोडिसकेका छन् । एमालेले कति सीट ल्याउँछ भनेर सोध्यो भने जनताहरु नेपाल मजदुर किसान पार्टीको जस्तै हाल हुने बताउँछन् ।

हेर्दाहेर्दै एमाले सखाप हुने भो । ओली भित्तामा पुग्ने भए । अझैपनि जनतालाई भ्रममा पारेर मत लिन सक्छु कि भन्नेमा ओली छन् । जुन असम्भव छ । ग्याँस, पानी जहाज, रेल र घरघरमा चुलो भनेर जुन भ्रममा पार्न उनले खोजेका छन्, जनताले अब पत्याउदैनन् । चुनावपछि ओलीले विकल्पको रुपमा प्रचण्डलाई फकाउन सक्छन् । गठबन्धन तोड्न उनले अनेकौं कोसिस गर्ने निश्चित छ ।

प्रचण्डलाई प्रधानमन्त्री बन्न दिने शर्तमा सरकारमा जाने रणनीति उनले तयार पार्न सक्छन् । ओलीबाट प्रचण्डले धेरै धोका खाइसकेका छन् । उनले ओलीको सबै आनीबानी राम्ररी बुझिसकेका छन् । त्यही भएर पनि प्रचण्डले ओलीमाथि विश्वास गर्ने आश न्युन छ । एमालेले तालमेल गरेको राप्रपा नेपाल, राप्रपा र जनता समाजवादी पार्टीबाट केही आश नगर्दा नै बेस हुन्छ ।

उपेन्द्र यादव, कमल थापा र राजेन्द्र लिङदेन अवसरवादी नेता त हुन् । यस्तालाई कसले भोट दिन्छ ? ओली राजवादी हुन् भन्ने कुरा जनताले थाहा पाइसकेका छन् । उनले खुलस्त नपारेपनि उनको कुरामा राजतन्त्र झल्किन्छ । ओली आए भने राजतन्त्र फर्किन्छ भन्ने त निश्चित छ । एमालेले आफ्नो सिद्धान्त र विचार छोडिसकेको छ । राप्पाको सिद्धान्त बोकेर हिँडेको छ ।
आफ्नो गन्तव्य कहाँ हो भनेर एमालेले बिर्सिसकेको छ ।

७० वर्ष नाघेका व्यक्ति कुनै पनि जिम्मेवारीमा बस्न नपाउने भनेर एमालेले केही वर्षअघि विधान बनायो । केही नेताहरु ७० वर्ष कटेपछि पार्टीको जिम्मेवारीमा बसेनन् । तर, ओली त ७२ वर्ष भइसकेका छन् । यस्तो व्यक्ति पार्टीको अध्यक्ष, चुनाव जित्यो भने देशको प्रधानमन्त्री । यस्तो व्यक्तिलाई जनताले भोट हाल्छन् ?

त्यहीमाथि पनि बिरामी मान्छे । बोल्नका लागि पनि कुर्सीको आवश्यक पर्छ । तैमाथि पनि दुईचोटि सांसद् विघटन गरिसकेका छन् । अनि जनताले यस्तो असक्षम व्यक्तिलाई भोट हालेर प्रधानमन्त्री बनाउने ? अलिक नौंलो व्यक्ति भएको भए पनि भोट हाल्थे होला । विगतदेखि वर्तमानसम्म उही पूराना अनुहार हेर्दै आएका छन्, जनता । एमाले १० वर्षअघि पार्टी थियो ।
अहिले त्यही एमाले ओलीको निजी कम्पनी भयो ।

६४ वर्ष भएका भीम रावललाई बुढो भनेर टिकट नदिने । अनि आफु ७२ वर्ष भएको व्यक्तिचाँहि पदमा टाँसिएर बसिरहने । अझै पाँच वर्ष देशको प्रधानमन्त्री हुन्छु रे । यस्तो फट्याहा गफ कसले पत्याउँछ ? जनता मुर्ख छन् ? ओलीलाई घेरेर राख्ने ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु पौडेल, महेश बस्नेत, गोकुल बाँस्कोटा, कोमल वलीको दुर्दशा चुनावपछि शुरु हुन्छ ।

यिनीहरुकै भविष्य अन्धकार छ, त्यसपछि ओलीलाई कसले घेर्ने ? २०६५ सालमा आर्मीका चिफ रुक्माङ्गद कटवाललाई जिम्मेवारीबाट हटाउँदाखेरि प्रचण्डले राजनीमा दिनुपरेको थियो । त्यतिखेर एमालेका अध्यक्ष झलनाथ खनालले हटाउन भनेर सहमति दिएका थिए । प्रचण्डले मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपति रामवरण यादव कहाँ पठाए । तर, राष्ट्रपतिले उक्त निर्णयलाई सदर गरिदिएनन् ।

प्रचण्डले नैतिकताका आधारमा तुरुन्त राजनीमा दिए । २०६५ मा राजनीमा दिएका प्रचण्डले बल्लतल्ल २०७३ सालमा प्रधानमन्त्री पाए, त्योपनि कांग्रेसको समर्थनमा । अब ओलीको पनि प्रधानमन्त्री हुने दिन सकियो । उनी बाँचुञ्जेल नेपालको प्रधानमन्त्री हुँदैनन् । एकचोटि गुमाइसकेपछि त्यो अवसर पाउन वर्षौ प्रतिक्षा गर्नुपर्छ । ओलीले अझै पनि म देशको प्रधानमन्त्री हुन्छु भन्नु दिँउसै सपना देखेजस्तै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.