स्वास्थ्य र शिक्षामा अर्बौं लगानी गरेका डा. श्रेष्ठ चुनाव जित्ने दाउमा

  २०७९ कार्तिक २८ गते १५:२८     विकासन्युज

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. वुद्धिमान श्रेष्ठले स्याङ्जा–२ को प्रदेश ‘ख’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । ०७४ सालको निर्वाचनमा एमालेले हार व्यहोरेको उक्त प्रदेश क्षेत्रमा यसपटक त्यसलाई उल्ट्याउने हिसाबले डा. श्रेष्ठ चुनावी मैदानमा उभिएका छन् ।

डा. श्रेष्ठले सन् १९९७ मा काठमाडौं महाराजगन्जमा कान्तिपुर स्कुल अफ डेन्सिटी एन्ड डेन्टल हस्पिटलको स्थापना गरेर कामको शुरुवात गरेका थिए । पछिल्लो समयमा काठमाडौं बसुन्धारमा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौं महाराजगन्जमा कान्तिपुर स्कुल अफ डेन्सिटी एन्ड डेन्टल हस्पिटल र पोखरा न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेन्स सञ्चालन गर्दै आएका छन् ।

शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेका डा. श्रेष्ठले सो क्षेत्रबाट व्यवसायिक रुपमा पनि सफलता हासिल गर्दै पछिल्लो २ दशकको समयमा आफ्नो संस्थाको राम्रो विस्तार गरेको देखिन्छ । विद्यार्थी कालदेखि नै एमाले राजनीतिमा जोडिदै आएका डा. श्रेष्ठ एमालेको विभिन्न केन्द्रीय विभागहरुमा समेत रहेर काम गर्दै आएका थिए । पछिल्लो समयमा उनी एमालेको गण्डकी प्रदेश कमिटी अन्तर्गत सचिवालय सदस्यको रुपमा रहेका छन् ।

स्याङ्जा–२ को प्रदेश ‘ख’ मा चापाकोट नगरपालिका, गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ बाहेक सबै र कालीगण्डकी नगरपालिकाको भूगोल पर्छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो प्रदेश क्षेत्रभित्र पर्ने पालिकाहरु मध्ये चापाकोट र गल्याङ नगपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ भने कालिगण्डकी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले विजयी हासिल गरेको छ । तर, वडागत तहमा मतको अवस्था हेर्दा २८ वटा वडामा नेपाली कांग्रेसले १५ र एमालेले १३ वटा वडामा जित हासिल गरेको अवस्था छ ।

उम्मेदवार डा. श्रेष्ठले लामो समयदेखि कान्तिपुर डेन्टल कलेजको तर्फबाट स्याङ्जाको धेरै ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । उनले सञ्चालन गरेका स्वास्थ्य शिविरहरुमार्फत ठूलो संख्याका विमारीहरुले स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन् । जसले गर्दा मतदाताहरुमार्फत उनले व्यक्तिगत सहानुभुति र अपेक्षाको थप मत प्राप्त गर्ने अनुमान एमालेले गरेको छ । गल्याङ नगर अस्पतालमा आफ्नै ठूलो लगानीमा डेन्टल विभाग निर्माण निर्माण गरेर २ वर्षको लागि आवश्यक मेशिनरी सामग्री र जनशक्तिको व्यवस्था डा. श्रेष्ठले नै गरेका छन् । जसको सो क्षेत्रमा नै सकारात्मक परेको अनुमान एमालेले गरेकोे छ ।

‘उहाँले विगतदेखि सञ्चालन गर्दै आउनुभएको स्वास्थ्य शिविर र पछिल्लो समयमा नगरपालिकासँग सम्झौता गरेर गल्याङ नगर अस्पतालमा गर्नुभएको सेवा प्रारम्भले निर्वाचन प्रचारप्रसारको क्रममा हामीले निकै सकारात्मक शन्देश पाएका छौं’, एमाले स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरेले भने । गैरेका अनुसार उम्मेदवार डा. श्रेष्ठ सफल व्यवसायी भएको र उनले आफ्नो व्यवसायबाट प्राप्त हुने मुनाफाको ठूलो हिस्सा कुनै न कुनै रुपमा सो क्षेत्रका सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।

स्याङ्जाको दक्षिणी भेगमा पर्यटनको विकासका निम्ति २ दशक अगाडि देखि डा.श्रेष्ठले अगाडि बढाउँदै पहललाई पनि एमालेले चुनावी प्रचारको राम्रो साधनका रुपमा प्रयोग गर्दै आएको छ । कालीगण्डकी नदीमा र्याफ्टिङ शुरुवातका निम्ति अध्ययन र प्रचारको पहलकदमी लिँदै डा. श्रेष्ठले ०६४ सालदेखि नेपालमा नयाँ नदी महोत्सव आयोजना गर्ने मुख्य भूमिका निर्वाह गर्दै आएका थिए । सोही कारण कालीगण्डकी नदीमा र्याफ्टिङ व्यवसायको विषयमा पछिल्लो समयमा केही व्यवसायीहरुले चासो देखाइरहेका छन् । त्यस्तै उनले गण्डकी र लुम्बिनी प्रदेशमा प्रशिद्ध रहेको राम्दी धामको दीगो विकास तथा व्यवस्थापनको लागि गुरुयोजना निर्माण गर्ने पहल गरेका थिए । त्यस्तै उनकै सक्रिय सहभागितामा चापाकोट बहुप्राविधिक शिक्षालयको निर्माण भएको छ ।

डा. श्रेष्ठको पहलमा स्याङ्जाको दक्षिणी भेगमा पर्यटन, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रका विषयहरुमा भएका काम र शुरुवातको विषयहरुलाई लिएर एमालेले उनलाई केन्द्रीय राजनीति बुझेको, क्षमतावान र दीर्घकालिन दृष्टिकोण भएको सो क्षेत्रको विकासका निम्ति अति आवश्यक नेताको रुपमा प्रचार गरेको छ ।

‘उहाँ स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेर सफलता हासिल गरेको प्राविधिक ज्ञान भएको मान्छे हो, प्राविधिक रुपमा क्षमता भएको मान्छेले राजनीतिक तथा सामाजिक विकासको नेतृत्व गर्दा त्यसले समाजलाई निकै ठूलो योगदान पुर्याउन सक्छ, त्यसैले डा.श्रेष्ठ हाम्रो क्षेत्रको समृद्धिको निम्ति चुनाव जित्नै पर्ने मान्छे हो’, अध्यक्ष गैरेले बताए ।

अध्यक्ष गैरेका अनुसार केन्द्रीय राजनीतिमा राम्रो पहुँच भएको र अहिलेसम्म गरेका कामको कारण पनि चुनावी प्रतिस्पर्धा डा. श्रेष्ठलाई सहज रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.