केजीको ३ लाख पर्ने रुद्राक्षको मूल्य ३० हजारमा झर्यो, व्यापारी चिन्तित, किसान निराश

  २०७९ कार्तिक २७ गते १७:४७     राजिव न्यौपाने

काठमाडौं । विगत केहीवर्षदेखि रुद्राक्षको व्यापारमा मन्दी आएको छ । वर्षेनी लाखौं रुपैयाँमा कारोबार हुने पाँचमुखे रुद्राक्षले अहिले भने बजार पाउन नसकेको हो । पाँचमुखे रुद्राक्षको दानाले उचित मूल्य नपाउँदा किसान र व्यवसायीहरु पनि समस्यामा परेका छन् । रुद्राक्षले बजार नपाउँदा करोडौंको लगानी फस्ने होकि भन्ने चिन्तामा उनीहरु छन् ।

गत वर्षसम्म आकर्षक पाँचमुखे रुद्राक्षको मूल्य प्रतिकेजी ३ लाख रुपैयाँसम्म पथ्र्यो । तर, यस वर्ष भने ती रुद्राक्ष प्रतिकेजी ३० हजार रुपैयाँमा पनि बिक्री हुन छोडेको उनीहरुको गुनासो छ ।

रुद्राक्ष व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार चापागाईंले विगतका वर्षहरुमा आकर्षक पाँचमुखे रुद्राक्षको मूल्य ३ लाख रुपैयाँसम्म पर्ने भएको भएपनि यस वर्ष भने ३० हजार रुपैयाँमा पनि बिक्न छोडेको बताए । आकर्षक, चिल्ला तथा ठूला आकारका पाँचमुखे रुद्राक्ष खोज्नको लागि वर्षेनी चिनियाँ व्यापारी आउने भएपनि यस वर्ष भने उनीहरुले खरिद गर्नै छोडेका छन् ।

विश्व महामारीको रूपमा फैलिएको कोभिड–१९ को असर पश्चात् घर–घर पुग्ने चिनियाँ व्यापारिकको यस वर्ष न्यून रहेको चापागाईंको भनाइ छ । चापागाईंका अनुसार अहिले संखुवासभाको खाँदबारी र दिङ्ला बजारमा ४०/५० जना चिनियाँ ब्यापारी मात्रै छन् । उनीहरूले पनि राम्रो चिल्ला पाँचमुखे खोज्ने र सस्तोमा खरिद गर्ने गरेको उनको भनाइ छ ।‘आकर्षक पाँच मुखे रुद्राक्ष सस्तो मूल्यमा बिक्री भइरहेको छ, गत वषको तुलनामा यस वर्ष ती दानाको मूल्य घटेको छ, मूल्य घट्दा किसान र व्यापारी दुवै मर्कामा परेका छन्, गत वर्ष लाखौंमा कारोबार हुने रुद्राक्ष अहिले २० देखि ३० हजार रुपैयाँसम्म मात्र खरिदबिक्री भइरहेको छ,’ उनले भने ।

हालसम्म अधिकतम् प्रतिकेजी ५० देखि ६० हजार रुपैयाँसम्म पाँच मुखे रुद्राक्ष किनबेच भएको पनि चापागाईंले बताए । लाखौं रुपैयाँ खर्च गरेर धेरै व्यापारीले पाँचमुखे दानालाई आकर्षक बनाउनको लागि औषधिको प्रयोग गर्ने गरेका छन् ।

आकर्षक बनाइएका दानाले पनि बजार मूल्य नपाउँदा औषधिको मूल्य पनि नउठ्ने रुद्राक्ष व्यापारी बताउँछन् । राम्रो पाँच मुखे दाना चाइना तर्फ निर्यात गर्न सकिएन भने भारतमा निर्यात गर्नुपर्छ । भारतीय बजारमा पाँचमुखे दानाको बजार मूल्य राम्रो नभएको उनीहरु बताउँछन् । भारतमा धार्मिक आस्थाको लागि पाँचमुखे रुद्राक्षको निर्यात हुने गरेको छ ।

‘भारत तर्फ निर्यात गर्दा ५ मुखे सस्तो मूल्यमा बेच्नु पर्ने हुन्छ, पाँच मुखे रुद्राक्ष धेरै जसो भारतमा निर्यात हुन्छ तर कम गुणस्तरका, गुणस्तरीय दानालाई चीनले महँगो मूल्यमा खरिद गर्छ, भारतमा भने स्थानीयले नुनमा रुद्राक्षका दाना साट्छन्, त्यसैले पनि उचित मूल्य पाउँदैनन्,’ उनले भने ।

यस्तै, रुद्राक्ष व्यापारी चन्द्रमणी खत्री गत वर्ष प्रतिकेजी २०/३० हजार कारोबार भएको दाना अहिले बिक्री हुन छाडेको बताउँछन् । ‘रुद्राक्षका दाना बिकेनन्, दाना बिक्री नहुँदा किसान र व्यापारीलाई समस्या भएको छ, गत वर्ष ३ लाखमा बेचेको दान अहिले ३० हजारमा पनि बिक्री हुँदैन, ५० हजार पर्ने अहिले ३ हजार रुपैयाँमा बिक्री हुन्छ,’ उनले भने ।

अहिले पाँच मुखे रुद्राक्षको कारोबार गर्ने समय हो । सिजनमा पनि रुद्राक्षले उचित मूल्य पाउन सकेन भने धेरै व्यापारीहरुले लाखौं गुमाउने चिन्ता रहेको उनले बताए ।

रुद्राक्षले प्रत्यक्ष करोडौं रुपैयाँको विदेशी मुद्रा भित्र्याउँछ । रुद्राक्षमा गरिएको लगानी पनि उठ्न मुस्किल परेको उनको भनाइ छ । ‘पहिला पाँच मुखेको उत्पादन कम थियो, बजारको माग उच्च थियो, अहिले उत्पादन बढी छ, बजार कम छ, आएका चाइनिजहरूले पनि आकर्षक दानालाई मात्र लान्छन्, त्यसै पनि रुद्राक्षको व्यापारमा केही समस्या देखिएको हो,’ उनले भने ।

गत व्यापारीहरुले हुसिङ रुद्राक्षलाई प्रतिकेजी ४ लाख रुपैयाँसम्ममा बिक्री गरेका थिए । हुसिङ आकर्षक रुद्राक्षको नाम हो । अहिले सो दाना बिक्री नहुँदा व्यापारीले स्टकका रुपमा राखेका छन् ।

यस्तै, यस वर्ष मुखदार नामक (बहुमुखे) रुद्राक्षको उत्पादन बढेको भएपनि मूल्य पनि भने सकस भएको छ । बहुमुखे रुद्राक्ष भने बढी जसो भारतमा निर्यात हुने गरेको गरेको व्यापारीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.