यसरी जन्मियो नेपाल बीमा प्राधिकरण

  २०७९ कार्तिक २३ गते १७:२६     प्रा. डा. फत्त बहादुर केसी

हामी (बीमा समिति) ले २०६६ सालमा बीमा ऐन ड्राफ्ट गर्यौं । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डे बीमामा केही गरौं भन्ने विचारकै हुनुहुन्थ्यो । म बीमाको विकास विस्तारको लागि कुरा गर्थें, उहाँ कन्भिस हुनुहुन्थ्यो । मैले बीमा एकेडेमी अर्थात बीमा कलेज बनाउने प्रस्ताव गरें । उहाँ सकारात्मक देखिनु भयो ।

त्यसपछि २०६६ मंसिरमा हामीले बीमा क्षेत्रको विकासको लागि एउटा खाका तयार पार्यौं । त्यसमा तीन वटा विषय (तालिम, एकेडेमी र रिसर्च) लाई फोकस गरिएको थियो । यसमा त्रिभूवन विश्वविद्यालयको तत्कालिन डीन सापले हाम्रो सल्लाहमा एमओयू ड्राफ्ट गर्नु भएको थियो । बीमक संघ, बीमा समिति र त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायबीचको एमओयू तयार गरेर बीमा कलेजको रुपमा त्यसलाई सञ्चालन गर्ने भन्ने लगभग फाइनल भएको थियो । तर बिडम्बना, त्यो अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

२०६६ सालमै बीमा ऐनलाई परिमार्जन गरी नयाँ बीमा ऐन सञ्चालनमा ल्याउनु पर्यो भन्ने विषय उठ्यो । र, कामहरु पनि धेरै भए । अहिले म त्यतिबेलाका बीमा समितिका सञ्चालक समिति र अन्य साथीहरुलाई सम्झिन्छु । यसमा उहाँहरुले धेरै गृहकार्य गर्नुभएको थियो । र, नाम के राख्ने ? यो विषयमा पनि धेरै छलफल भयो । विभिन्न अन्तर्राष्ट्रिय अभ्यासहरु हेर्यौं । धेरै लामो छलफलपछि बीमा समितिभन्दा नेपाल बीमा प्राधिकरण नै राखौं भन्ने निष्कर्ष निस्कियो । र, उक्त नाम राखेर हामीले नयाँ बीमा ऐन अर्थ मन्त्रालयमा पेश गर्यौं ।

त्यहाँको सिष्टम त्यस्तै हो । अर्थमन्त्रालयबाट कानुन मन्त्रालयमा र कानुन मन्त्रालयबाट फेरि अर्थमन्त्रालय आउनु पर्ने । समय निकै लाग्ने । बल्लबल्ल २०६८ कार्त्तिकमा उक्त ऐन अर्थमन्त्रालयबाट सदर भयो । त्यतिबेला अर्थमन्त्री पदमा वर्षमान पुनः हुनुहुन्थ्यो ।

बीमा समिति मलाई आफ्नै घर जस्तो लाग्छ । जसको छाहारीमा मैले ८ वर्ष बिताए । अब बीमा प्राधिकरणमा रुपान्तरण हुँदै छ । जुन नाम एकदमै जुरेको नाम हो । बीमा प्राधिकरणले सफलता प्राप्त गरोस् । नेपालको बीमा क्षेत्रलाई उचाईमा पुर्याउन सफल रहोस् । र, नियमन र अनुगमनमा अत्यन्त चनाखो भएर कार्य गर्न सकोस् । किनभने वर्तमान बीमा ऐनले धेरै प्रोभिजनहरु गरेको छ । त्यसैले समग्र बीमा क्षेत्रलाई अत्यन्त मर्यादित रुपले विकसित गर्न भोलि बीमा प्राधिकरण सफल हुनेछ भन्ने मेरो विश्वास छ ।

नेपालको बीमा ७५ वर्ष पार गरेर ७६ वर्षमा पुगेको छ । जुन कमजोर इतिहास होइन । यसले इतिहासको विभिन्न चरणहरु पार गरेर आइसकेको छ । जस्तो पहिलाको फेजलाई म फाउण्डेसन फेज भन्छु । २००४ साल, राणाकालिन समय । प्रजातन्त्र आउनुभन्दा अघि नै नेपालमा बीमा कम्पनीको स्थापना भइसकेको थियो । यो लगायत राष्ट्रिय बीमा संस्थानसम्मको एउटा फाउन्डेसन फेज थियो ।

त्यसपछि चालिसको दशकमा आर्थिक उदारीकरणको प्रकृयाहरु शुरु भएपछि बीमामा केही विकासहरु भए । यो फेजमा नीजि क्षेत्रहरुलाई बीमा संस्थानको विरुद्धमा आउने अवसर प्राप्त भयो । जसलाई डाइजेसनको उचित फेज भन्ने गरेको छु ।

त्यसपछि रिफर्म एण्ड रिभोलुसन (सुधार र क्रान्ति) फेजको शुरुवात भयो । यो फेजमा बीमा ऐन २०४९ बन्यो । र, निजी क्षेत्रका विभिन्न बीमा कम्पनीहरुको स्थापना भयो ।

त्यसपछि २०६० सालदेखि एक्स्पान्सन फेजको सुरुवात भयो । जसमा आकस्मिक बीमा कोष लगायत केही बीमा कम्पनीहरुको स्थापना भयो । बीमा ऐनको मस्यौदादेखि लिएर अन्य कामहरु यो फेजमा भयो । यसका साथ साथै २०७१ सालबाट पुनर्बीमा कम्पनी पनि स्थापना भयो । त्यो बेलामा कम्पनीहरुको कूल प्रिमियम ११ अर्ब रुपैयाँ थियो । निर्जीवन बीमा कम्पनीको ४ अर्ब बढी र जीवन बीमा कम्पनीको ६ अर्ब बढी थियो ।

नेपालमा बीमा व्यवसायको शुरुवात भएको ७५ वर्ष नाघिसकेको छ । यो अवधिमा विभिन्न कम्पनीहरुको स्थापना भई सञ्चालनमा आइसकेका छन् । तर पनि नेपालको बीमा क्षेत्र डिपेन्डिेन्सी क्षेत्रबाट मुक्त हुन सकेको छैन । अहिले कम्पनी आफु स्थापना गर्ने, बिजनेस सरकारले म्याण्डेटरी गर्ने भइरहेको छ । चाहे त्यो जीवन बीमालाई होस् या त निर्जीवन बीमा कम्पनीलाई नै । आफ्नो बलबुतामा उभ्भिन, आफ्नो क्षमता विकास गर्न र आफ्नो कम्पिटेटिभ स्ट्रेन्थलाई बढाउन कसैले सकेका छैनन् । यो नभई कम्पनीको बिजनेस बढ्दैन ।

‘नयाँ कम्पनी आयो भने मेरो बिजनेस जान्छ’

अर्को, बिजनेसको फेयर साइकोलोजी यस्तो छ की, ‘नयाँ कम्पनी आयो भने मेरो बिजनेस जान्छ’ । यो भनेको आफ्नो कमजोरी हो । यो रोगबाट मुक्त नभएसम्म नेपालमा अझै पनि बीमा क्षेत्र एउटा गरिमामय र आत्मविश्वासका साथ अगाडि बढ्न नसक्ने देखिन्छ ।

मैले बीमा समितिमा हुँदै भन्ने गरेको थिएँ । र, अहिले पनि भन्छु की यो २१औं शताब्दी भनेको बीमाको हो । यो शताब्दी बीमाकै हो भनेर देखाउनलाई नियामक निकाय लगायत कम्पनीहरुले गृहकार्य गर्न आवश्यक छ । यसको लागि कम्पनी मात्रै लागि परेर पनि हुँदैन । सबै स्टेकहोल्डरहरु समान रुपमा मिलेर लागियो भने मात्र त्यो लक्ष्य हामीले प्राप्त गरी निश्चित गन्तब्यमा पुग्न सक्छौं । होइन भने यसले गर्देला, उसले गर्देला भनेर एक अर्काको मुख ताकेर बस्यौं भने हामी जहाँको त्यही हुन्छौं ।

(प्रा. डा. केसीले काठमाडौंमा आयोजित एक कार्यक्रममा राखेका मन्तब्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.