अहिले लगानीको उचित क्षेत्र सेयर बजार हो, अब उत्साहपूर्ण हुन्छ : तिलक कोइराला

  २०७९ कार्तिक २२ गते १७:५४     विकासन्युज

५४ लाख लगानीकर्ताको हित, पूँजी बजारको विस्तार र सुधारको लागि वि.स. २०७५ सालमा आमरण अनुसन बसे तिलक कोइराला र हरि ढकाल । त्यसबेलामा अर्थमन्त्री थिए युवराज खतिवडा । तिलक कोइराला र हरि ढकाल आमरण अनुसन बस्दा खतिवडाको पद नै धरापमा परेको थियो । खतिवडाको मन्त्री पद नै डगमगाए पछि मन्त्रीस्तरीय निर्णयबाट ५८ वटा बुँदा कार्यान्वयन गर्न निर्देशन दिए । जसमा ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज लगायतका विषयहरु पनि उल्लेख थिए । तर, उक्त मुद्धाहरु कार्यान्वयन नभएको भन्दै गत असार १ गतेदेखिपुनः आमरण अनुसन बसेका थिए तिलक कोइराला । १० दिनसम्म आमरण अनसन बसेका कोइरालाले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमालसँग १९ बुँदे सम्झौता गरेर अनसन तोडका थिए । सेबोनले लाइसेन्स प्रक्रिया खुला गरेपछि अदालतमा मुद्धा पर्याे । अदालतले लाइसेन्स प्रक्रिया तत्काल स्थगित गर्न अन्तरिम आदेश दिएको छ । यहि विषयमा केन्द्रित रहेर विकासन्युजका सीआर भण्डारीले लगानीकर्ता तिलक कोइरालासँग कुराकानी गरेका छन् ।

अदालतले तत्काल लाइसेन्स प्रक्रिया स्थगित गर्न आदेश दिएको छ, भोलिका दिनमा अदालतले यहि निर्णयलाई नै कार्यान्वयन गर्नु भनेर पूर्ण आदेश दियो भने के गर्नुहुन्छ ?

अदालतको आदेशलाई सबैले मान्नुपर्छ, सबैले अदालतलाई सम्मान गर्नुपर्छ । हामीले पनि अदालतको आदेशलाई मान्छौं र सम्मान गर्छाै । कानुन, निती नियम, सहमति, प्रक्रियाहरुका आधारमा अदालतले आदेश दिनुपर्छ । अदालतको आदेश मनोगत चाहनामा आउने होइन । अदालतले नियम कानुन, प्रक्रिया हेर्छ, निर्णय हेर्छ, अनि त्यससम्वन्धि अरु आधार हेर्छ । त्यस आधारमा निर्णय दिन्छ भन्ने विश्वास छ । त्यहि विश्वास भएको हुनाले हामी अदालतको आदेश कुरेर बसेका छौं ।

अदालतमा प्रवेश गरिसकेको विषयलाई कानुनी अथवा अदालती प्रक्रिया मार्फत् नै टुंगो लगाउनुपर्छ । अदालतलाई प्रभाव पार्ने किसिमले सडक आन्दोलन गर्ने, अनसन गर्ने लगायतका गतिविधि गर्नु हुँदैन । तर, लगानीकर्ताको हित र पूँजी बजारको हितमा हुने कामलाई अदालतले रोक्दैन भन्ने हामी विश्वस्त छौं । कानुन, न्याय, समानतामा विश्वास गर्ने भएकाले विधि र प्रक्रियालाई मान्छौं । विधि र प्रक्रियाभन्दा बाहिर गएर कुनै पनि समाधान खोज्ने पक्षमा छैनौं । अहिले चुप लाग्यो की बोल्यो भन्ने कुरा अर्थहिन हो । अदालतमा गएको विषयलाई अदालतले नै टुंग्याउने हो । यसमा कोही बोल्ने र कोही चुप लाग्ने हुँदैन ।

अदालतमा परेको मुद्धालाई कसरी हेरिरहनु भएको छ ?

चित्त नबुझ्नेहरुले अदालतमा मुद्धा हाल्न सक्छन् । प्रतिवाद गर्न सक्छन् । कसैले मुद्धा हाल्यो भने अदालतले मुद्धा हाल्ने पक्षको मात्रै कुरा सुन्छ भन्ने हुँदैन । त्यसका प्रतिवादीहरु हुन्छन् । प्रतिवादीहरुले आफ्नो सुरक्षा गर्छन् । त्यो आधारमा अदालतले एउटा निर्णय दिन्छ । कुनै कुरामा चित्त बुझेको छैन भने अदालतमा मुद्धा हाल्ने अधिकार सबैलाई छ । मुद्धा हाल्ने आधार छ की छैन, मुद्धा हालेपनि मुद्धा हाल्ने कै पक्षमा फैसला हुने आधार छ की छैन ? भन्ने कुरा अदालती कठघरामा हुने कुरा हो ।

नयाँ स्टक एक्सचेञ्जमा नेप्सेले र नयाँ ब्रोकर लाइसेन्समा ब्रोकर कम्पनीहरुले विरोध गरिरहेका छन्, यसका बाबजुत पनि धितोपत्र बोर्डले प्रक्रिया अगाडि बढायो, यसमा विरोधाभास भएन र ?

लगानीकर्तार पूँजी बजार विस्तारको दृष्टिकोणबाट हेर्ने हो भने नेपाल धितोपत्र बोर्डले गरेको काम सहि छ । धितोपत्रले अगाडि सारेका निर्णयहरु जायज छन् । अर्काे स्टक एक्सचेञ्ज आउने भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई टाउको दुख्नु स्वभाविक हो । उसले अर्काे स्टक नआओस् भन्नु नै ठिकै हो ।किनभने उसको प्रतिस्पर्धी आउने हो । आफ्नो प्रतिस्पर्धी आएको कसैलाई पनि राम्रो लाग्दैन । ब्रोकरहरुले पनि अरु धेरै ब्रोकर थपिए भने समस्या आउन सक्छ, हामी मात्रै भइरहँदा कारोबार गर्न पुगेको छैन, नयाँ आयो भने कारोबार खस्केर जान्छ, घाटामा जान्छौ भनेर रोक्न खोज्नु पनि स्वभाविक छ ।

यसमा ठूलठूला कर्पोरेटहरु जो अर्काे नयाँ स्टक एक्सचेञ्ज ल्याउन चाहन्छन् उनीहरुबीचकको स्वार्थको लडाईँ पनि हुन सक्छ । एउटा समूहले स्टक ल्याउन प्रयास गर्याे भने अर्काे समूहले भाग पाइन भनेर विरोध गरेको पनि हुन सक्छ । कतिपय मिडिया हाउसले मैले सित्तैमा सेयर पाउनुपर्छ भनेर बार्गेनिङ गरेको अवस्था पनि हुन सक्छ । यो सबै रणनीतिक कुरा हो । धितोपत्र बोर्डले पूँजी बजार र लगानीकर्ताको हितमा निर्णय गर्ने हो । गरेको पनि छ । त्यसमा बाधा गर्ने पक्ष वा त्यसबाट बेफाइदा हुने पक्षले रोक्न खोज्नु, अल्झाउन खोज्नु, आउनै नदिनु पनि स्वभाविक हो । यो कुरा कति जायज छ, कति नाजायज छ भन्ने कुरा अदालती परीक्षणमा गएको छ । अब हामीले अदालतबाट आउने आदेशलाई कुरेर बसिरहेका छौं । अदालती चरणमा गएको हुनाले धेरै बोल्न पनि मिल्दैन किनभने अन्तरिम आदेश जारी गरिसकेको अवस्थामा त्यो आदेश पालना सबैले गर्नुपर्छ । तर लगानकर्ता र पूँजी बजारको सवालमा धितोपत्र बोर्डले गरेको निर्णय आधारभूत रुपमा सही छ ।

नौ वटा लगानीकर्ता संघले पूँजी बजार विस्तारको कार्य रोकिए कडा प्रतिवाद गर्ने भनेर प्रेस विज्ञप्ति जारी गरेका छन् नी ?

उहाँहरुले पनि लगानीकर्ताहरुको आवाज वा भावना बोल्नु भएको हो । लगानीकर्ताका नौ वटा संघले बक्तव्य जारी गरिसकेका छन् भने त्यसको गम्भिर्यता होला । लगानीकर्ता संघले पूँजी बजार विस्तारका कामहरु रोकिनु हुँदैन भन्नु जायज छ । पूँजी बजार विस्तार र सुधारका काम रोकियो भने लाखौं लगानीकर्तालाई हानी पुग्छ । पूँजी बजार विस्तार र विकास भएन भने पलायन सुरु हुन्छ ।

बोर्डले लाइसेन्स खुला गरेपनि अदालतले रोकेको छ, यसमा लगानीकर्ताको टाउको दुखाई किन ?

लगानीकर्ताहरुले एकांकी वा एक पक्षीय भएर जानु हुँदैन । अहिलेका ब्रोकरहरुको विकास र विस्तार, उनीहरुले दिन सक्ने सुविधा, उनीहरुलाई दिनुपर्ने प्रोत्साहनमा पनि धितोपत्र बोर्ड चुक्नु हुँदैन । अहिलेका ब्रोकरहरुले पनि उनीहरुले पूँजी कायम गरेर, प्रविधि ल्याएर, पुर्वाधार बनाएर, जनशक्ति विकास गरेर गर्न सक्ने र गर्न पाउने कामहरु सबै गर्न दिनुपर्छ । यसलाई रोक्नु हुँदैन ।

नयाँ ब्रोकर आउने, नयाँ स्टक आउने र पूँजी बजार अझै राम्रो बनाउँछु भनेर आउनेहरुलाई पनि रोक्नु भएन । दुईवटा कुरा नै हुनुपर्छ । लगानीकर्ता एकल काँठे तरिकामा जानु हुन्न । अहिलेकालाई काम गर्न नदिने र नयाँ पनि आउन नदिने हो भने पूँजी बजारको कसरी विकास हुन्छ ? त्यसैले खुलामुखी प्रणाली हुनुपर्छ । नयाँलाई जे पनि गर्न दिने पुरानोलाई हात बाँधेर राख्ने गर्नु हुन्न । यसको हामी विरोधी नै हो । नयाँ आउनलाई बाटो छेक्नु गलत हो । यसको पनि विरोधी हौं । त्यसैले यी दुइवटैलाई सन्तुलन मिलाएर जानुपर्छ र सबैलाई पूँजी बजारमा आफ्नो क्षमता र कौशलताले भ्याएसम्म काम गर्न दिनुपर्छ । पूँजी बजार स्वतन्त्र हुनुपर्छ । कसैको पनि बन्धक हुनु हुन्न भन्ने लगानीकर्ताको माग हो । कसैलाई निषेध गर्ने होइन । सबैलाई समान अवसर दिनुपर्छ । टाउको कसको दुख्छ भन्ने कुरा आफ्नो ठाउँमा छ तर आधारभूत कुरा के हो भन्ने सबैले बुझ्नु पर्छ ।

पूँजी बजारको लागि धितोपत्र बोर्डले सोच्नुपर्ने हो, यसमा लगानीकर्ताहरुले आन्दोलन गरेर यो–यो गर भन्नु कति उपयुक्त छ ?

लगानीकर्ताले आन्दोलन गरेर यो र त्यो गर भन्नु पर्ने अवस्था नै आउनु हुन्न । विश्वका अरु स्टक एक्सचेञ्जहरुमा पूँजी बजारमा कहिँ पनि लगानीकर्ताले यो र त्यो गर भनेर भनेको आधारमा काम हुने गरेको छैन । त्यहाँ सरकार र नियमनकारी निकायले सही किसिमको निती नियम, प्रविधि र पुर्वाधार ल्याउँछ र बजारलाई गाइड गर्छ । तर यहाँ सरकारले काम नगरेको हुनाले, आफैले म गर्छु भनेर भनेको काम पनि ४÷४ वर्षसम्म नगरेको हुनाले समस्या आएको हो । ४÷४ वर्षसम्म सरकारले काम गरेन । सरकारले काम नगरेका कारण पूँजी बजारमा समस्या आयो ।

पूँजी बजारमा समस्या आएपछि लगानीकर्ता आक्रोसित हुने, आन्दोलित हुने, अनसन बस्ने, यो÷त्यो गर भनेर दबाव दिनु स्वभाविक हो । यदि सरकारले सही किसिमको नीति नियम, प्रविधि र पुर्वाधार ल्याउँछ र कडा नियमन हुन्छ भने लगानीकर्ताहरु स्वतन्त्र ढंगले कारोबार गर्छन् । त्यसपछि किन आन्दोलन गर्न जाने ? आन्दोलन गर्नु पर्ने परिस्थितिले बनाएको हो, लगानीकर्ताको रहर होइन । पछिल्लो पटकको आमरण अनसनमा फेरिफेरि पनि आन्दोलन गर्नुपर्ने गरी परिस्थिति श्रृजना हुने छैन र फटाफट कामहरु हुनेछन् । अब लगानीकर्ताले कहिल्यै पनि आन्दोलन गर्न पाउँदैन भन्ने दृढ आत्मविस्वासका साथ आमरण अनसन टुंग्याएको हो । अब फेरि पनि लगानीकर्ताले आन्दोलन गर्नुपर्ने अवस्था आउँदैन जस्तो लाग्छ ।

पछिल्लो समय सहमति भएका मुद्धाहरुको कार्यान्वयन कति भयो ?

१९ बुँदाहरुमा सि–आश्वा शुल्क घटाएको छ । ब्रोकर लाइसेन्स कार्यान्वयनमा आएको छ । मर्जरमा सेयर कारोबार रोकिने कुरालाई बोर्डले अन्तिम रुप दिइसकेको छ । सायद एक÷दुई हप्तामा कारोबार रोक्का भएका कम्पनीको कारोबार खुल्नेछ । प्रतिस्पर्धात्मक ब्रोकर कमिसन कार्यान्वयन गर्ने भनिरहेको छ । अहिले बजार समस्यामा रहेको हुनाले सबै पक्षलाई राहत पुग्ने गरी अलिपछि सम्बोधन हुन्छ । कतिपय दलहरुले आफ्नो चुनावी घोषणपत्रमा एजेण्डाका रुपमा उल्लेख गरेका छन् । हिजोका दिनमा राजनीतिक दलहरुले पूँजी बजारलाई नकारात्मक रुपमा लिन्थे भने अब समाप्त भएको छ । यो पनि उपलब्धिको कुरा हो ।

साना कम्पनीहरुको लागि एसएमई प्लेटफर्म ल्याउने पनि अन्तिम चरणमा छ । पूँजी बजारमा नयाँ उपकरण ल्याउने कुरामा नेप्सेले अध्ययन गरेर अगाडि बढाएको छ । ब्रोकरको शाखा विस्तार पनि भइरहेका छन् । बोर्डले रोकिएका धेरै ब्रोकरका शाखा विस्तारलाई अनुमति दिइसकेको छ । मार्जिन ट्रेडिङको काम सुरु भइसकेको छ । ५८ नम्बर ब्रोकरले मार्जिन ट्रेडिङ सुरु गरिसकेको छ । अरु ब्रोकरले पनि चाँडै सुरु गर्छन् । ४÷१२ करोडको मुद्धालाई राष्ट्र बैंकले सम्बोधन गरिसकेको छ । ४ करोडको सीमा हटाएर १२ करोड कायम गरेको छ ।

साना लगानीकर्ताको हितमा जोखिम भार शतप्रतिशतमा झारेको छ । पूँजीगत लाभको दीर्घकालिन लगानीकर्ताको लागि ३ प्रतिशत कायम गर्नुपर्छ भन्ने माग हो । आगामी आउने नयाँ सरकारले यसबारेमा सोच्ला नै । हाम्रा अधिकांश मागहरु कार्यान्वयनको चरणमा गइसकेका छन् । जो सहमति भएका थिए । नेप्सेको पुर्नसंरचनालाई सरकारले अगाडि बढाउनु पर्ने हो । तर, सरकारले त्यो गर्नै नचाहेपछि अहिले नयाँ स्टक एक्सचेञ्ज आएको हो । नयाँ स्टक आएपछि नेप्से पनि कुद्नु पर्ने अवस्था आउँछ । नेप्सेका कर्मचारीहरु र संचालकहरु सुतेर बस्नु हुँदैन । हामी पनि कुद्नु पर्छ नत्र हाम्रो अस्तित्व खत्रामा पर्छ भनेर दबाव सिर्जना भएको महसुस भएको छ ।

आगामी दिनमा सेयर बजार के होला ?

बजारमा ठूलो गिरावट आउँदा धेरै लगानीकर्ताहरुले गुमाएर पूँजी बजार नै छाडेर भागे । अब विस्तारै फेरि भागेका लगानीकर्ताहरु फर्किदैछन् भने नयाँ लगानीकर्ताहरु पनि आउँदैछन् । ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४५ वटाकम्पनीहरुले अनुमति पाए नयाँ लगानीकर्ता लिएर आउँछन् । उनीहरुसँग रहेको १२ अर्ब भन्दा बढी रकम पूँजी बजारमा चलायमान हुन्छ । यसले एउटा नयाँ स्थिति सिर्जना गर्छ । केही सुधारका कामहरु भएकाले अवश्य नै पूँजी बजार लगानीकर्ताहरु थपिन्छन् । जस्तो धितोपत्र बोर्डले विदेशमा काम गर्न गएका नेपालीहरु जसले रेमिट्यान्स नियमित रुपमा पठाइरहेका छन् । उनीहरुलाई १० प्रतिशत सेयर आईपीओमा आरक्षण गर्ने निती कार्यान्वयन गरिसकेको छ ।

कम्पनीको सेयर मूल्य धेरै तल गएको हुनाले सस्तोमा सेयर उठाउन मानिसहरु अहिले सक्रिय छन् । अहिले दैनिक कारोबार रकम पनि बढेको छ । सेक्टरवाइज सेयर मूल्य बढ्ने गरेको छ । कुनै दिन लघुवित्तको सेयर मूल्य बढ्ने, कुनै दिन ठूला कम्पनीहरु वाणिज्य बैंकको सेयर मूल्य बढ्ने र भोलिपल्ट करेक्सनमा आउने जुन प्रवृत्ति देखिएको छ । यो एकदमै उत्साहजनक हो । यसबाट हामी लगानीकर्ताको मनोबल विस्तारै उकासिँदै भन्ने अनुमान गर्न सकिन्छ । बैंकहरुमा रहेको तरलता र आगामी राजनीतिक परिवर्तनले साथ दियो भने पूँजी बजारमा आगामी दिनमा उत्साहपूर्ण अवस्था अवश्य देखिनेछ । लगानीकर्ताहरुले आफूले धारण गरेको सेयरको मूल्य, कम्पनीको अवस्था, लाभांशको अवस्था, पूँजीगत लाभ हुनसक्ने अवस्था, आफ्नो जोखिम बहन क्षमता, आफूले लगानी गर्ने रकमको लागतलाई हेरेर राम्रोसँग बिचार गरेर चार÷पाँच वटा कम्पनी डाइभर्सीफाइ गरेर लगानी गरेको अवस्थामा आगामी दिनहरु अवश्य नै राम्रा हुनेछ । यसमा पनि राम्रा तर सस्ता कम्पनीहरुमा लगानीकर्ताहरु जाउन भन्ने सुझाव छ ।

सेयर कर्जा पाउन गाह्रो छ, महँगोमा कर्जा लिएर लगानीकर्ताले बजारमा लगानी गर्न सक्ने अवस्था छैन, केही दिनअघिसम्म ५०/६० करोड रुपैयाँको कारोबार हुन्थ्यो, तर अहिलेको कारोबार हेर्ने हो भने अर्ब भन्दा माथि देखिन्छ, यो रकम कहाँबाट एकदुई दिनमा कहाँबाट आयो ?

अहिले अन्य क्षेत्रमा लगानी जान सक्ने अवस्था छैन । अन्तर्राष्ट्रिय ब्यापार,आयातमा धेरै पैसा प्रवाह हुन सक्ने अवस्था छैन । किनभने शतप्रतिशत मार्जिन कायम गर्नुपर्ने अवस्था राष्ट्र बैंकले गरेको छ । घरजग्गा कारोबारमा अन्यौलता भएकोले ठूलो रकम घरजग्गामा जान पाएको छैन । सिमेन्ट, डण्डी उद्योगहरु समस्यामा छन् । नयाँ सरकार कस्तो बन्ने हो ठेगान नभएको अवस्थामा ठूलो उद्योग खोल्नको लागि त्यो जोखिम लिएर पनि मानिसहरु गइरहने अवस्था छैन । सर्ट टर्ममा कहाँ कमाउन सकिन्छ भनेर मान्छेहरुले हेरिरहेका छन् । त्यो स्वभाविक रुपमा पूँजी बजार हुन सक्ने आँकलन गरेर लगानी बढाएका हुन् । जसले पूँजी बजारमा कारोबार रकम बढेको हो । कारोबार रकम बढेपछि सेयरको मूल्य वृद्धिमा पनि सघाउ पुगेको छ ।

पूँजी बजारमा लगानी गर्दा फाइदा हुन्छ भन्ने विश्वास बढ्यो भने पैसा कहाँबाट निकाल्छन् भन्ने कुरा यकिन गर्न सकिँदैन । श्रीमतिलाई गहना बिक्री गर्न लगाएर वा धितो राखेर, साथीभाइसँग सापटी मागेर, बैंकमा राखेको निक्षेपलाई झिकेर, आफ्नो घर सम्पत्ति बिक्री गरेर, गाडी बिक्री गरेर, विदेशबाट पैसा ल्याएर मानिसहरुले पूँजी बजारमा लगानी ल्याउँछन् भन्ने कुराको हिसाब गर्न कठिन छ ।

उद्योगधन्दामा लगानी गर्न जान नसक्ने, घरजग्गातिर लगानी बढ्न नसक्ने,आयातमा महँगो पैसा लगानी गरेर आम्दानी कम हुने, गाडी लगायत अन्य ब्यवसायमा सुस्तता, निर्माणका कामहरु अवरुद्ध भएको, सिमेन्ट कारखाना, छड, निर्माण उद्योगहरुले संचालन क्षमता घटाएको वा उद्योग नै डाउन गरेका छन् । पूँजी बजारबाट चाँडै कमाउन सकिन्छ भन्ने सोचेर मानिस आएका हुन सक्छन् । त्यसैले कहाँबाट रकम आयो भनेर आत्तिनु पर्ने छैन । बजारमा २१ अर्बको कारोबार भएको नै हो । आज ५०/६० करोडबाट २ अर्बको कारोबार हुँदैमा आकाश खस्यो, कहाँबाट आयो पैसा भनेर खोज्नुपर्ने स्थिति छैन । यसलाई सकारात्मक रुपमा लिनु पर्छ ।

लगानीकर्ताले चाहेभन्दा फरक अर्थात् अदालतले लाइसेन्स प्रक्रिया स्थगित गर्न आदेश दियो भने तपाईंहरुको आगामी योजना के हुन्छ ?

अदालतमा मुद्धा विचाराधीन रहेकाले प्रभाव पार्ने गरेर सडकमा नाराजुलुस गर्ने, धर्ना गर्ने, अनसन बस्ने काम हुँदैन । अदालती प्रक्रियाबाट नै टुंगोमा लगाउनु पर्छ । यो तिलक कोइरालाको मात्रै ठेक्का लिएको विषय होइन । आम लगानीकर्ताले जे गर्ने भन्छन् त्यहि गरिन्छ । पूँजी बजार संवेदनशिल क्षेत्र हो । यो संवेदनशिल क्षेत्रमा लाखौं लगानीकर्ताको लगानी जोडिएको क्षेत्र भएको हुनाले अदालतले सतही रुपमा कमजोर आदेश वा निर्देशन दिँदैन भन्नेमा लगानीकर्ता विश्वस्त छन् । अदालतलाई प्रभावित पार्न सडकमा जानुपर्ने, हुलहुज्जत, अनसन गर्नुपर्ने अदालतको आदेश आउँछ भनेर सोच्नु पनि हुँदैन । अदालतको निर्णय आएपछि आम लगानीकर्ताहरुले एउटा धारणा बनाउलान् । त्यसले अवस्थालाई कसरी अगाडि लैजाला त्यहि बेला थाहा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X