अव्यवस्थित फुटपाथ र होर्डिङ बोर्ड हटाउन महानगरले साढे दुई सय जनालाई हायर गर्दै

  २०७९ कार्तिक १८ गते १५:३६     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले म्यादी प्रहरी राख्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायलाई व्यवस्थित गर्नको लागि एक वर्षका लागि म्यादी प्रहरी राख्ने तयारी गरेको हो ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु नाथ पाण्डेले म्यादी प्रहरी राख्नका लागि तयारी भइरहेको बताए । फुटपाथ नियन्त्रण र सहरी व्यवस्थापनमा अहिले भएको जनशक्ति कम भएको भन्दै महानगरले जनशक्ति थप गर्ने तयारी गरिरहेको उनको भनाइ छ ।

प्रहरी प्रमुख पाण्डेका अनुसार महानगरले एक सय ६२ जना म्यादी प्रहरी भर्ना गर्ने योजना बनाएको छ । महानगरसँग अहिले एक सय ७१ जना नगर प्रहरी छन् । उनले अबको एक महिनाभित्र म्यादी प्रहरीको छनोट प्रक्रिया सक्ने बताए ।

‘हामीसँग अहिले जनशक्तिको कम छ, जनशक्ती कम भएकै कारण योजना अनुरूपमा काम गर्न सकिरहेका छैनौं, भएको जनशक्ति परिचालन गरी महानगर भित्र सुरक्षा गर्नुको साथै फुटपाथ व्यवसायीलाई व्यवस्थित गर्नको लागि चोक चोकमा नगर प्रहरी परिचालन गरेका छौं,’ उनले भने ।

नगर प्रहरीहरूले बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म काम गर्दै आएको पनि पाण्डेले जानकारी दिए । म्यादी प्रहरीलाई नियुक्त गरी चोकचोकमा राख्ने योजनामा महानगरको छ ।

फुटपाथमा भइरहेको व्यवसायलाई र अनधिकृत भौतिक पूर्वाधार हटाउने अभियानलाई महानगरले निरन्तरता दिएको छ । काठमाडौंको सडकपेटी तथा फुटपाथमा मानिसहरुले व्यवसाय गर्न लागेको धेरै समय भइसकेको छ ।

फुटपाथमा भइरहेको व्यवसायलाई व्यवस्थित गर्नुपर्छ भनेर विषय उठ्न थालेको पनि झण्डै ३ दशक भएको छ । काठमाडौंको फुटपाथ व्यवसायलाई दीगो व्यवस्थापन गर्ने विषय चुनौतिका रुपमा रहेको छ ।

‘हाम्रो नयाँ उद्देश्य भनेको व्यवस्थित फुटपाथ बनाउने हो, केही समयपछि दैनिक रूपमा हामी माइकिङ गर्छौं, त्यसपछि हटाउँछौं,’ उनले भने ।

होडिङ बोर्ड हटाउन १०० सय हायर

काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थलबाहिर राख्दै आएको होर्डिङ बोर्ड (परिचय पाटी) हटाउने भएको छ । महानगरपालिकाले ३० वर्ग फुट भन्दा माथिका सबै परिचय पाटी हटाउने भएको हो ।

सो पाटी हटाउनको लागि काठमाडौं महानगरपालिकाले एक सय जना कर्मचारीहरू केही समयको लागि राख्ने भएको छ । कर्मचारी राखेर परिचय पाटी हटाउने योजनामा महानगर छ ।

‘हामीले एक सय जना मान्छे हायर गर्छौं, उनीहरूले १०÷१० जनाको टोली बनाई १० वटा समूह बनाउँछौं, विभिन्न ठाउँमा उनीहरुलाई पठाउँछौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.