यही हो सेयर किन्ने समय, कस्तो स्टक किन्दा राम्रो ?

  २०७९ कार्तिक १४ गते १३:५७     छोटेलाल रौनियार

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण समग्रमा राम्रो आएको छ । कुनै–कुनै बैंकको वित्तीय विवरण नकारात्मक आएको भएपनि यसले केही फरक पार्दैन । अधिकांशको वित्तीय विवरण सन्तोषजनक नै आएको छ । बैंकहरुको कमाई हामीले सोचेभन्दा राम्रो भइरहेको छ ।

कुनै–कुनै बैंकले चाडपर्वका कारण ब्याज उठाउन पाएनन् । दशैं, तिहार र छठ पर्व पनि यसै बेलामा परे । जसले गर्दा ऋणीले ब्याज तिर्न पाएनन् । यसैबीचमा फेरि डेंगु रोग पनि बढ्यो । यस्ता समस्याले गर्दा ऋणीहरुले बैंकको ब्याज तिर्न सकेनन् । बैंकले उठाउनु पर्ने रकम नउठेपछि केही बैंकको वित्तीय विवरण नकारात्मक आएको हो । जसले ब्याज उठाउन सकेनन् ती बैंक तथा वित्तीय संस्थाको विवरण नकारात्मक देखिएको हो । अहिले ब्याजदर बढेको छ । बैंकहरुको कमाई राम्रो छ । पहिलो त्रैमासले नै सबै कुरा स्पष्ट पार्दैन । जसको राम्रो पेमेन्ट आयो उसको कमाइ पनि राम्रो हुन्छ । जसको पैसा उठेन उनीहरुको राम्रो हुँदैन । अहिले जे जस्तो विवरण आएको छ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

अब दशैं, तिहार र छठ पर्व सकिएको छ । ब्याजदरको झण्झट पनि सकिएको छ । यदि कुनै कम्पनीको सेयर ५ सय रुपैयाँमा खरिद गरेको छ भने १ सय रुपैयाँ ब्याज तिर्नु परेको छ । जसमा कस्ट भनेको ४ सय रुपैयाँ मात्रै हो । सेयर बजार ३२ सय अंकबाट घटेर साढे १८ सय अंकमा झरिसकेको छ । सेयर बजार साढे १३ सय अंक घटिसकेको छ । आजसम्मको पूँजी बजारको इतिहास हेर्ने हो भने १५ महिनाको अवधिमा यति धेरै घटाइ भएको छैन । बजार घटेर एउटा लेभलमा आएर लगानीकर्ताले सेयर बिक्री गर्न मानिरहेका छैनन् । किनभने बरु घाटा परे परोस् बिक्री गर्दैन भनिरहेका छन् । सेयर बजार धेरै घटेको बेलामा धेरै लगानीकर्ताहरु सेयर बिक्री गर्न मान्दैनन् । अहिले अधिकांश लगानीकर्ताले सेयर होल्ड गरेका छन् ।

५ वर्ष अघि १८६० अंकमा पुगेको सेयर बजार घटेर ११ सय अंकमा झरेको थियो । त्यो बेलामा पनि ब्याजदर बढेर १६/१७ प्रतिशत पुगेको थियो । १८ सय अंकमा पुग्दा बजार एकदमै उत्साहित भएको थियो । आम लगानीकर्ताको मनोबल पनि बलियो थियो । तर, बैंकहरुले ब्याजदर बढाएपछि सेयर बजार घट्यो । बैंकहरुले ब्याजदर बढाएपछि बजार घटेर ११ सय अंकमा झरेको थियो । सेयर बजार धेरै घटेपछि लगानीकर्ताले सेयर बिक्री गर्न मानेका थिएनन् ।

त्यो बेलामा १५/२० करोड रुपैयाँको मात्रै कारोबार हुन्थ्यो । सेयर बजार ९ सय अंकमा झर्छ भनेर केही लगानीकर्ताले अफवाह पनि फैलाए । केही प्राविधिक विश्लेषकहरु पनि त्यसमा संलग्न भएका थिए । उनीहरु सेयर बिक्री गरेर बसेका थिए । बजार घटाएर आम लगानीकर्ताको पैसा लुट्न खोजिरहेका थिए । तर, बजार घट्न मानेन् । धेरै लगानीकर्ताले सेयर बिक्री गरेनन् । बरु ११ सय अंकमा झरेको बजार ३२ सय अंकमा पुग्यो ।

अहिले पनि सेयर बजार ३२२७ अंकबाट घटेर १८ सय अंकको हाराहारीमा छ । तर, पनि बजार घट्न मानिरहेको छैन । बरु कारोबार ५० करोड रुपैयाँमा झरिसकेको छ । अहिलेको अवस्था भनेको पनि १८ सय अंकबाट घटेर ११ सय अंकमा झरेको जस्तै रहेको छ । त्यो बेलामा साढे ७ सय अंकले मात्रै बजार घटेको थियो । अहिले त ३२सय बढी अंकबाट १८ सय अंक भनेको झण्डै साढे १३ सय अंक घटेको हो । त्यसकारण अब बजार धेरै घट्ने सम्भावना छैन ।

३२ सय अंकबाट १८ सय अंकमा बजार घटिसकेकाले यसलाई १८ सयबाट ११ सयमा आएकोसँग तुलना गर्न सकिन्छ । अहिले बैंकको सेयर मूल्य भनेको फ्याकेको रेट जस्तै हो । बैंकको सेयर मूल्य दुई अढाइसयमा झरेको छ । नेपाल र भारतको तुलना गरेर हेर्ने हो भने यहि सेयर हजार पन्ध्र सय भारु हुन्थ्यो । दुइ अढाइ सयमा सेयर पाउनु भनेको आईपीओ भन्दा सस्तो हो ।

२०/२५ वर्ष पुरानो बैंकको सेयर २ सय रुपैयाँमा पाउनु भनेको चानचुने कुरा होइन । पीई रेसियो २० गुणासम्म भएका कम्पनीको सेयर किन्नु पर्छ भनिन्छ । १५ गुणासम्म भएका कम्पनीको सेयर त किन्नै पर्छ । अहिले बैंक तथा वित्तीय संस्थाको पीइ रेसियो १० गुणा भित्र नै रहेको छ । त्यसैले अहिले किन्नु पर्ने सेयर धेरै छ । अहिले सेयर मूल्य एकदम सस्तो भएको हो । यस कारण पनि सेयर बजार घट्दैन ।

कपिय कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् भने कतिपयको घोषणा हुन बाँकी छ । अब लाभांश वितरण गर्ने समय सुरु भएको छ । अहिले बालिनालि भित्र्याउने समय र पाकेको रोटी खाने समय हो । सेयर बजारमा सधैं जोखिम छ । तर, अहिले बजार धेरै घटेको हुनाले १५ प्रतिशत मात्रै जोखिम हो । जोखिम कम भएकाले ८० प्रतिशत भन्दा बढी अवसर छ । किनभने साढे १३ सय अंक त घटिसकेको छ । अब घट्ने चान्स कम छ । अहिले भनेको लगानी गर्ने समय हो । यत्ति जोखिम त लगानीकर्ताले लिनुपर्छ नी ।

तर, जोखिम लिँदाखेरि बलियो कम्पनी, फण्डामेन्टल स्ट्रङ भएका कम्पनी, खराब कर्जा कम भएका कम्पनीमा लगानी गर्नुपर्ने हुन्छ । जस्तो फण्डामेन्टल्ली बलियो भएका नबिल बैंक, एनआईसी एशिया बैंक लगायतका बैंकहरु, माइक्रोफाइनान्सहरुमा लगानी गर्नुपर्ने हुन्छ । कम्प्रेटिभ चार्टमा रहेका टप ५ कम्पनीमा पनि ईपीएस राम्रो भएको, खराब कर्जा कम भएको, नेटवर्थ बढी भएको कम्पनीको सेयर किन्ने समय हो । यो भनेकने कम्पनी छानिछानि सेयर किन्ने समय हो ।

सेयर बजारका सर्वाेच्च गुरु अर्थात् सेयर बजारका बादशाह वारेन वफेट मिडियम लङटर्म भ्यालु इन्भेष्टमेन्ट वीथ कम्पाउण्डिङ रिटर्न भएका कम्पनीमा लगानी गर्नु भनेर भन्नुहुन्छ । जस्तो ३२ सय अंकमा मिडियम लङ टर्म भ्यालु इन्भेष्टमेन्ट वीथ कम्पाउण्डिङ रिटर्न गरेको काम लाग्दैन । किनभने बजार त्यो बेला महँगो थियो । साथै उहाँले ‘अलवेज इन रेष्ट इन रेड जोन सो द्याट यू क्यान इञ्जोए इन ग्रीन जोन’ भन्नु भएको छ । अर्थात् ग्रीन जोनमा ट्रेडिङ गर्नेर रेड जोनमा लगानी गर्ने हो । त्यो समय भनेको अहिले हो । वारेन बफेटको दुवै भनाइलाई लागू गर्ने भनेको यहि बेला हो । अहिले लगानी गर्ने समय हो र बजार बढ्ने नै हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन),अर्थमन्त्रालयले बजार सम्वन्धि धेरै नीतिनियम(पोलिसी) हरु पाइपलाइनमा राखेको छ । लामो समयदेखि बाँकी रहेका पोलिसीहरु सबै पाइपलाइनमा छन् । ब्रोकर लाइसेन्स अदालतमा गएपनि त्यसको निर्णय भैहाल्छ । त्यसपछि ब्रोकर, सिडिएस, नेप्से र सेबोनको कमिसन घटाउने भनिरहेको छ । एनआरएनएलाई पनि लाइसेन्स दिने, आईपीओ ३० प्रतिशत भन्दा कम निष्काशन गर्न नदिने र धेरै रियल सेक्टरका कम्पनीको आईपीओ आउने तयारीमा छन् ।

नयाँ स्टक लिएर आउने लगानीकर्ताहरु रियल सेक्टरका मालिकहरु छन् । उनीहरु ठूलो उद्योगपति हुन् । अहिलेको सम्झौता अनुसार नै नयाँ स्टक आउने हो । अहिलेको क्राइटेरिया, योग्यता पुरा गरेर ३० प्रतिशत आईपीओ निष्काशन गरेर सेवा सुविधा दिएर नयाँ डिजिटलमा, नयाँ टिएमएसहरु वा अनलाइन सिस्टममा नयाँ स्टक आउनेछ ।

सेयर बजारका कतिपय टुलहरु हामीले प्रयोग गरिहरेका छैनौं । जस्तो इन्ट्रा डे, अक्सन मार्केट जस्ता सबै कुराहरु नयाँ स्टकले ल्याउनेछ । त्यसपछि बजार धेरै माथि जान्छ । एकै दिनमा २/३ वटा कारोबार गर्छ । कारोबार रकम २२ अर्ब नाघेर जान्छ । बैंकले लाइसेन्स पायो भने त झनै बजारले उचाइ छुन्छ । किनभने बैंकको ५ हजार भन्दा बढी शाखा सञ्जाल छ । सातै प्रदेश ७७ जिल्लाका गाउँ गाउँमा सेयर बजारको काम हुन्छ ।

२० करोड रुपैयाँका ४१ वटा ब्रोकर, ४ वटाले ६० करोड रुपैयाँ र एउटाले १५० करोड रुपैयाँ भएको ब्रोकरको लाइसेन्सका लागि आवेदन दिएका छन् । यस्तै कमोडिटी मार्केटका लागि लाइसेन्स मागिरहेका छन् । यी सबै कुराहरु पाइपलाइनमा छन् । जुन ६ महिनाभित्र सबै कुरा पुरा हुन्छ । धेरै कामहरु विकास हुँदै गएकाले सस्तो बजारमा इन्भेष्टमेन्ट गर्ने समय हो ।

अहिले लगानीकर्ताको मनोबल एकदम कमजोर छ । कहिले सेबोनले पोलिसी ल्याउने, कहिले राष्ट्र बैंकले मौद्रिक नीति नराम्रो ल्याएका कारण बजार घटेको हो । राष्ट्र बैंकले ४÷१२ करोडको नीति ल्याएदेखि मैले सुरुदेखि विरोध गरेको हुँ । एउटा बैंकबाट १२ करोड गरेको भएपनि समस्या आउँदैनथ्यो । आखिरमा राष्ट्र बैंक गलत रहेछ, सुधार गर्याे पछि । सीसीडी रेसियोलाई सीडी रेसियो गर्याे । ५ सय अर्ब रुपैयाँ बैंकमा भएको रकमलाई कर्जा दिन पाएनन् ।

ब्याजदर बढ्दै गयो । ब्याजदर बढेपछि सेयर बजारलाई नेगेटिभ असर गर्छ । ब्याज बढेपछि सेयर बजारमा लगानी कम हुन्छ, ब्याजदर घटे सेयर बजार घट्छ । ६–७ प्रतिशत ब्याजदर १५ प्रतिशत पुगेपछि आफै नकारात्मक भयो । ब्याजदर उच्च भएपछि कुनै पनि देशको उद्योगधन्दाले थाम्न सक्दैन । हामी बर्बाद भयौं भनेर एफएनसीसीआई, सीएनआई, चेम्बर अफ कमर्स लगायतका संस्था ब्याजदर बढी भयो भन्दै कराइ रहेका छन् । हामी पनि सेयर बजार वाला पनि कराइ रहेका छौं । यसबाट प्रत्यक्ष असर पार्ने सेयर बजारलाई हो । तर, बजारमा हल्ला भएर घाटा खाएर पनि सेयर बिक्री गरेर पनि निस्किन्छौं । उद्योगधन्दामा पैसा निकाल्न पाउँदैनन् किनभने उनीहरुको लगानी भइसकेको हुन्छ । यसले माइक्रोलेभलमा होइन, म्याक्रो लेभलमा असर पारेको छ ।

३२ सय अंक हुँदा २२ अर्बको कारोबार भएको थियो । त्यो कारोबार अझैँ बढेर जाने थियो । त्यो बेलामा ५१ वटा जोखिम कम्पनी भनेर सूची सार्वजनिक गरिदियो । त्यसपछि लगानीकर्ताहरुको समूहले एकातिर राष्ट्र बैंकमा गभर्नरको राजीनामा सहित केही माग राखेर अगाडि बढेपछि बजार घटेको हो । त्यसपछि अर्थमन्त्रीको पनि राजीनामा माग्न थालियो । यसमा राजनीति घुसाइयो । जसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारबारे सार्वजनिक कार्यक्रममा नै नकारात्मक बोले । केपी ओलील पनि काउण्टर दिएर बोले । यसमा राजनीतिकरण भयो ।

मैले यसमा राजनीतिकरण नगरौं भनेर विरोध गरिरहेको थिएँ । हाम्रो माग जे छ सबै मागौं त्यसमा पछि नहटौं तर यसमा राजनीति नघुसाऔं । किनभने ब्यापार उद्योगमा राजनीति घुसाउनु हुँदैन । सम्बन्धित निकायले माग पुरा गरेनन्, रिसिबी गरे । अहिले धेरै अवधारणामा सुधार भएर आएपछि विस्तारै हिट गर्छ । मार्केटलाई मुख्य रुपमा हिट गर्ने भनेको पोलिसी हो । अब ब्याजदर बढ्दैन । किनभने सीडी रेसियो ९० प्रतिशत भन्दा बढी थियो । राष्ट्र बैंकले कारवाही गरेर ९० प्रतिशतमा झारे । अहिले ८७ भन्दा तल छ । रेमिट्यान्स पनि बढी आएको छ । पोहोरको भन्दा ४ प्रतिशत बढेर साढे १० खर्ब रेमिट्यान्स आएको छ । २ महिनामा नै बढेर आएको छ । अहिले २० वटा भन्दा बढी फ्लाइट बाहिर गइरहेको छ । अहिले श्रमीक युवाहरु बाहिर गइरहेका छन् । २ महिनामा एक लाख युवा बाहिर गएका छन् ।

चुनावमा खर्च बढ्छ । विकास खर्च पनि हुन्छ । रेमिट्यान्स पनि आइरहेको छ । अब बैंकहरुको सीडी रेसियो घट्दै जान्छ । ब्याज बढी भएकाले लगानीकर्ताले कर्जा लिइरहेका छैनन् । सेयर बजारको कर्जा ६५ अर्बमा झरिसकेको छ । बजार उच्च हुँदा १२२ अर्ब रुपैयाँ थियो । बैंकले पनि कर्जा लिन आउ भनिरहेको छ । बैंकहरुले पनि राम्रो मान्छेलाई मात्रै कर्जा दिइरहेको छ । बैंकहरु पनि अहिले ब्यापारी भइसकेका छन् । ब्याज बढाउन यो सबै चलखेल गरेको हो । राष्ट्र बैंक र बैंकहरुको मिलेमतो छ । राष्ट्र बैंकले बोक्सी र झाँक्री जस्तै काम गरेको छ । म कुटे जस्तै गर्छु तँ रोए जस्तो गर भने जस्तै भयो ।

(विकासन्युजका सिआर भण्डारीले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.