घरधनीलाई छुटैछुट, बहालमा बस्नेलाई ब्रह्मलुट

  २०७९ कार्तिक १३ गते १२:२२     अनुसा थापा

अहिले काठमाडौंको अधिकांश घरमा ‘टुलेट’ भनेर टाँसिरहेको देखिन्छ । प्रायजसो घरमा कोठा, सटर र फल्याट खाली छ भनेर टाँसिरहेको पाइन्छ । घर खाली छन् भनेर टाँस्छन् तर धरधनीले मागेजति पैसा दिन्छु भनेर सहमति नजनाएसम्म भाडामा लगाउँदैनन् । बरु, कोठा खाली राख्छन् । कोठा खोज्नेले भाडा मँहगो भो भन्न पनि पाउँदैनन् । भाडामा बस्ने सहमति जनाएपनि तीन महिनाको अग्रिम भाडा बुझाउनुपर्ने बाध्यता छ ।

घरधनीले आफूलाई जसरी मनलाग्यो, त्यसरी भाडामा लगाइराखेका छन् । सरकारले नक्शा पास गरिदिने बेलैमा घरको वर्गीकरण गरिदिँदा उचित हुने थियो । कुन घर भाडामा लगाउने ? कुन घर व्यापारका लागि प्रयोग गर्ने ? कुन घरमा अफिस सञ्चालन गर्ने ? र कुन घरमा मान्छे बस्ने ? वर्गीकरण गरिएको छैन । जसले गर्दा सबैलाई सास्ती भएको छ । माथि अफिस सञ्चालन हुन्छ, तल कोठा बहालमा लगाइएको हुन्छ ।

यसले गर्दा माथि र तल बस्ने दुवैलाई सास्ती भइरहेको छ । अफिस भएपछि काम लिएर आउनेहरु यत्तिकै हुन्छन् । अनि तलकालाई डिस्टर्ब हुनु स्वाभाविकै हो । पछिल्लो समय कोठा भाडा अत्याधिक बढेको छ । तर, जागिर खानेको तलब बढेको छैन्, व्यापारतिर पनि मन्दी नै छ । अधिकांशलाई कोठा भाडा तिर्न समस्या भएको छ । मँहगी बढेपिच्छे घरधनीले कोठा भाडा बढाएका छन् ।

तर, काम गर्ने ठाँउमा शुको पनि तलब बढेको छैन् । घरधनीले आफ्नो डेरामा बस्नेको अवस्था कहिले बुझ्ने प्रयास गर्दैनन् । उसले कसरी भाडा तिरेको छ ? उसको जागिर के हो ? भनेर हेर्दैनन् तर भाडाचाहि हरेक तीन महिनामा बढाउँछन् । महिना मर्न पाएको हुँदैन्, ढोकाढोका चहार्न आइहाल्छन् । एकदिन भाडा ढिलो भयो भने सातो खाइदिने घरधनीहरु पनि छन् ।

महिनाको शुरुवातमै भाडा तिर्यो भने घरधनी मख्ख । घरधनीले पैसा लिइरहेका छन् तर बिल दिँदैनन् । पैसा लिएपछि अनिवार्य बिल दिनुपर्ने प्रावधान छ । तर, यो पनि धरधनीहरु माथि लागु भएको छैन् । यता, मासिक भाडा त उठाइरहेका छन् तर बहालमा बस्नेले सेवासुविधा पाइरहेका छन् भनेर हेरेका छन् ? बहालमा बस्नेलाई केही सेवासुविधा नै छैन । भाडामा बस्नेलाई घरधनीले मान्छे नै सोच्दैनन् ।

कोठा दिएर मात्र पुग्छ ? भाडामा बस्नेलाई पानीको समस्या छ । बत्ती र फोहोरको पैसा पनि दोब्बर तिर्नुपर्ने बाध्यता छ । लुगा सुकाउने ठाँउको अभाव छ । कोठाभित्रै भाडा माझ्नु पर्छ । घाम ताप्नसमेत छतमा जान पाइँदैन । परिवारका सदस्य धेरै छन् भने कोठा दिँदैनन् । उनीहरुले भनेजति पैसा तिर्छुभन्दा पनि कोठा दिन इन्कार गर्छन् । यता, एकल महिला, दलित, रोगी, बालबच्चा भएका, वृद्धवृद्धालाई पनि कोठा पाउन कै सास्ती छ ।

एक्काइसौं शताब्दीमा आइपुग्दा पनि छोइछाइ अझै पनि हाम्रो समाजमा कायम रहेको पाइन्छ । यता, रोगी, बालबच्चा भएका र वृद्धवृद्धाले फोहोर गर्छन् भनेर कोठा दिन मान्दैनन् । घरधनीको किचकिच गर्ने व्यवहारका कारण कोठामा बस्नेहरु हरेक तीन महिनामा कोठा सरिरहन्छन् । दबाब सहन नसकेपछि झोलाझम्टा बोक्यो, बाटो लागिहाल्यो । पूराना जान्छन्, नयाँलाई फेरि महँगो पैसामा बहालमा लगाउँछन् ।

घरधनीहरुले न राज्यलाई घरबहाल कर तिर्छन् न बहालमा बस्नेलाई सस्तोमा कोठा दिन्छन् । राज्यलाई राजस्व छल्ने, बहालमा बस्नेलाई मँहगो भाडा लिएर लुट्ने । मुलुकभरका ९८ प्रतिशत घर बहालमा लगाइएको छ । तर, राज्य घरबहाल कर पाउनबाट वञ्चित छ । एउटा कोठाको पाँचदेखि दश हजारसम्म भाडा तिर्नुपर्छ ।

२० हजारदेखि दुई लाखसम्मका फल्याट पाइन्छन् । सटर पनि १० हजारदेखि ९ लाखसम्मको छ । एउटा घरधनीले महिनाले लाखदेखि करोडसम्म बहाल उठाउँछन् । तर, राज्यले शुको पनि घरबहाल कर पाउँदैन । घरबेटीले लिएको पैसा मँहगो हो कि सस्तो ? सरकार र बहालवाला दुवै अनविज्ञ छन् । घरधनीलाई मात्र थाहा होला । सरकारले घरभाडा निर्धारण गरेको छैन् । घरधनीको सामु सरकार पनि लाचार छ ।

वडा र नगरपालिकाले कुन घर भाडामा लगाउने ? आफ्नो क्षेत्रमा कति घर भाडामा लगाइएको छ ? कुन घरमा कति वटा कोठा, फल्याट भाडामा दिइएको छ ? यसको विवरण संकलन गर्दैन् । घर सबै भाडामा लगाइएको हुन्छ । तर, वडामा भन्ने बेलाचाँहि कोठा सबै खाली भएको बताउँछन् । अझ कतिपयले कोठामा आफ्नै परिवार बसेको छ भनेर कर छल्ने गरेका छन् ।

भाडावालसँग सवारी साधन पार्क गरेको पनि पैसा उठाइन्छ । घरधनीले बिहान ६ बजेअघि गेट खोलिदिँदैन्, राति ९ बजेपछि गेट बन्द । काम गर्ने कतिखेर घर आँउछन् ? यसको ठेगान हुँदैन् । आँउदाआँउदै कहिले ढिलो हुन सक्छ तर यो पनि बुझदैनन् । पाहुना आए भने ढोकामा जुत्ता हेर्छन् । बच्चाहरु रोए भने केही गल्ती गरे भने नराम्ररी गाली गर्छन् । कोठा सरेर जाऊ भन्नसम्म बेर लाग्दैन् ।

घरधनीको ज्यादतीको कुनै सीमा छैन । पैसाचाहि महिना मर्नुभन्दा अगाडि लिन्छन् तर सेवासुविधा केही दिँदैनन् । तैपनि कहाँ सुख छ र ? घरधनी कतिखेर रिसाउने हुन् भनेर काँपेर बस्नुपर्छ । मनलागेसम्म राख्छन् र मन भरेपछि कोठा तुरुन्त सरेर जान भनिहाल्छन् । काम गरेको ठाँउमा महिना नसिद्धिनुअघि तलब दिँदैनन् । तर, घरधनी त महिना बाँकी रहँदै भाडा माग्न आइपुग्छन् ।

यता पैसा दिँदैन् उता किचकिच सहन नसकेर कहाँ जाऊ भइरहन्छ । कम्पनीले पैसा दिँदैन घरधनीले त्यो बुझ्दैनन् । पैसा तिरेर पनि दिँउसै बत्ती बाल्नुपर्ने कोठामा बस्नुपरेको छ । काठमाडौंका कोठामा एउटा खाट अट्न मुश्किल छ । पानीको उस्तै हाहाकार । कोठा पनि साह्रै चिसो हुन्छ । पछिल्लो समय एउटा कोठा पाउन धेरै सकस छ । आफ्नो फाइदाका लागि थोरै जग्गामा घर बनाउने ।

ससाना तीन वटा कोठा निकाल्ने अनि त भइहाल्यो फल्याट सिस्टम । अहिले त एउटा कोठा पाउन छाडिसकेको छ । फल्याट सिस्टम भन्दै ठग्ने काम भइरहेको छ । केही वर्षयता कोठा, सटर र फल्याट खोज्ने अफिस नै खुलेका छन् । यिनीहरुले कोठा खोजिदिए बापत एकदेखि पाँच हजारसम्म लिन्छन् । यता, घरधनीसंग मिलेर पूराना निकाल्दै मँहगोमा नयाँ राख्न सुझाउने पनि यिनीहरु नै हुन् ।

एक छाक मिठो नखाएर, एक जोर राम्रो नलगाएर घरधनीले मागे जति भाडा तिरिरहेका छन् । भाडामा बस्नेलाई न राज्यले हेर्छ न घरधनीले । भाडामा बस्नेलाई सरकार र घरधनी दुवैले दासी सोच्छन् । भाडामा बस्न बाध्य बनाउने पनि सरकार नै हो । जुन जिल्लामा जन्मियो सोही जिल्लामा रोजगारी दिएको भए आफ्नो जन्मथलो छोड्नुपर्ने बाध्यता आँउदैनथ्यो ।

राजनीतिक दलले भाडामा बस्नेसंग भोट लिन जाने । सरकारले कर लियो । तर, भाडामा बस्नेको सहजता र सेवासुविधाका निम्ति कुनै पनि ऐनकानून बनेन् । भाडाको बस्नेको पक्षमा उभिन राजनीतिक दलहरुलाई लाज लाग्छ । जनसंख्याको ९० प्रतिशत त भाडामा बस्छन् । त्यसलाई आधार मानेर पनि सरकारले नीतिनियम बनाउनुपर्ने हो । सरकारले घरबहाल कर मात्र पनि उठाउन सक्यो भने देश समृद्ध हुन्छ ।

भाडामा बस्नु रहर होइन्, बाध्यता छ । जसको फाइदा घरधनीले उठाइरहेका छन् । अहिले सबैभन्दा सजिलो पेशा नै यही बनेको छ । घर बनायो, भाडामा लगायो अनि बसिबसि खाइरह्यो । जागिर खाए पनि घर नै बनाउने, व्यापार गर्नेले पनि घर नै बनाउने । विदेशमा बसेर मरिमेटेर पैसा कमायो, जग्गा किन्यो, घर बनायो । कलकारखाना खोल्नतिर कसैको ध्यान नै गएन् ।

कर पनि तिर्न नपर्ने, आफुखुसी रेट पनि राख्न पाउने । नेपाल आयल निगमले पेट्रोल डिजेलको मूल्य घटबढ गर्नेबित्तिकै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा तोक्छ । तोकेभन्दा बढी भाडा लियो भने कारबाही हुन्छ । तर, घरभाडा कसैले तोक्दैन् । अनि कसले अनुगमन गर्ने ? कसले जरिवाना गर्ने ? घरधनीलाई सरकारले छाडा छोडेको हो ।

घरबहाल बढ्नेबित्तिकै मँहगी बढ्यो, आर्थिक अवस्था कमजोर हुनेहरु बाँच्न नसक्ने भए । ठाँउ हेरेर सरकारले भाडा तोकिदिनुपर्छ । घरबहाल पनि सरकारले उठाउनुपर्छ । कर काटेर घरधनीको खातामा रकम हालिदिने व्यवस्था मिलाउनुपर्छ । यो भयो भने लाखौंले रोजगारी पाँउछन्, राज्यले राजस्व पनि । बहालमा बस्नेलाई पनि राहत हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.