काठमाडौंका घरबेटीको दादागिरी र भाडावालका दुःख

  २०७९ असोज १२ गते १२:००     रुषा थापा

उपत्यका बाहिरी जिल्लाका मानिसहरु उपत्यकाभित्र नै कोठा, फल्याट लिएर भाडा बस्ने गर्छन् वा सटर लिएर व्यापार गर्ने गर्छन् । यहाँ ७७ ओटै जिल्लाका मानिसहरु भाडामा बस्ने गर्छन् । विभिन्न सेवासुविधाको खोजीमा एक जिल्लाको मानिस अर्को जिल्लामा आएर कोठा भाडामा लिएर बसोबास गर्ने गर्छ । तर अघिपछि यँही बसेपनि दशैँको समयमा भने उनीहरु आफ्नो आमाबुबा वा आफन्तजनहरुलाई भेटन र दशैँ मनाउन आफ्नो गाउँघर जाने गर्छन् ।

अहिले धेरै मानिसहरु दशैँ मनाउन उपत्यकाबाट बाहिर वा आफ्नो गाउँघर गइसकेका छन् भने कति गएका छैनन् । निजी कम्पनी, संघसंस्था वा पसलहरुमा काम गर्ने कति मानिसहरुले अहिलेपनि तलब पाएका छैनन् जसले गर्दा उनीहरु दशैँ मनाउन वा आफ्नो गाउँघर जानबाट नै वञ्चित भएका छन् । साथै कतिले तलब पाएपनि उनीहरुको तलब ५ वर्षदेखि बढेको छैन तर महंगी हप्तैपिच्छे बढ्ने गर्छ ।

यता तलब बढ्दैँन भने उता सामानको भाउ, सार्वजनिक यातायातको भाडा र कोठा भाडा बढेको बढ्यै गर्छ । पैसा थोरै भएपनि आफ्नो गाउँघर दशैँ मनाउन जान लागेका मानिसहरुलाई अहिले घरधनीहरु भाडा तिर्नु अनि मात्र जानु भनेर भनिरहेका छन् । जसले गर्दा उनीहरुले आफ्नो गाउँघर जान तयार पारेको खर्च घरधनीलाई नै दिइरहेका छन् ।

यसपालिको दशैँ मनाउनबाट नै उनीहरु वञ्चित भएका छन् । साथै यता कति मानिसहरु घरधनीहरुलाई भाडा त तिरेर आफ्नो गाउँघर गए तर चोरहरुले आफ्नो सामानहरु चोर्छ कि भन्ने त्रास उनीहरुमा रहेको छ । घरधनीहरुले भाडा त लिन्छन् तर डेरावालको सामानको सुरक्षा भने गर्दैनन् । घर वा कोठा भाडामा लगाउनुभन्दा अगाडी नै तीन महिनाको अग्रिम भाडा घरधनीहरु डेरावालसँग माग्ने गर्छन् । साथै खाली सटर २० लाखदेखि ५० लाखसम्ममा बिक्री गर्ने गर्छ ।

एउटा अध्याँरो वा चिसो कोठा र सानो कोठाको ठाउँअनुसार ४ हजारदेखि १२ हजारसम्म लिइन्छ । साथै एउटा सटरको ठाउँअनुसार १० हजारदेखि ९ लाख र एक फल्याटको ठाउँअनुसार २० हजारदेखि २ लाखसम्म लिइने गरिन्छ । साथै पुरानो डेराबाललाई कोठाबाट निकाल्ने र नयाँ मानिसलाई पहिलाको भन्दा दोब्बर भाडा लिएर कोठा भाडामा लगाउने । यता राज्यलाई भने घरबहाल कर नतिर्ने तर उता डेरावालसँग भने आफूखुशी भाडा असुल्ने । सरकारले फल्याट, कोठा र सटरको भाडा निर्धारण नगर्दा आज डेरावालहरु मारमा परेका छन् र घरधनीहरुको जिब्रोमा कोठा, फल्याट र सटरको मूल्य रहेको छ । न वडाले नै घरभाडा निर्धारण गर्छ न महानगरपालिकाले नै । सरकारले कुन घर भाडामा लगाउने, कुन अफिस सञ्चालन गर्न दिने र कुनमा पसल राख्न दिने भनेर कुनै पनि निर्णय पनि गरेको छैन र कुनै मापदण्ड पनि तयार गरिएको छैन ।

पछिल्लो समय घरधनीहरुले भाडाको लोभमा भत्किन लागेका वा जोखिमपुर्ण घरहरु पनि महँगो भाडामा लगाइरहेका छन् । साथै एक्लो महिला, अपांङग वा वृद्धवृद्धालाई पनि कोठा भाडामा नदिने र भाडा पनि महिना मर्नुअघि नै माग्ने गर्छन् । घरधनीहरु कोठा त भाडामा लगाउँछन् तर डेरावाललाई पानी भने दिदैँन । साथै पानी नदिएपनि पानी, बत्ती र फोहोरको पैसा भने दोब्बर लिने गर्छन् । त्यस्तै यता सवारीसाधन राखेको पनि महिनाको २ हजारदेखि ५ हजारसम्म लिने गर्छन् ।

साथै डेरावालहरु कोठा सर्दा कोठामा नयाँ बत्ती , धारा र रङहरु लगाउन ल्याउँछन् । त्यस्तै यता डेरावालले महिना महिनामा भाडा तिरेपनि भुलाएर भाडा नै नदिएको बताउने र फेरिपनि भाडा लिने गर्छन् । घरधनीले भनेजस्तो नगरेमा किचकिच गर्ने र कोठा नै सरेर जा भन्ने । अहिले ८० प्रतिशत मानिसहरु भाडामा बस्छन् । विगतमा देशको राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म नै भाडामा बस्दै आएका थिए तर उनीहरुले पनि घरधनीहरुको यस्तो दाधागिरी रोक्न कुनै प्रयास गरेनन् ।

साथै न त घरधनीहरुसँग घरबहाल कर नै उठाए । पछिल्लो समय सबैभन्दा सजिलो काम भनेको नै घर बनाउने र भाडामा लगाउने हो । यसमा न त समयको नै खर्च हुन्छ न त मेहेनतको नै । एउटा मानिसले घरजग्गा गरेर करोडदेखि ५० करोडसम्म लगानी गर्छ र महिनाको ५० हजारदेखि लाखसम्म भाडा उठाउने गर्छ तर लगानी र आम्दानीको राज्यलाई कर तिर्दैन । त्यस्तै एक पटक घर बनाएपछि त्यस घरको ५० वर्षसम्म प्राविधिक चेकजाँच गरिदैँन । डेरावालहरुले एक छाक मिठो खान र कपडा लगाउन पाएका हुदैँन । आफ्नो बालबच्चालाई राम्रो शिक्षादीक्षा दिन पाएका हुदैँन तर घरधनीहरु भने ती नै डेरावाललाई नराम्रोसँग ठग्ने गर्छन् । के यो घरधनीहरुको लुटको धन्दा होइन र , के यो दाधागिरी होइन र , सरकार ?

अहिले पनि धेरै घरधनीहरुले कतिपयलाई सानो जात भनेर कोठा भाडामा दिदैँनन् । घरधनीलाई मन लागेको दिनसम्म कोठा भाडामा लगाउँछन् र मन नलागेको वा डेरावालले भनेजति पैसा तिर्न नसकेमा कोठाबाट नै निकालदिने गर्छन् । घर,सटर वा फ्ल्याट खाली छ भनेर तै झ्याल ढोकामा लेख्छन् तर भनेजति भाडा तिर्छु नभनेसम्म भाडामा दिदैँनन् । भनेजति भाडा माग्दा डेरावालले नदिएपछि घरधनीहरु कोठा नै खाली राखेर बस्छन् तर यसरी कोठाहरु खाली राख्ने घरधनीहरुलाइ कारबाही कसले गर्ने ? कति मानिसहरुले तीन महिनासम्म खाली फ्ल्याट, सटर र कोठा खोज्दा पनि भेट्दैँनन् । सटर, फल्याट र कोठा भाडा महंगो भएकाले अब आर्थिक कमजोर भएका मानिसहरुले कोठा लिएर बस्न पनि पाउँदैनन् र व्यापार गरेर जीविकोपार्जन समेत गर्न पाउँदैनन् । पछिल्लो समय सटर, फल्याट वा कोठा खोजदिन्छु भनेर अफिस नै खोलेर बसेका दलालीहरु यत्तिकै भेटिन्छ । यिनीहरुले कोठा, सटर र फ्ल्याट खोजदिन्छु भन्दै सर्वसाधारणसँग हजारदेखि २० हजारसम्म ठगेर खाने गर्छन् ।

कमिशन खानका लागि यि कम्पनीहरु घरधनीहरुलाई लोभ्याउने गर्छन् र पुरानो डेरावाललाई निकालेर नयाँलाई महंगोमा कोठा भाडामा लगाउने गर्छन् । सबैभन्दा लुट र ठगको धन्दा अहिले घरभाडामा नै रहेको पाइन्छ । घरधनीले सटरभाडा बढाउने बित्तिकै व्यापारीहरुले पनि १० रुपैँया पर्ने सामान ५० रुपैँयामा बिक्री गर्ने गर्छन् । घरधनीहरु एउटा मात्र कोठा दिदैँनन् जसले गर्दा आर्थिक कमजोर भएका मानिसहरुले कोठा नै पाउदैँनन् । काम गरेको ठाउँमा भने महिना नमरि तलब दिदैँन तर घरधनीहरु भने महिनाअघि नै भाडा माग्ने गर्छन् । तर घरधनीहरुको यस्तो लुट र ठगको धन्दामा न सञ्चारकर्मीहरुले नै आवाज उठाउँछन् । घरधनीहरुको अगाडी सञ्चारकर्मीहरु पनि निरीह बनेका छन् । राज्यको चोथौँ अंगको रुपमा सञ्चारकर्मी वा पत्रकारलाई चिनिन्छ तर घरधनीहरुको दाधागिरीको अगाडी सञ्चारकर्मीहरु पनि केही गर्न सक्दैँनन् ।

के घरधनीहरुबाट सञ्चारकर्मीहरु पनि डराएका हुन् ? सञ्चारकर्मीहरुले जहिले पनि राजनिति समाचारहरु मात्र लेख्दा वा राजनिति क्षेत्रमा मात्र बढी चासो राख्दा आज डेरावालको आवाज सुन्ने कोही छैन । के सञ्चारकर्मीहरुले राजनितिका बारेमा मात्र समाचारहरु लेख्न पाउँछन् हो , होइन भने किन घरधनीहरुको यस्तो लुटको धन्दाको बारेमा लेख्दैँनन् ? कतिपय सञ्चारकर्मीहरु पनि अझैपनि भाडामा नै बस्छन् तर उनीहरु पनि घरधनीहरुको यस्तो दाधागिरी र लुटको धन्दाको विरोधमा आवाज उठाउँदैनन् । सञ्चारकर्मीले त आवाज उठाउन सक्दैँनन् भने सर्वसाधारण जनताहरुले चाहिँ कसरी आवाज उठाउन सक्छौँ होला । भन्नेबेला सञ्चारकर्मीहरु आफूलाई राज्यको चोथौँ अंग भन्छन् तर घरधनीहरुको अगाडी भने निरीह बन्छन् ।

यता राजनितिक दलहरु त झन् घरधनीहरुको ठग र लुटको धन्दाको विरोधमा बोल्ने आँट नै गर्दैनन् । घरधनीहरु डेरावाललाई दोस्रो नागरिक सोच्ने गर्छन् तर डेरावालहरु पनि नेपाली नै हुन् र उनीहरु पैसा तिरेर नै बसेका हुन् । डेरावालहरु बिरामी भएमा सुखसँग पनि कोठामा बस्न नदिने र बाटोमा नै मर्नुपर्ने हुन्छ । २०७२ बैशाख १२ गते नेपालमा भुकम्प गयो र भत्किन लागेका घरहरुमा भाडामा बस्ने मानिसहरु त्यसबेला घरमा नै पुरेर वा त्यो घर भत्केर मरे तर त्यस्ता घरहरु भाडामा लगाउने घरधनीहरुलाई कारबाही भने भएन । डेरावाललाई ठुलो स्वरले कोठामा बोल्न पनि नदिने र पाहुना पनि आउन नदिने । साथै डेरावालको बालबच्चाहरु रोएमा पनि कोठाबाट नै निकालि दिने, बुढाबुढी, बालबच्चा भएमा कोठा नै नदिने । घरधनीहरुको ठग र दादागिरीको धन्दा सरकारले रोक्न नसक्दा आज डेरावालहरु घरधनीहरुको अगाडी लम्पसार पर्नु परेको छ । सरकारले पनि घरधनीहरुले डेरावाललाई विभिन्न सेवासुविधाहरु प्रदान गर्नुपर्छ भनेर कानून नबनाउँदा डेरावालहरु मारमा परेका छन् ।

घरधनीको अगाडी वडाध्यक्षहरु निरीह बन्छन् भने प्रहरीहरु रमिता हेरेर बस्छन् । अब डेरावालहरुले पनि घरधनीको विरोधमा बोल्नुपर्छ र सञ्चारकर्मीले पनि कलम चलाउनुपर्छ । बहालमा बस्ने मानिसलाई ठगेर आफू चिल्लो गाडीमा चढ्ने र सुकिलामुकिला हुनेहरुको अब हामी सबैले मिलेर धन्दा खोर गर्नुपर्छ । साथै अबदेखि डेरावालहरुले घरधनीलाई नभइ सरकारलाई भाडा बुझाउने गर्नुपर्छ । सरकारले पनि कर्मचारी खटाएर घरभाडा उठाउनुपर्छ र राज्यले लिनुपर्ने कर काटेर अरु पैसा घरधनीको खातामा राख्नुपर्छ । सटर, फ्ल्याट र कोठा भाडा पनि सरकारले नै निर्धारण गर्नुपर्छ । यदि सरकारले तोकेको भन्दा बढी भाडा घरधनीले लिएमा राज्यबाट पाउनुपर्ने सेवासुविधा काटदिने र जरिवाना तिराउनुपर्छ ।
बहालमा बस्ने मानिसहरुको पीडा उठाउन नसक्ने र घरधनीहरुको विरोध गर्न नसक्नेहरु अहिले घरधनीहरुसँग नै पैसा खाएर घरबहाल संघ खालेर राजनितिक दलको झोला बोक्दै हिडिरहेका छन् । तर, यिनीहरुले न त घरधनीको विरोधमा केही बोल्न नै सक्छन् न त सरकारले नै घरभाडा निर्धारण गर्नुपर्छ भनेर आवाज उठाउन सक्छन् । घरधनीहरु राज्यलाई पनि घरबहाल कर नतिरेर छल्ने र डेरावालसँग पनि महंगो भाडा लिएर ठग्ने ।

बहालमा बस्ने मानिसले एक महिनामात्र कोठाभाडा नदिएमा कोठाको सामान पनि आफैँले आएर निकालदिने गर्छन् । साथै पछिल्लो समय वित्तिय संस्थाहरुले पनि घरजग्गालाई मात्र कर्जा प्रवाह गर्दा र व्यापार व्यवसाय गर्ने मानिसलाई कर्जा नदिँदा घरधनीहरुको ठगको धन्दा झन् मौलाएको हो । अब बहालमा बस्ने मानिसहरु पनि घरधनीसँग डराएर लम्पसार परेर बस्नु हँदैँन र पैसा तिरेपछि हामीले हाम्रो अधिकार पनि लिन वा माग्न सिक्नुपर्छ ।

आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटाउँदा वा बढाउँदा सार्वजनिक सवारीसाधनको भाडा यातायात व्यवस्था विभाग वा यातायात मन्त्रालयले निर्धारण गर्ने गर्छ । साथै सरकारले तोकेको भन्दा बढी भाडा व्यवसायीले लिएरमा अनुगमन गरेर कारबाही समेत गर्छ । तर यता सटर, फ्ल्याट र कोठाभाडा भने सरकारले तोक्दैँनन् । घरधनीको अगाडि सरकार नै लम्पसार पर्छ । सरकार घरनम्बर पनि राख्न सक्दैँन र घरबहाल कर पनि उठाउन सक्दैँन । साथै कुन घरमा कुन जिल्लाको मानिस भाडामा बस्छ र उसले के काम गर्छ भनेर डाटा पनि संकलन गर्न सक्दैँन । सरकार घरधनीको अगाडि निरीह छ भने वडाध्यक्ष र मेयर घरधनीहरुसँग नै भोट लिदैँ पैसा खादैँ बसिरहेका छन् । यहाँ सबै घर नेता, सरकारी कर्मचारी र व्यापारी छ । त्यसलै पनि सरकारी कर्मचारी र नेताहरु आफूलाई घाटा हुने वा नोक्सान हुने कानून बनाउँदैनन् ।

(यो लेखकको निजी विचार हो ।)

One comment on "काठमाडौंका घरबेटीको दादागिरी र भाडावालका दुःख"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.