ठूला बैंकले समान हैसियत दिँदा सानालाई मालामाल, कसले बसाल्यो ट्रेण्ड ?

  २०७९ असोज १२ गते १०:३७     सीआर भण्डारी

काठमाडौं । स्वाप रेसियो नमिलेको भन्दै लामो समयसम्म मर्जरको प्रक्रियामा रहेका हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले अन्तिम समयमा आएर मर्जर भाँडे । हिमालयन बैंकको साधारणसभाले नेपाल इन्भेष्टमेन्ट बैंकलाई बराबरीको हैसियतमा मर्जर गर्न नसकिने भन्दै अन्तिम आवरमा आएर मर्जर भाडयो । मर्जर प्रक्रिया भाँडिएपछि यी दुवै बैंकहरुलाई अर्काे कुनै बैंकलाई मर्जरका लागि पाटर्नर खोज्नु पर्ने दबाब सिर्जना भयो ।

चाँडै मर्जर प्रक्रिया अगाडि नबढाए राष्ट्र बैंकको कारवाहीमा पर्ने डरले दुवै बैंक मर्जरका लागि पाटर्नर खोज्नतर्फ लागे । त्यसलगत्तै नबिल बैंकले नेपाल बंगलादेश(एनबी)लाई १००ः ४३ को स्वाप रेसियोमा प्राप्ति गर्यो । यसलाई पनि नबिल बैंकका सेयरधनीले एनबीलाई बढी नै स्वाप रेसियो दिएको गाइँगुईं बैंकिङ बजारमा नसुनिएको होइन ।

यही बिचमा अर्थात् गत जेठ अन्तिम साता नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जरको सम्झौता गर्याे । नेपाल इन्भेष्टमेन्ट र मेगाबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भयो । यो मर्जर सम्झौताले पनि बैंकिङ क्षेत्रमा एक किसिमको बहस सिर्जना गर्यो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएपछि मेगाले धेरै मूल्य पाएको सन्देश बैंकिङ बजारमा प्रवाह भयो ।

त्यसपछि मर्जरको सम्झौता भयो ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच । पुँजीका हिसाबले नेपालको नम्बर वान बैंकका रुपमा चिनिएको ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूसँग १ः१ को अनुपातमा मर्जरको प्रारम्भिक सम्झौता गरेपछि एक किसिमको तरंग नै मच्चियो । प्रारम्भिक सम्झौतामा ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूलाई समान हैसियत दियो । पूँजी ठूलो बनाउनका लागि भएपनि ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूसँग १ः१ को स्वाप रेसियोमा प्रारम्भिक समझदारी गरेको हुन सक्ने धेरैको बुझाइ छ ।

ग्लोबलले बैंक अफ काठमाण्डूलाई समान हैसियत दिएपछि अन्य साना बैंकले पनि एक किसिमको आड पाए । र, मर्जरका लागि आउने ठूला बैंकसँग समान तथा सम्मानित हैसियत खोज्न थाले । आफूसँग मर्जर प्रक्रिया रद्द भएको नेपाल इन्भेष्टमेन्ट बैंकले अर्काे पार्टनर खोजेको र ग्लोबलले समान हैसियतमा बैंक अफ काठमाण्डूसँग मर्जर सम्झौता गरेपछि हिमालयन बैंकलाई ठूलो दबाब सिर्जना भयो ।

अन्ततः गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८१ को स्वाप रेसियोमा गाभ्ने प्रारम्भिक सम्झौता गर्याे । त्यसअघि सिभिल बैंकले आफूले मागे अनुसार स्वाप रेसियो हिमालयनले दिन नमानेपछि मर्जर सम्झौता कार्यक्रम रद्द नै गरेको थियो ।

यस्तै, गत साउन १५ गते प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच पनि १ः१ को अनुपातमा नै मर्जर सम्झौता भयो । हाललाई दुबै बैंकबीच १ः१ अनुपातको स्वाप रेसियोमा मर्ज हुने प्रारम्भिक सम्झौता भए पनि डिडिए रिपोर्ट अनुसार नै अघि बढ्ने सहमति भएको छ । प्रभुले पनि सेञ्चुरीलाई समान हैसियत दिएपछि त झन साना बैंकले ठूलासँग महत्वाकांक्षी अपेक्षा राखेको र ठूला बैंकहरु पनि दबाबमा रहेर समान हैसियत दिन बाध्य भएको बुझ्न सकिन्छ ।

सोमबार मात्रै कुमारी बैंक र एनसीसी बैंकबीच भएको मर्जरले पनि बैंकिङ क्षेत्रमा यही सन्देश प्रवाह भएको छ । नाफा लगायत सूचकमा अगाडि रहेको एनसीसी बैंकले कुमारी बैंकसँग १ः१ को स्वाप रेसियोमा मर्जर गरेर नाम पनि कुमारी नै राख्ने सहमति भएको छ भने नयाँ बन्ने बैंकको सीईओ भने एनसीसीका रमेश अर्याल हुनेछन् ।

ठूला बैंकहरुले साना बैंकहरुलाई समान हैसियतमा मर्जर सम्झौता गर्न थालेपछि बैंकिङ क्षेत्रमा एक किसिमको संसय सिर्जना भएको छ । अहिले धेरैले साना बैंकलाई समान हैसियतको स्वाप रेसियो दिने थालनी ग्लोबल आइएमई बैंकले गरेको धारणा राख्न थालेका छन् । तर, ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव महाप्रबन्धक महेश शर्मा ढकाल भने ग्लोबल आइएमई बैंक र बिओके बैंकबीचको स्वाप रेसियो ठिकै भएको बताउँछन् । मर्जरका लागि सहज वातावरण सिर्जना गर्न समान हैसियत दिनु परेको उनको भनाइ छ ।

ठूला बैंकले साना बैंकलाई बराबर हैसियत दिँदा अन्य साना बैंकले पनि ठूलो भाग खोज्ने गरेको उनको भनाइ छ ।

‘मर्जर सहज बनाउन दुवै संस्थाबीचको बुझाइलाई सकारात्मक गर्न लचकता अपनाइएको हो, समान हैसियत दिँदा साना बैंकले पनि ठूलो भाग खोज्ने गरेका छन्, साना बैंकमा यस्तो देखिएपनि १० प्रतिशतभन्दा माथि हुँदैन, भविष्यमा मर्जरबाट हुने फाइदाका लागि पनि लचकता अपनाउँछन्,’ उनले भने, ‘ग्लोबल आइएमई बैंक र बिओकेबीचको स्वाप रेसियो ठिकै हो, भ्यालुसेनमा १० प्रतिशतभन्दा बढी फरक पर्दैन भनेको छ, फरक पर्ने अवस्था पनि छैन, डिडिए रिपोर्ट आउन बाँकी रहेको छ, आएपछि मात्रै थाहा हुन्छ, तैपनि १० प्रतिशतभन्दा बढी फरक आउने देखिन्न ।’

राष्ट्र बैंकले डिडिए रिपोर्टमा १० प्रतिशत भन्दा बढी स्वाप रेसियो फरक देखायो भने समान हैसियतमा मर्ज गर्न दिँदैन । एउटा बैंकको ९१ र अर्काे बैंकको १०० आयो भने बराबर रेसियोमा मर्ज गर्न सकिन्छ । यदि १० प्रतिशत भन्दा बढीले फरक पर्याे भने फरक गरेर नै जाने उनले बताए ।

यस्तै, मेगा बैंककी कायमुकायम प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) रविना देशराज श्रेष्ठले वाणिज्य बैंकहरुको मर्जर बिग मर्जरका रुपमा लिएको हुँदा स्वाप रेसियो समान भएको हुन सक्ने बताइन् । बैंकहरुको मर्जरमा स्वाप रेसियो डिडिएले निर्धारण गर्ने भएकोले कतिमा मर्ज हुने भनेर डिडिएमै निर्भर हुने उनको धारणा छ ।

‘वाणिज्य बैंकहरुको मर्जर बिग मर्जर हो, बिग मर्जर भएका सबै बैंकहरु आफैमा सक्षम बैंकहरु हुन्, स्वाप रेसियो डिडिएले निर्धारण गर्ने भएकाले कुन बैंकलाई कतिमा मर्जर गर्ने भनेर डिडिएमा निर्भर हुन्छ, समान वर्गका बैंकबीच मर्ज हुने भएकाले डिडिए रिपोर्टसमान आएको हुन सक्छ,’ उनले भनिन् ।

यसरी कुनै ठूला बैंकले साना बैंकलाई समान हैसियतमा मर्जर सम्झौता गर्दा अन्य साना बैंकले पनि मर्जरमा बार्गेेनिङ गर्ने गरेको बैंकर्सहरु बताउँछन् । पूँजी वृद्धि गराएर आफूलाई एक नम्बर बनाउन स्वाप रेसियो समान दिएपनि अन्य बैंकलाई भने ठूलो दबाव पर्ने गरेको उनीहरुको धारणा छ ।

सिद्धार्थ बैंकका पूर्व सीईओ सम्भुनाथ गौतम तत्कालका लागि सहजता कायम गर्न समान हैसियतमा सम्झौता गरे पनि डिडिए रिपोर्टमा फरक आएमा कम मूल्य भएका बैंकले नमान्दा मर्जर टुट्ने गरेको बताउँछन् । समान किसिमका बैंकहरुमा १ः१ अनुपातमा मर्जर सम्झौता गरेको उनको बुझाइ छ ।

‘प्रारम्भिक सम्झौतामा १ः१ मा मर्ज गर्ने भनेपनि डिडिए रिपोर्टमा १० प्रतिशत बढीको फरक आयो भने सोही फरक अनुसार मर्ज गर्नुपर्ने हुन्छ, डिडिएमा १० प्रतिशतभन्दा कम आयो समान स्वाप रेसियो कायम गर्न सकिन्छ, समान किसिमका बैंकहरुमा १ः१ मा सम्झौता हुन्छ, कुमारी बैंक र एनसीसी बैंक समान किसिमका बैंक हुन्,’ उनले भने, ‘समान हैसियत नभएका नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई कम स्वाप रेसियोमा गाभेको हो, समान रेसियो हुनु स्वभाविक हो तर अन्य बैंकहरुमा डिडिए गर्दा फरक आयो भने फरक हुन्छ, यसरी फरक आउने भएकाले फरक नमान्दा मर्जर तोडिएका छन्, डिडिए रिपोर्टमा कुराहरु फरक पर्छन, मूल्य कम हनु गएमा जुन बैंकको कम हुने हो त्यो बैंकले नमानेपछि मर्जर टुट्छ, यसको उदाहरण हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक हुने ।’

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरन्जिवी नेपाल समान हैसियतका लागि बैंकका सञ्चालकबीच मन मिल्नु पर्ने बताउँछन् । बैंकहरुका सञ्चालकबीचमा कुरा मिल्यो भने समान हैसियतमा मर्जर गर्न सकिने उनको धारणा छ । बैंकहरुमा एक नम्बर बैंक बन्ने होड चलेका कारण पनि स्वाप रेसियो समान गरेको उनले बताए ।

‘बैंकहरुमा स्वाप रेसियोको विषयमा आ–आफ्नो बुझाइ पनि हन्छ, बैंकहरुबीच कुरा मिल्यो समान हैसियतमा मर्ज हुन सक्छन्, सञ्चालकहरुले गर्छन् भने कुरा नै सिद्दियो, केन्द्रिय बैंकले डिडिए रिपोर्ट हेर्ने हो,’ उनले भने, ‘राष्ट्र बैंकको चाहना बैंकहरु मर्ज होस् भन्ने छ, मेरै पालामा १२/१५ बैंक हुनु पर्छ भनेको थिएँ, अहिले पनि राष्ट्र बैंकले १५ वटा बैंक भए हुन्छ भनेको छ, बैंकहरुमा आफूलाई एक नम्बर बनाउन प्रतिस्पर्धा छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.