म्याग्दीमा ३५ करोड लगानीमा ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालन

  २०७९ असोज १२ गते ९:१३     विकासन्युज

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा पर्यटकलाई लक्षित गरी ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा आएको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले करिब ३५ करोड लगानीमा सो होटल सञ्चालनमा ल्याउनुभएको हो ।

करिब आठ रोपनी क्षेत्रफलमा तीन वर्ष लगाएर छ तलाको भवन निर्माण गरिएको हो । घटस्थापनादेखि औपचारिकरूपमा होटल सञ्चालनमा आएको सो होटलमा ५७ कोठा छन् । होटलमा एकैपटक झण्डै दुई सय जनालाई राख्न सकिने सञ्चालक हमाल बताउँछन् । ‘आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राख्दै होटल सञ्चालनमा ल्याएका हौँ,’ उनले भने । होटलका सबै कोठाबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

लगानी, पूर्वाधार र क्षमताको हिसाबले उक्त होटल धवलागिरि क्षेत्रकै ठूलो भएको तातोपानी टोल सुधार समितिका सचिव एवं पर्यटन व्यवसायी अमृतमान शेरचनले बताए । ‘म्याग्दी हुँदै मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि स्तरीय होटल आवश्यक छ,’ उनले भने । सो होटल सञ्चालनमा आएसँगै भुरुङ तातोपानी बजारका साना–ठूला होटलमा गरी एक रातमा करिब एक हजार जनालाई राख्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.