विदेशिन बाध्य नेपालीलाई नेपालमै राम्रो आयसहितको रोजगारी दिलाऔं : अध्यक्ष अग्रवाल

  २०७९ असोज ११ गते १८:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको रोजगारी दिलाउन आग्रह गरेका छन् । मंगलबार विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन पनि भएको बताए । विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

नेपाल उद्योग परिसंघको उपाध्यक्ष समेत रहेका परिसंघ पर्यटन परिषद्का सभापति राजबहादुर शाहले कोभिड १९ को असरबाट विस्तारै बाहिर आएको निजी क्षेत्रलाई बलियोसँग उभिएर पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताए । नागरिकस्तरबाट पनि कोभिडका बेलामा बढेको आन्तरिक घुमफिरको ट्रेन्डले निरन्तरता पाउन सके पर्यटन व्यसायीहरुलाई नयाँ गन्तव्यहरु खोज्न, नयाँ प्रडक्ट, प्याकेजहरु ल्याउन उत्साह मिल्ने उनले बताए ।

यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘रिथिङ्किङ टुरिज्म’ रहेको सन्दर्भमा परिसंघको पर्यटन परिषद्ले तयार पारेको नेपालको आगामी पर्यटनको कार्यदिशा सम्बन्धी सुझावात्मक योजना परिसंघका महानिर्देशक दिपकराज जोशीले प्रस्तुत गरे । उक्त सुझाव पर्यटनसँग सम्बद्ध निजी तथा सरकारी निकायहरुलाई उपलब्ध गराइनेछ ।

कार्यक्रममा पर्यटन व्यवसायसँग सम्बन्धित संघ संस्था, नेपालस्थित राजदूत एवं विकास साझेदार प्रतिनिधिहरु, उद्योगी व्यवसायीका प्रतिनिधिमुलक संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.