बैंकका सेयरधनीहरु लाभांश लिनै आउँदैनन्, साढे ३ अर्ब रुपैयाँ लिन बाँकी

  २०७९ असोज ११ गते १०:२६     सीआर भण्डारी

काठमाडौं । गत साउन ३१ गते सानिमा बैंकले एक सूचना जारी गरेर सेयरधनीहरुलाई लाभांश लिन आग्रह गर्याे । बैंकको साधारण सभाबाट पारित भए बमोजिम असार मसान्त २०७९ सम्ममा ५ वर्ष अवधि नाघेका तर सम्बन्धित सेयरधनीहरुले नलिएको लाभांश लिन बैंकले आग्रह गरेको थियो । सो लाभांश लिन नआएमा प्रचलित कानून बमोजिम अगाडि बढ्ने बैंकको सूचनामा उल्लेख थियो । २०७८ असार मसान्तसम्म बैंकबाट ९ करोड १७ लाख ८१ हजार ३१९ रुपैयाँ बराबरको लाभांश सेयरधनीहरुले बुझिलिन बाँकी छ ।

यस्तै, गत साउन अन्तिम सातामा एभरेष्ट बैंकले पनि सेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह सहितको सूचना सार्वजनिक गर्यो । साउनमै नबिल बैंकले पनि सेयरधनीलाई लाभांश लिन अनुरोध गरेको निकालेको थियो । बैंकसँग गाभिएका युनाइटेड फाइनान्स र नेपाल बंगलादेश बैंकका ५ बर्ष भन्दा पहिले सम्पन्न विभिन्न साधारणसभाले पारित गरेका लाभांश लिन बैंकले सेयरधनीहरुलाई आग्रह गरेको थियो । अन्यथा, प्रचलित कानुन बमोजिम नगद लाभांश वापतको सम्पूर्ण रकम उक्त लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न पठाइने समेत बैंकले जनाएको थियो ।

यसरी अधिकांश बैंक तथा अन्य कम्पनीहरुले पनि लाभांश लिन नआएका सेयरधनीहरुलाई सूचना निकालेर बेलाबखत लाभांश लिन आउन आव्हान गरिरहेका हुन्छन् । सेयरधनी लाभांश लिन किन जाँदैनन् यो भने सबैको चासोको विषय बनेको छ ।

लगानीकर्ता सृजना सुवेदी सेयर बजारमा लामो समयदेखि सक्रिय रहेका तर जानकारी नहुँदा लाभांश नै लिन नगएको हुन सक्ने बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश लिनका लागि सूचना जारी गर्नुभन्दा सिधै खातामा जम्मा गर्नु पर्ने उनको धारणा छ ।

‘आमाबुबाको पुस्ताका सेयरधनीहरु लाभांश लिन जाँदैनन्, सेयर बजारमा पुराना लगानीकर्ताहरु धेरै छन्, उहाँहरुलाई थाहा पनि हुँदैनन्, त्यसपछि लिन जाँदैनन्, बैंक तथा वित्तीय संस्थाहरुले सिधै खातामा हालिदिनु पर्छ,’ उनले भनिन् ।

लामो समयदेखि सेयरधनीहरुले लाभांश नलिएको खण्डमा बैंक तथा वित्तीय संस्थाहरुल राष्ट्रिय दैनिक पत्रिमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । सूचना प्रकाशित गर्दा पनि तोकिएको समयसीमामा सेयरधनीहरु सो लाभांश लिन नआएमा रकम कोषमा जम्मा हुन्छ ।

यस्तै, बैंक अफ काठमाण्डूले २०७८ असार मसान्तसम्म १३ करोड २७ लाख ४६ हजार ८७१ रुपैयाँ बराबरको लाभांश सेयरधनीहरुले लिन बाँकी रहेको जनाएको छ । बैंकको आर्थिक वर्ष २०५८/०५९ देखि आर्थिक वर्ष २०६९/०७० सम्मका विभिन्न साधारण सभाले पारित गरेको १ करोड ३४ लाख ८२ हजार ८२५.१८ रुपैयाँ बराबरको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको जनाएको छ ।

यस्तै, सेञ्चुरी कमर्सियिल बैंकको २०७८ को असारसम्म १३ करोड ८० लाख ७८ हजार ८२४ रुपैयाँ बराबरको लाभांश रकम सेयरधनीहरुले लिन बाँकी रहेको छ । सिटिजन्स बैंकले आर्थिक वर्ष २०६५/२०६६ देखि आर्थिक वर्ष २०७०/०७१ सम्म १४ करोड ६० लाख ७५ हजार ९८ रुपैयाँ बराबरको लाभांश सेयरधनीहरुले लिन बाँकी रहेको बताएको छ ।

सिभिल बैंकको २०७८ सम्ममा सेयरधनीहरुले ३ करोड ५८ लाख ७३ हजार ३३२.७७ रुपैयाँ, ग्लोबल आइएमई बैंकको २ करोड ९९ लाख ७८ हजार ६६६.२३ रुपैयाँ र हिमालयन बैंकको १२ करोड ३२ लाख २९ हजार ७३७ रुपैयाँ, कुमारी बैंकको ७ करोड ७८ लाख ७४ हजार २५ रुपैयाँ रहेको छ ।

लक्ष्मी बैंकको २०७८ असार मसान्तसम्म ३ करोड ९७ लाख ६० हजार ६६३.२३ रुपैयाँ बराबरको लाभांश सेयरधनीहरुले बुझिलिन बाँकी रहेको छ । विभिन्न आर्थिक वर्षहरुमा घोषणा गरेको लाभांश रकम घोषणा भएको मितिले ५ वर्षसम्म पनि सम्बन्धित लगानीकर्ताले बुझि लिन आएको छैन भने सो लाभांश कम्पनी ऐन २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरेको बैंकहरुले जनाएका छन् ।

माछापुच्छ्रे बैंकका सेयरधनीहरुले २०७८ असार मसान्तसम्म ९ करोड ७८ लाख ३२ हजार ९३५ रुपैयाँ बराबरको लाभांशबुझिलिन बाँकी रहेको छ । एनएमबि बैंकको १९ करोड ४२ लाख २० हजार ९६२ रुपैयाँ बराबरको लाभांश लिन बाँकी रहेको बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०६९/०७० भन्दा अगाडीको बुझिलिन बाँकी रहेको सेयरधनीहरुको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको बैंकले बताएको छ ।

एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपेश कुमार वैद्य पुराना सेयरधनीहरुको डिम्याट खाता नहुँदा लाभांशको ठूलो रकम कोषमा जाने गरेको बताउँछन् । अधिकांश सेयरधनीहरुको पुरा विवरण नमिलेका कारण पनि सेयरधनीहरु लाभांश रकम लिन नआएको हुन सक्ने उनले बताए ।

‘कुनै–कुनै सेयरधनीहरुको विवरण मिलेको हुँदैन, जस्तै, डिम्याटमा खाता नम्बर नराखेको हुँदा सेयरधनीहरुको लाभांश रकम निलिएको हुन्छन्, पहिला–पहिला आईपीओ भर्दाखेरि सेयरधनीहरुको सूचना राख्नुपर्ने हुन्थ्यो, त्यो सूचनाको पुरा विवरण नराखेको हुँदा लाभांशको रकम कोषमा जम्मा हुन्छ,’ उनले भने ।

पछिल्लो समय डिम्याट खातामा बैंकको खाता लिंक गरिएको हुँदा नयाँ मुद्धाहरु नहुन सक्ने उनले बताए । तर, आफूले लगानी गरेको लगानीको जानकारी सेयरधनीहरुलाई हुनु पर्ने उनले बताए ।

‘सेयरधनीहरुको खाता नम्बर अपडेट भएको छ भने सिधैं डिम्याट खातामा राख्न मिल्छ, यदि खाता नम्बर अपडेट गराएको छैन भने अपडेट गराउनुपर्ने हुन्छ, धेरै सेयरधनीहरुलाई जानकारी नभएर, सेयरधनीहरुलाई सूचना वा सचेतना नभएर लाभांश रकम लिन नआएको हुन सक्छन्, यदि सूचना निकालेको समयसीमाभित्र लिन नआएपछि कोषमा जम्मा हुन्छ,’ उनले भने, ‘सेयर लगानी गरेपछि के भयो, कस्तो भइरहेको छ भनेर जानकारी सेयरधनीहरुले पनि लिनु पर्ने हुन्छ, आफूले लगानी गरेको लगानीको जानकारी सेयरधनीहरुलाई हुनुपर्छ ।’पुराना धेरै सेयरधनीहरुको डिम्याट खाता नभएका कारण लाभांश रकम कोषमा जाने गरेको उनको भनाइ छ ।

प्रभु बैंकले वि.स. २०७६ असोज २ गते सम्ममा सेयरधनीहरुले बुिझलिन बाँकी रहेको २ करोड २२ लाख ३ हजार ३४०.२९ रुपैयाँ बराबरको रकम लगाानीकर्ता सरंक्षण काेषमा जम्मा गरेको जनाएको छ । बैंकबाट सेयरधनीहरुले अब लाभांशको रकम लिन बाँकी नरहेको बताएको छ ।

ग्लोबल आइएमई क्यापिटलका सीईओ पारषमणी ढकाल सेयरधनीहरु लिन नआएका कारण लाभांश रकम कोषमा जम्मा हुने गरेको बताउँछन् । कतिपय सेयरधनीहरुलाई आफ्नो सम्पत्तिको समेत वास्ता नभएको उनले बताए ।

‘सेयरधनीहरु लाभांश रकम लिन आउँदैनन्, नआएपछि त्यो रकम कोषमा जम्मा गर्नुपर्छ, कतिपय सेयरधनीहरु नेपाल बाहिर पनि हुन सक्छन्, कतिपय सेयरधनीहरुलाई आफ्नो सम्पत्तिको वास्ता पनि हुँदैन,’ उनले भने, ‘यदि सेयरधनीहरुले चाहनाराखेको भए आफ्नो पैसा कहाँ छ भनेर खोज्नु पर्छ, सेयरधनीहरुमा सूचना नपुगेको र आफूले लगानी गरेको सम्पत्तिको वास्ता नहुन सक्छ ।’

खाता अपडेट गरेको दोस्रो दिननै लगानीकर्ताको खातामा लाभांश रकम जम्मा गरिदिने गरेको उनले बताए । तर, पछिल्लो समय पनि सेयरधनीहरुको कारण समस्या आउने गरेको उनको भनाइ छ ।

‘अहिले पनि खाता अपडेट नभएको, खातालाई निरन्तरता नदिएको, कतिपय खाताहरुमा डेबिट र क्रडिट गर्न नमिल्ने रहेका छन्, यस्तो अवस्थामा गाह्रो हुन्छ, लगानीकर्ताका कारण पछिल्लो समय खाता दिइसकेपछि खाता नमिल्ने गरेको छ,’ उनले भने ।

वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७७/७८ सम्म सेयरधनीहरुले साढे ३ अर्ब रुपैयाँ बराबरको लाभांश रकम लिन बाँकी रहेको छ । हाल सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमध्ये २२ वटा वाणिज्य बैंकको ३ अर्ब ४६ करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश रकम सेयरधनीहरुले लिन बाँकी रहेको छ ।

सबैभन्दा धेरै कृषि विकास बैंकका सेयरधनीहरुले ठूलो रकम बराबरको लाभांश लिन बाँकी रहेको छ । कृषि विकास बैंकका सेयरधनीहरुले आर्थिक वर्ष २०७७/७८ को अन्तसम्म ७३ करोड ३६ लाख १२ हजार २४७रुपैयाँ बराबरको लाभांश रकम बुझिलिन बाँकी छ ।

यसअघि बैंकले आर्थिक वर्ष २०७६/७७ सम्म १ अर्ब ७ करोड २८ लाख १४ हजार ४०८ रुपैयाँ रहेको थियो । उक्त रकममध्ये पाँच वर्षभित्र पनि कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको ६ करोड ३७ लाख ६४ हजार ७ सय रुपैयाँ बराबरको लाभांश कम्पनि ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा वि.स. २०७७ असोज १६ गतेका दिन पठाएको बैंकले जनाएको छ । सबैभन्दा कम नेपाल बैंकका सेयरधनीहरुले लिन बाँकी छ । बैंकका सेयरधनीहरुले २० लाख ८३१ रुपैयाँ बराबरको लाभांश रकम लिन बाँकी रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.