सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु हुँदैन : निलहरि बास्तोला

  २०७९ असोज १० गते १४:०७     विकासन्युज

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु नहुने बताएका छन् ।

सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष बास्तोलाले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय स्थानीय सरकारले सडक बनाउने नाममा ५० वर्ष पुराना पर्वतीय ट्रेकिङ गन्तव्यलाई अस्थित्व मेटाउने काम भएको बताए । अध्यक्ष बास्तोलाले ३१ दिनको पर्वतीय ट्रेकिङ गन्तव्य रहेको अन्नपूर्ण राउण्डलाई अहिले सडक बनाउने नाममा भत्काएर अहिले ५ दिनको बनाइएको भन्दै आपत्ति जनाए ।

उनले सडक आवश्यक भयो भन्दैमा विश्वका १० नम्बरमा पर्ने पर्वतीय ट्रेकिङ गन्तव्यहरुको अस्थित्व मेटाउन नमिल्ने बताए । अध्यक्ष बास्तोलाले पछिल्लो समय धेरै पर्वतीय ट्रेकिङ गन्तव्यहरु हराउने क्रममा रहेको गुनासो गरे । उनले विश्वमा प्रचार भएर हजारौं नागरिकलाई रोजगारी दिने पर्वतीय ट्रेकिङ गन्तव्यलाई कायम राखेर वैकल्पिक मार्गबाट सडक बनाउन सल्लाह गर्न आग्रह गरे ।

उनले स्थानीय सरकारहरुले पर्वतीय ट्रेकिङ गन्तव्य भएको स्थानमा सडक बनाउँदा वा पर्यटन क्षेत्रको विकासको लागि बजेट विनियोजन गर्दा टानसँग सल्लाह गर्नु उचित हुने बताए । उनले रोजगारीको सिर्जना लगायत अन्य प्रचुर सम्भवना रहेको सिन्धुपाल्चोको जुगल हिमालको प्रचारप्रसार गर्न आवश्यक रहेको र त्यसमा प्रचारप्रसार गर्न टानले सहयोग गर्ने पनि प्रतिवद्धता जनाए ।

त्यस्तै, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको रुपमा मान्यता दिए अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्ने बताए । उनले पर्वतीय उद्योग जनशक्ति,व्यवस्थापनदेखि आवश्यक पूर्वाधार स्वदेशी भएको र लगानी गर्न अन्य मुलुकसँग सहयोग माग गर्नु नपर्ने उद्योग हुने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.