कृषि तथा पूर्वाधारमा ११५% ले बढ्यो बीमाको लगानी, निर्जीवनमा शिखर र जीवनमा संस्थान देखिए आक्रामक

  २०७९ असोज ९ गते १६:३९     विकासन्युज

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरु कृषि, पर्यटन र जलश्रोत लगायत पूर्वाधार क्षेत्रमा आकर्षित देखिन थालेका छन् । उक्त क्षेत्रमा जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको बढ्दो लगानीले कम्पनीहरुको आकर्षण बढेको बुझिएको हो ।

गत आर्थिक वर्ष (आव २०७८/७९) मा मात्रै कम्पनीहरुले ७ अर्ब ४५ करोड रुपैयाँ बढी लगानी गरेका छन् । जुन अघिल्लो आवको तुलनामा ११५.७९ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन र जीवन बीमाबाट पूर्वाधार क्षेत्रमा ३ अर्ब ४५ करोड ४९ लाख रुपैयाँ बराबरको लगानी भएको थियो ।

जीवन र निर्जीवन बीमा कम्पनीमध्ये पनि जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी लगानी गरेका छन् । जीवन बीमाले ७ अर्ब १४ करोड रुपैयाँ लगानी गर्दा निर्जीवन बीमाले ३० करोड ७१ लाख रुपैयाँ बराबरको लगानी गरेको पाइएको छ ।

गत वर्ष लगानी रकम मात्रै नभई लगानी गर्ने कम्पनीको संख्या पनि बढेको छ । अघिल्लो आवमा ९ वटा कम्पनीले मात्रै सो क्षेत्रमा लगानी गरेका थिए भने गत आवमा बढेर १४ पुगेको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार जीवन र निर्जीवन गरी कूल ३९ कम्पनीमध्ये १४ कम्पनीले मात्रै गत आर्थिक वर्षमा उक्त क्षेत्रमा लगानी गरेका पाइएको हो । लगानीमा गर्नेमा अधिकांश जीवन बीमा कम्पनीहरु रहेका छन् । समीक्षा अवधिमा मात्रै १० वटा जीवन बीमा कम्पनीले र बाँकी ४ वटा निर्जीवन बीमा कम्पनीले उक्त क्षेत्रमा लगानी गरेका समितिले जानकारी गराएको छ ।

गत वर्ष यो क्षेत्रमा लगानी गर्ने निर्जीवन बीमा कम्पनीमा सगरमाथा, प्रभु, आईएमई जनरल, शिखर र लुम्बिनी जनरल रहेका छन् । जसमध्ये शिखरले सबैभन्दा बढी लगानी गरेको छ । कम्पनीले एक वर्षको अवधिमा १७ करोड ४३ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । त्यस्तै, प्रभुको ४ करोड ७३ लाख, सगरमाथाको ४ करोड ५४ लाख, आईएमई जनरल र लुम्बिनी जनरलको भने २/२ करोड रुपैयाँ बराबरको लगानी छ ।

आईएमई जनरल र लुम्बिनी जनरलले गत वर्ष यो क्षेत्रमा लगानी गरेका थिएनन् । अघिल्लो वर्ष यो क्षेत्रमा लगानी गरेका नेको र प्रुडेन्सियल इन्स्योरेन्सले भने यो क्षेत्रबाट हात झिकेको पाइएको छ ।

यता जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ, एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, रिलायन्स लाइफ, सन नेपाल, सिटिजन र प्रभु लाइफले लगानी गरेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थानले यो क्षेत्रमा सबैभन्दा बढी अर्थात २८४.१५ प्रतिशत बढी लगानी गरेको छ । अघिल्लो वर्षमा १ अर्ब २७ करोड लगानी गरेको संस्थानले गत आवमा एकैपटक ४ अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी गरेको हो ।

नेपाल लाइफले १ अर्ब ८० करोड, एशियनले १५ करोड, प्राइमले ६ करोड ६७ लाख, सूर्याले ८ लाख, रिलायन्सले ५ लाख, सन नेपालले ४३५, सिटिजन लाइफ र प्रभु लाइफले २/२ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् ।

अघिल्लो वर्षको तुलनामा यो क्षेत्रमा लगानी गर्न अधिकांश जीवन बीमा कम्पनीहरु थपिएका छन् । अघिल्लो वर्षमा ४ वटा कम्पनीले मात्रै लगानी गरेका थिए भने यो वर्ष थपिएर ९ वटा पुगेका छन् ।

यी बाहेक अन्य कम्पनीले भने गत दुई वर्षयता कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गरेका छैनन् । बीमा समितिका अनुसार विभिन्न क्षेत्रमा लगानी गर्न पाउने बीमा कम्पनीले यो क्षेत्रमा भने न्युनतम १० देखि बढीमा २० प्रतिशतसम्म लगानी गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.