धेरै बैंकहरुले ठूलो रकमको बचत फिर्ता दिन छाडे

  २०७९ असोज ८ गते १६:३६     अनुसा थापा

पछिल्लो समय बैंक र सहकारीले ब्याजदर ह्वात्तै बढाएका छन् । बैंकले १७/१८ प्रतिशत व्याज दिन्छु भनेर सर्वसाधारण तान्न खोजेका छन् । मुद्धती खातामा पाँच वर्ष राख्नेलाई २० प्रतिशतसम्म ब्याज दिने बताउदैं आएका छन् । अहिले बैंक पिच्छे ब्याजदर फरक–फरक छ । अर्काको बैंकमा भएको पैसा तान्नका लागि बैंकहरुबीच नै हानाथाप भएको छ । एउटाले १३ प्रतिशत दिइरहेको छ भने अर्को बैंकले १४ प्रतिशत ब्याज दिन्छु भनेर लोभ्याइरहेका छन् । केही समययता बैंकहरुको बिजनेसको अवस्था नाजुक भइसकेको छ । तरलताको अभावले गर्दा बैंकहरुलाई बचतकर्ताको रकम फिर्ता गर्न पनि सकस हुने अवस्था छ । बचतकर्ता चेक लिएर बैंक पुग्यो भने विभिन्न बाहाना बनाएर पैसा फिर्ता दिन खोज्दैनन् । तातोचिसो भन्दै झुल्याउने अनि व्याज बढाइदिने प्रलोभनमा पार्ने । जसरी हुन्छ, बैंकमा भएको रकम त्यही रोक्न खोज्छन् । अहिले हरेक बैंकले व्याजदर बढाइरहेको छ । बचतकर्ताहरु पनि जुन बैंकले बढी व्याज दिन्छ त्यतै दौडिरहेका छन् । एउटाबाट निकालेर अर्कोमा लगेर राख्ने क्रम बढेको छ ।

यता, बैकबाट ऋणबाट खाने ऋणीहरु अहिले तनावमा देखिएका छन् । बैंकको ऋण तिर्न नसक्ने भयौं भनेर उनीहरुले हात उठाइसकेका छन् । बैंकले बढी ब्याज देखाएर पैसा त उठाएका छन्, तर कहाँ लगानी गर्ने ? उद्योग व्यवसायीले व्याजदर बढी भयो भनेर विरोध गरिरहेका छन् । बैंकले जसरी बढी ब्याजमा निक्षेपकर्ताबाट रकम असुलेको छ । त्यसैगरी लगानी गर्न पनि त सक्नुपर्ला । वित्तिय संस्था समस्यामा परे भनेर दुई वर्ष अघिदेखि नै अड्कलबाजी गर्न थालिएको थियो । सहकारीहरु भाग्छन् भनेर पहिले हल्ला भएको थियो अहिले त्यसको संकेत देखिन थालेको छ । बैंकको जोखिमपूर्ण लगानीले धेरैलाई समस्यामा पारेको छ । अहिले घरजग्गामा मन्दी आएको छ । पाँच दशक अगाडिको रेट र अहिलेको रेट उति नै छ । मालपोत कार्यालयमा घरजग्गा नामसारी ठप्पजस्तै छ । दिनमा एकदुई वटा पनि नामसारी हुदैन् । बजारमा घरजग्गा बेच्ने यत्तिकै छ किन्ने कोही पनि छैनन् । यता, कुनै दिन २२ अर्बसम्म कारोबार भएको सेयर अहिले ६५ करोडमै सीमित बनेको छ । तीन हजार प्रतिकित्ता किनेको सेयर अहिले ह्वात्तै घटेको छ । कर्जा लिएर सवारी साधन किन्नेहरुले पनि हात उठाएका छन् ।

गाडी लिलाम गर हामी कर्जा तिर्न सक्दैनौं भनेर ऋणीहरु सडकमा आइसकेका छन् । बरु, घरजग्गा र सेयर नै लिलाम गर्ने पक्षमा ऋणीहरु छन् । सहकारीहरुले २०/२२ प्रतिशत ब्याज दिन्छौ भनेर पैसा उठाइरहेका छन् । बैंक र सहकारीले राखेको पैसा फिर्ता नदिएपछि मिटरब्याजमा पैसा चलाउनेहरु बढेको बताइन्छ । मिटरब्याजमा पैसा लिएर आफ्नो समस्या हल गरेका कुराहरु बाहिर आइरहेका छन् । पछिल्लो समय मिटरब्याजमा लगानी गर्नेको संख्या ह्वात्तै बढेको छ । वित्तिय संस्थाबाट ऋण लिनेहरु ऋण तिर्नुको साटो सडकमा उत्रिनेतिर लागिपरेका छन् ।
यहाँबाट राजनीति छिरेको छ । ऋण लिइसकेपछि तिर्नु हरेक ऋणीको दायित्व हो । तर, ऋण तिर्न छाडेर वित्तिय संस्थालाई चक्नाचुर बनाउनतिर ऋणीहरु लागेका छन् । बैंक फाइान्सबाट लिएको ब्याजदर मँहगो भयो भनेर उद्योग व्यवसायीहरु पछि हटेका छन् । उनीहरुले बैंकबाट लिएको कर्जा तिर्न सक्दैनौ भनेर घोषणा गरिदिएका छन् । यता, होटल व्यवसायी, यातायात व्यवसायी, सेयर होल्डर, घरजग्गा व्यवसायी, निर्माण व्यवसायीहरुले पनि आन्दोलन छेड्ने भएका छन् । अब ऋणमा पनि राजनीति हुन्छ, बैंक फाइनेन्स डुबाउने खेल अगाडि बढेको छ ।

पर्दाभित्र बसेर राजनीतिक दलहरुले कर्जा लिनेहरुलाई सडकमा उत्रिन लगाउँछन् । माइतीघरमा दिनहु धर्ना हुन्छ । अनशन बसेर बैंकलाई घुँडा टेक्न बाध्य बनाउँछन् । ऋण तिर्न जानुको साटो माइतीघरमा आन्दोलन गर्न जान्छन् । जिल्लाजिल्लामा विरोध शुरु हुन्छ । राजनीतिक दलको झोले बन्छन्, सडकमा कराउदैं हिड्छन् । त्यसपछि बैंकको स्थिति थप नाजुक बन्छ । बैंकले कर्मचारीलाई तलब खुवाउन सक्दैन्, घरभाडा तिर्न सक्दैन् । यता, कर्जा दिदा राखेका धितो पनि बिक्री हुदैन् । अनि बैंकको त भागाभाग शुरु भइहाल्छ । अन्त्यमा डुब्ने भनेको बैंक हो । पहिले–पहिले ५० लाखको जग्गा धितो राखेर २० लाख ऋण लिन्थे । भोलि कर्जा तिर्न गाह्रो परे जग्गा बेचेर बैंकको कर्जा तिर्थे भने बाँकी भएको पैसा आफ्नै हुन्थ्यो । तर, अहिले त जग्गाको मूल्यमै मन्दी छाएको छ । बरु जग्गै छोडिदिने पक्षमा ऋणीहरु देखिन्छन् । बैंक फाइनान्ससँग अन्तिम विकल्प भनेको धितो स्वीकार गर्नु हो । तर, धितो स्वीकारेर पनि के गर्नु ? धितो बिक्री हुदैंन । बैंक त चारैतिरबाट फसिसकेको छ । धितोको मूल्य घटेपछि र बिक्री नभएपछि जनताको पैसा बैंकले कसरी फिर्ता गर्छ ? सावा त तिर्न सक्दैन भने ब्याजको कुरै छोडौं ।

जग्गा र सेयरको मूल्य बढाउने नै व्यापारी हुन् । बैंक र सरकारले चाहेर जग्गा र सेयरको मूल्य बढ्दैन । तर, अहिले व्यापारीहरुमै भागाभाग मच्चिएको छ । सेयर र जग्गाको मूल्य घटेर उनीहरुले नै ऋण तिर्न सकेका छैनन् । सरकारले पहिल्यै बैंक फाइनान्समा अंकुश लगाइदिएको भए आज यस्तो अवस्था आउदैनथ्यो । नेपाल राष्ट्र बैंक र सहकारी विभागले नियमन नगर्दा र छाडा छोडिदिँदा आज यस्तो दुर्दशा लाग्यो । नाफाको पछाडि भागिरहेको बैंक फाइनान्सले कहिल्यै पछाडि फर्केर हेरनेन् । सधैं नाफा भइरहन्छ, हामी रातदिन धनी भइरहन्छौं भन्ने सपना अहिले आएर टुक्राटुक्रा भएको छ । बैंक र सहकारीले यत्रो ब्याज दिने प्रलोभनमा पारेर पैसा उठाउदा राष्ट्र बैंक र सहकारी विभाग के हेरेर बसेको छ ? ब्याजको लोभमा पारेर सावा नै डुब्ने अवस्था आँउछ । यस्तो हुँदा पनि सम्बन्धित निकाय हात बाँधेर बस्नाले के अर्थ लाग्छ ? सरकार पनि कतै जनताको पैसा डुबाउने खेलमा सामेल त छैन् ? सवाल उठेको छ । दिनानुदिन सहकारीहरु बचतकर्ताको रकम कुम्ल्याएर भागेको खबरहरु बाहिर आइरहेका छन् । नभागेकालाई समेत दैनिक पाँच हजार फिर्ता गर्न गाह्रो छ । यता, बैंकले एक लाखको चेक साट्न सक्दैन् । अबको एक वर्षमा धेरै बैंक फाइनान्स समस्यामा पर्छन् भनेर अड्कलबाजी लगाउन थालिएको छ ।

बढी व्याजको प्रलोभनमा परेर पैसा नराख्नुस भनेर सरकारले सचेत गराएका छैनन् । सहकारी विभागले १६ प्रतिशतभन्दा बढी व्याजमा कर्जा लगानी पाइदैन भनेर प्रावधान बनाएको छ । यता, सेवाशुल्क एक प्रतिशत मात्र लिन पाउने भनिएको छ । तर, सहकारीहरुले २०/२२ प्रतिशत ब्याजमा कर्जा लगानी गरेका छन् । अनि खोइ त सहकारी विभाग ? विभागले बनाएको नियमकानूनको धज्जी सहकारीहरुले उडाइरहेका छन् । विभागको नेतृत्व गैरजिम्मेवार हुँदा बचतकर्ता र ऋणी दुवै ठगिए । सहकारीको कारणले गर्दा आज देशको अर्थतन्त्र धरासायी बन्यो ।

कर्जा लिनेहरु त डुबि नै हाले । कतिपयको घरमा रुवावासी चलेको छ । चाँडो नाफा कमाउन र घुस खानका लागि जनताको पैसा दाउमा लगाए । न कानून नै यिनीहरुले माने । आखिरी सरकारभन्दा बलियो त बैंक फाइनेन्स रहेछ भन्ने कुरा स्पष्ट भयो । बढी ब्याजको लोभमा परेर बैंकमा लगेर पैसा राख्दा सावा नै डुब्न सक्छ । त्यसैले, जनता आफैंमा चेतनशील हुन पर्छ । कतिपय बैंकल विज्ञापन गरेर पैसा उठाउन खोजेका छन् । विज्ञापनमा समेत प्रलोभनमा पार्ने विषयहरु मात्र समेटिएको छ । विज्ञापनको भरमा जनताले बैंक फाइनान्समा लगेर पैसा राख्नुहुन्न । कानुनमा विज्ञापन बजाउन रोक लगाइएको छ तर कत्ति पनि टेरेका छैनन् । घरभाडा तिर्न, कर्मचारीलाई तलब खुवाउन गाह्रो परेपछि कतिपय बैंकले शाखा बन्द गर्दै आएका छन् । बैंक फाइनान्स एउटा व्यापारिक संस्था हो । जति नाफा हुन्छ त्यति खाने त हो । तर, अहिले सबैतिर मन्दी छाएको छ । भएका कर्मचारीलाई तलब दिनसमेत गाह्रो परेको अवस्था छ ।

(लेखमा उल्लेखित विचार लेखकका व्यक्तिगत हुन् ।)

One comment on "धेरै बैंकहरुले ठूलो रकमको बचत फिर्ता दिन छाडे"

  • Yubraj Koirala says:

    ऋणी र धनी बिछ 3% मात्र हुनु पर्छ ब्याज ता तरलता सगै घट बढ हुनुअपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X