रेमण्ड सप : डुब्नै लागेको व्यापारलाई यसरी उकासे सञ्जयले

  २०७९ असोज ६ गते १८:११     नारायण अर्याल

काठमाडौं । कपडाको विश्व बजारमा ‘रेमण्ड’ ब्राण्डको आफ्नो अलग्गै पहिचान छ । सन् १९२५ देखि शुरु भएको रेमण्ड कपडाको व्यापार नेपालमा भने सन् १९९९ बाट शुरु भयाे । जसलाई नेपालमा भित्र्याउने अवधारणाको नेतृत्व भेषराज लुइँटेलले गरेका थिए । लुइँटेल ५/६ जना साझेदार लिएर नेपालमा शुरु गरेको रेमण्ड सपको व्यापार लामो समयदेखि सञ्जय अधिकारीले सम्हाल्दै आएका छन् ।

अधिकारीले ०४५ सालदेखि नै नेपालमा रेडिमेड कपडाको आयात गरेर बिक्री गर्ने काम गर्थे । उनले हङकङ र थाइल्याण्ड गएर रेडिमेड कपडा ल्याएर नेपालमा बिक्री गर्थे । ‘पञ्चायती व्यवस्थादेखि नै मैले रेडिमेड कपडाको व्यवसाय गर्न शुरु गरेकाे थिएँ’, उनले भने, ‘त्यतिबेला झिटीगुन्टा भनिन्थ्यो, त्यतिबेला हामी हङकङ र बैंकक गएर रेडिमेड पाइन्ट, सर्ट, टिसर्ट, ज्याकेट सबै त्यहाँबाट ल्याउँथ्यौं ।’

अधिकारीले पञ्चायत अवस्था रहँदा देखि नै शुरु गरेको झिटी गुन्टाको व्यापार बहुदल आएपछि उही स्वरुपमा रहेन । त्यसपछि उनले सामूहिक साझेदारीमा रेमण्ड सपमा १९९९ बाट सहभागी भएका थिए ।

अहिले हेर्दा अधिकारीले सम्हालेको रेमण्डको व्यापार करोडौं बराबरमा पुगेको छ । तर, यो अवस्थामा आइपुग्नका लागि निकै ठूलो संघर्ष गर्नुपरेको अधिकारी बताउँछन् । शुरुमा रेमण्ड सप शुरु गर्दा सबै लगानीकर्ताले १५/१५ लाख उठाएर लगानी गरेको अधिकारीको भनाई छ । काठमाडौंको पुतलीसडकमा शोरुम राखेर शुरु गरेको सो सप २ वर्षपछि बन्द हुने अवस्थामा पुग्यो । शो रुम नै बन्द हुने अवस्थामा पुगेपछि अधिकारीले सल्लाहमा नै आफूले मात्रै सञ्चालन गरेको बताए ।

‘सञ्चालन गरेको २ वर्षमा यो शोरुम बन्द हुने अवस्थामा पुग्यो, भनेपछि त्यतिबेला यसको सही समय नभएको रहेछ’ उनले भने, ‘त्यसपछि मैले सल्लाहमा नै टेकओभर गरेको हो ।’ आफूले एकल रुपमा सञ्चालन गरेपछि पनि व्यवसाय नभएर ४/५ वर्षसम्म शो रुम नै धान्न गाह्रो परेको उनको भनाइ छ । व्यवसाय नचलेपनि अधिकारी आत्तिएनन्, भोली सो ब्राण्डको माग पक्कै आउँछ भनेर उनले प्रतिक्षा गरिरहे ।

त्यसपछिका वर्षमा भने विस्तारै नेपालीहरुले रेमण्डलाई मन पराउन थाले । अधिकारीको व्यवसाय पनि राम्रो हुन थाल्यो ।

पहिले–पहिले नेपालीहरुले ब्राण्डलाई चासो नदिएको र पछिल्ला दिनहरुमा ब्राण्डको सचेतना बढ्दै गएको अधिकारीकाे अनुभव छ । ग्राहकहरुमा ब्राण्डको सचेतना बढ्दै गएपछि आफ्नो व्यवसाय पनि क्रमशः सुधार भएको उनले सुनाए । ‘आज भन्दा १०/१५ वर्ष अगाडि मान्छेले सर्ट लगाउने भन्थ्यो तर अहिले मानिसहरुले खानेकुरा, लाउनेकुरा र सुत्नेकुरा जे मा पनि ब्राण्ड खोज्न थाले’, अधिकारीले अनुभव सुनाए ।

आफूहरुले शुरुमा जुन कपडा ल्याएर स्वरुममा राखेका थिए त्यसको बिजनेस नै हुन नसकेको अनुभव राख्दै त्यसको कारण मानिसमा सचेतनाको अभाव भएको उनी सुनाउँछन् । ‘अहिले दरबारमार्गमा बिभिन्न ब्राण्डका जुत्ताहरु देख्नुहुन्छ, हाम्रो पालामा कसले लाउँथ्यो र ?’, उनले प्रश्न गरे, हाम्रो पालमा लगाउने जुत्ता चाइना र इन्डियाको त थियो नी ।’ अहिले ब्राण्डेड खोज्ने मानिसहरुले ती पुराना जुत्ताहरु लगाउन छोडिसकेको उनको भनाइ छ ।

मानिसहरुले विस्तारै ब्राण्ड खोज्ने विषय त्यसको गुणस्तरसँग सम्बन्धित भएको अधिकारीले बताए । मानिसहरुले आफ्नो पसलले राखेको ब्राण्डको कपडालाई विश्वास गर्दै जाँदा व्यवसायको विकास भएको र अहिले त्यसका धेरै शाखाहरु विस्तार गर्न सकेको बताए । रेमण्ड सपको नेपाली फ्रेन्चाइजको स्वामित्वमा आँफूले मात्रै सञ्चालन गर्दै आएको भएपनि पछिल्लो दिनमा भने आफूहरुले व्यवसायको विस्तारमा नयाँ अवधारणा अंगिकार गरेको अधिकारी बताउँछन् ।

उनका अनुसार अहिले पैसा लगानी गरेर अन्य इच्छुकहरुले पनि रेमण्ड सप सञ्चालन गर्र्न सकिन्छ । भैरहवा र हेटौंडामा अधिकारीले अहिले वर्किङ पार्टनरमा आफ्नो व्यवसाय विस्तार गरेका छन् । ‘म के कुरामा विश्वास गर्छु भने अरुलाई काम गराएर खान पाउने जमाना गइसक्यो, की आँफै गर्नपर्यो की ति काम गर्ने कामदारहरुसँग पार्टनरसिप गर्नपर्यो’, उनले भने । सोही मान्यताअनुसार पछिल्ला दिनहरुमा आफूले देशभरी नै सम्भावना भएका मुख्य सहरहरुमा शपकोे विस्तार गर्ने योजना बनाएको उनले बताए ।

एउटा कामदारले कसैको पसलमा काम गर्छु भन्नु र त्यहाँ निश्चित प्रतिशत लगानी गरेर काम गर्ने कुराले उसको समाजमा इज्जत प्रतिष्ठा पनि बढ्ने अधिकारी बताउँछन् । कामदार लगानीकर्ताको रुपमा पनि सहभागी हुँदा आवश्यक परेको बेलामा पैसा जुटाउन पनि सजिलो हुने अनुभव सुनाए । आफसँग पार्टनर भएर पसलको विस्तार गर्न चाहनेहरुलाई लगानी नडुब्ने आइडिया पनि दिएर काम गर्न आँफू तयार रहेको उनको भनाइ छ ।

रेमण्ड सपले तयारी नगरेको वा नसिलाएको कपडा देखि अर्डर अनुसार सिलाएर सर्टिङ तथा सुर्टिङका कपडा ग्राहकहरुलाई उपलब्ध गराउने गर्छ । रेडिमेड खरिद गर्न इच्छा राख्नेहरुलाई मध्येनजर गरेर रेडिमेड सर्टिङ सुटिङका कपडाहरु पनि उपलब्ध गराउने गरेको उनी अधिकारी बताउँछन् । तर, रेमण्ड सपमा आउने ९० प्रतिशत ग्राहकहरु पसलमा नै सिलाएर लैजान रुची राख्ने प्रकृतिका रहेका छन् । त्यसैले रेमण्ड सपको ठूलो विजनेस काँचो कपडालाई सिलाएर बेच्नेसँग सम्बन्धित रहेको छ ।

नेपालमा सबै मुलुकमा हुने प्रकारको फिजिकल साइजका मानिसहरु हुने भएकाले फिटिङमा तयारी गरेको कपडामा फिटिङमा समस्या देखिने गरेकाले पनि सपमा आउने ग्राहकहरुमा साइज नापेर सिलाउने रुची देखिएको उनको भनाइ छ । ‘हाम्रो देशमा अफ्रिकन, अमेरिकन चाइनिज सबै टाइपको बडी छ’, उनी भन्छन्, ‘अफ्रिकनलाई बनायो भने चाइनिजलाई काम लाग्दैन, चाइनिजलाई बनायो भने अफ्रिकनलाई काम लाग्दैन, संसारमा जे जति प्रकारको शरिर र अनुहार छ, त्यती प्रकारको शरिर अनुहार नेपालमा पाइन्छ ।’ ग्राहकहरुलाई रेडिमेडमा च्वाइस कम हुने र काँचो कपडामा च्वाइस पनि बढी हुने हुँदा काँचो कपडामा बढी रुची हुने गरेको आँफूले पाएको उनको अनुभव छ ।

अधिकारीका अनुसार रेमण्डले संसारमा नै सबैभन्दा धेरै प्रकारका कपडाको उत्पादन गर्छ । जहाँ सस्तोदेखि संसारकै महंगो सम्मको कपडा पाइन्छ । संसारमा प्रतिष्ठित भएका ब्रिटिस इटालियन ब्राण्डहरुले निश्चित मात्रै ब्राण्ड बनाउने गरेकोमा रेमण्ड मात्रै त्यस्ताे ब्राण्ड हो जसले ६ हजार भन्दा बढी प्रकारका कपडाहरुको उत्पादन गर्छ । मूल्यका हिसाबले पनि ५/६ सय देखि लिएर १५ लाख आइसीसम्मको कपडा उत्पादन गर्ने गरेको अधिकारीको भनाइ छ ।

मूल्यसँग त्यसको गुणस्तरको सम्बन्ध रहने गरेको भन्दै अधिकारीले रेमण्डले ६/६ महिनामा आफ्नो उत्पादनमा अपडेट गर्ने गरेको बताउँछन् । त्यसको लागि कम्पनीले व्यवसायी र इन्जिनियरसँग छलफल गर्ने गरेको उनको भनाइ छ । अधिकारीका अनुनसार रेमण्डले उत्पादन गर्ने कपडाको मूल्य प्रत्येक २ वर्षमा १० प्रतिशतले वृद्धि हुने गर्छ ।

रेमण्डका ग्राहकहरुको प्रकृति अन्य ग्राहकहरुको तुलनामा भिन्न प्रकृतिको रहने गरेको अधिकारी बताउँछन् । ‘हामीसँग कस्तो हुन्छ भने सिधै घरबाट रेमण्डको शो रुम आउँछन्, अनि आफ्नो सामग्री खरिद गरेर घरमा जान्छ’, उनले भने । धेरै ठाउँमा छानेर खरिद गर्ने प्रकृतिका ग्राहकहरु रेमण्डमा नगण्य मात्रामा आउने गरेको उनको अनुभव छ । यदी घुम्दै आएको ग्राहकले पनि एकपटक आफ्नोमा खरिद गर्यो भने त्यो आफ्नो सपको नियमित ग्राहक बन्ने उनी दाबी गर्छन् । उनी भन्छन्, ‘रेमण्डले ग्राहकलाई एकपटक हाम्रो कपडा लगाइदे भन्छ, त्यसपछी ग्राहक आँफै नियमित सपमा आउँछ भन्ने मान्यता राख्छ ।’

भिडियाे हेर्न यहाँ क्लिक गर्नुस् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.