मकै पोलेरै छाक टार्छन् महिला

  २०७९ असोज ६ गते १६:३९     विकासन्युज

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ५८ वर्षीया पार्वती धामी ठेलागाडामा मकै पोलेर बेच्छिन् । साँझबिहानको छाक टार्न झरिमा छाताको ओत लागेर पनि आफ्नो कामलाई निरन्तरता दिँदै आएकी छिन् । वृद्ध अवस्थामा पनि उनको सहारा ठेलागाडा बनेको छ । करिब छ वर्षदेखि मकै पोलेरै साँझबिहानको जोहो गरिरहेको उनले बताइन् ।

‘पानी प¥यो भनेर घरमै बसेँ साँझ भोकै बस्नुपर्छ ।’ उनले भनिन्, ‘मकै बेचेर आएको पैसाले साँझ बिहान खान ठिक्क हुन्छ । यसबाट दैनिक पाँच सय जति आम्दानी हुन्छ ।’ दोधारा चाँदनीबाट प्रतिकेजी ४० रुपैयाँमा मकै खरिद गरेर महेन्द्रनगर बजारमा बेच्ने गरेको धामीले बताइन् । ‘पोलेको मकै एउटा २५ रुपैयाँमा बिक्री गर्छु मेरो पेट पाल्न ठिकै भएको छ ।’ उनले भनिन्,’मकै बेचेर आएको पैसाले चामल खरिद गरेर लग्छु साँझबिहानलाई पुग्छ । दिनमा काम नगरे साँझ चुलोे बाल्नै मुस्किल हुन्छ ।’

विसं २०५८ मा श्रीमान् बेपत्ता भएपछि उनी एकल भइन् । दार्चुलाको मालिकार्जुन–३ निवासी धामी हाल महेन्द्रनगरस्थित कटानमा कोठा भाडामा लिएर बस्दै आएकी छिन् । ‘एउटा छोरी थिइन् छोरीको पनि बिहेपछि श्रीमान्ले अर्को बिहे गरेर छोड्यो ।’ उनले भनिन्–’अहिले छोरीको सहारा म मेरो सहारा छोरी भएका छौँ ।’ धामीकी छोरी लक्ष्मी पनि महेन्द्रनगर बजारमै आइसक्रिम बेच्दै आएकी छिन् ।

‘छोरीको कमाइले कोठाभाडा तिर्न र अरु खर्च चलाउन पुग्छ ,’ उनले भनिन्–’अहिले सबै कुरा महँगो भएको छ साँझबिहानको चुलो बाल्नै मुस्किल छ ।’ छोरी लक्ष्मीले मौसमअनुसारको व्यवसाय गर्ने गरेको बताइन् । ‘जति बेला जे काम पायो त्यही गर्छु काम गरेर खानु छ,’ उनले भनिन्,’दैनिक मजदूरी गरेर खान लाउन ठिक्क भएको छ ।’ सानै उमेरमा बिहे गरेकी लक्ष्मीले श्रीमान्ले दोस्रो बिहे गरेपछि निकै समस्या झेल्नु परेको बताइन् ।

‘अहिले आमासँगै बस्दै आएको छु मेरो सहारा आमा, आमाको सहारा म छु ।’ उनले भनिन्,’सरकारले दिएको एकल भत्ताले राहत भएको छ ।’ जीवनमा अनेक पीडासँग जुध्दै तराई झरेको लक्ष्मीले बताईन् ।

उनी जस्तै पोलेको मकै बेचेर दैनिक जीवनयापन गरिरहेका थुप्रै महिला महेन्द्रनगरमा भेटिन्छन् । भीमदत्त नगरपालिका– १८ का धाना पन्तले पनि पोलेको मकै बेचेर दैनिक गुजारा चलाइरहेका छन् । रोजगारीको अन्य केही उपाय नभएपछि दुबै दम्पतीले मकै बेचेर साँझ बिहानको जोहो गर्दै आएका छन् । ‘अन्य रोजगारी केही छैन पोलेको कमाइ बेचेर जीवनयापन गरिरहेका छाँै ।’ उनले भनिन् ।

‘खेती किसानी गर्न जग्गा छैन अन्य काम गर्न सीप छैन ।’ पन्तले मकै बेचेर दैनिक एक हजारसम्म आम्दानी हुने गरेको बताईन् । ‘बुढाबुढी दुबैको कमाइ दिनको एक हजार ५०० रुपैयाँ जति बचत हुन्छ यसबाट घरखर्च धान्न पुगेको छ ।’ उनले भनिन्–’छोराछारीको स्कुल खर्च पनि यसैबाट चलेको छ ।’ महेन्द्रनगरमा मकै पोलेर मात्रै थुप्रैले जीविकोपार्जन गरिरहेका छन् । मौसमअनुसार बैशाखदेखि असोज महिनासम्म फुटपाथमा बसी मकै पोलेर मनग्य आम्दानी गरिरहेको उनीहरुको भनाइ छ । महेन्द्रनगरमा दोधारा चाँदनीबाट मकै आउने गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.