नेपालमा पेट्रोलका सवारी कहिलेसम्म चलाउन पाइन्छ ? यस्तो भन्छन् अर्थमन्त्री शर्मा

  २०७९ असोज ६ गते १३:३२     विकासन्युज

काठमाडौं । अहिले विद्युतीय गाडीको लहर सुरु भइरहेको बेला सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयूको विषयमा पनि अध्ययन सुरु गरेको छ । अर्थमन्त्रालयले एक कार्यदल नै गठन गरेर नेपालमा कहिलेसम्म पेट्रोलियम पदार्थका सवारी साधन चलाउन पाइने भन्ने विषयमा अध्ययन गर्न लागेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले अहिले विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको र अब सरकारले पनि यही नीतिलाई आत्मसाथ गर्दै अगाडि बढ्ने धारणा राखे । उनका अनुसार विद्युतीय गाडीको प्रयोगसँगै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको प्रयोग पनि न्यूनीकरण गर्दै लैजानु पर्नेछ ।

यस्तै, उनले अब आयातमा गरिएको कडाइको विषयमा पनि नयाँ ढंगले सोच्नु पर्ने बेला आएको बताए । उनले अब निजि क्षेत्रलाई अप्ठ्यारोमा पार्न सरकार नचाहने पनि बताएका छन् । उनले बिद्युत निर्यात गर्ने वस्तु नभएको पनि बताएका छन् । विद्युतलाई उत्पादनमा लगाउनु पर्ने उनको धारणा छ ।

‘अहिले बिश्वमा गर्न अर्थतन्त्र कसरी निर्माण गर्ने बारेमा बिश्वमा बहस भइरहेको छ, सबै देशहरूले त्यो दिशातर्फ जानको लागि योजना बनाइरहेका छन्, ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया उत्पादन गर्ने बहस हामीले गर्दैछौं, नेपालमा कहिलेसम्म पेट्रोलियम गाडी चल्न पाउने बारेमा हामीले अध्ययन गर्दैछौं, त्यसको लागि मन्त्रालयमा कमिटी बनेको छ, हामिले समयमै जानकारी दिनेछौं,’ उनले भने ।

उनका अनुसार अब विस्तारै पेट्रोलियम पदार्थका गाडीको आयात पनि कम गर्ने र प्रयोग पनि कम गर्ने नीति लिइनेछ । त्यसका लागि केही निश्चित समयावधि तोक्ने उनको भनाइ छ । त्यसपछि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन प्रयोग गर्न पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X