दशै‌‌अघि नै सहज बनाइँदै ग्रामीण सडक

  २०७९ असोज ५ गते १३:१०     विकासन्युज

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिने मुख्य सडक र पालिकामुकाम जोड्ने स्थानीय सडकको मर्मतको काम थालिएको जैमिनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेम आचार्यले बताए । ‘दसैँमा नगरवासीलाई सहज सडकमार्फत ओहोरदोहोर गर्ने वातावरण बनाउन नगर प्रमुखकको निर्देशन थियो’, उनले भने, ‘हामीले सबै वडामा काम थालेका छौँ, मजदुर र स्काभेटरको प्रयोग गरेर सडक मर्मतको काम भइरहेको छ ।’

जैमिनीले बागलुङ–कुश्मीशेरा सडकको कुश्मीशेरा सरङ्गे खण्ड मर्मतको काम सकिएको छ । सबै वडामा वडाध्यक्षको सक्रियतामा सडक मर्मतको काम भइरहेको उनले बताए । अर्को बर्खा नलाग्ने बेलासम्मका लागि सडक सहज हुनेगरी मर्मत गरिएको जनाइएको छ ।

मुख्य चाडबाड नजिकै आइरहेका बेला ओहोरदोहोर गर्न सवारीमा यात्रुको चाप बढ्ने र त्यो बेलामा सडकको अवस्था राम्रो नभएमा दुर्घटनाको डर हुने भएकाले मर्मत गर्नुपरेको प्रशासकीय अधिकृत आचार्यले जानकारी दिए । सवारी नै नचल्ने र चले पनि दुर्घटनाको जोखिम बढी हुने भएकाले नगरपालिकाले दसैँअगावै सडकलाई सञ्चालनमा ल्याउन लागिएको बताएको छ ।

बरेङ गाउँपालिकाले पनि दशैँ लक्षित सडक मर्मतको काम थालेको छ । हरेक वर्ष वर्षा सकिएसँगै स्थानीय सडकको मर्मत गर्दै आएको गाउँपालिकाले यस वर्ष पनि मर्मतको काम थालेको हो । ‘खहरे खोलाले खोलका ठाउँमा सवारी चल्नै नसक्ने अवस्था छ, कच्ची सडक भलबाढीले क्षत्विच्छेद बनाएको छ’, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘चाडबाडका बेला नागरिकलाई सहजताका लागि सडक मर्मतको काम थालेका छौँ ।’

काठेखोला गाउँपालिकाले हरेक वडालाई दुई लाख रुपैयाँ बजेट दिएर सडक मर्मत गर्न लगाएको छ । वडाले नै परिचलान गरेर मर्मत भएको सडक संरक्षण हुने भन्दै गाउँपालिकाले अधिकार प्रत्योजन गरेको हो । ‘चाडबाड आए भनेर सडक मर्मतको काम भइरहेको छ, तर वर्षा रोकिएको छैन’, गाउँपालिका अध्यक्ष राजु थापाले भने, ‘दिनभर सडक बनाउने, रातभर पानीले बगाउने भइरहेको छ ।’

बागलुङ नगरपालिकाले बागलुङ बजार क्षेत्रभन्दा बाहिरका वडामा सडक मर्मतको काम थालेको छ । नगरपालिकासँग जोडिएका, अन्तर वडामा विस्तार गरिएका तथा सदरमुकामसँग जोडिएका धेरै सडक कच्ची नै रहेका कारण वर्षाले हरेक वर्ष सडकमा क्षति हुने गरेको छ ।

यस वर्ष नगरपालिकाभित्रका विभिन्न ठाउँका सडकको अवस्था सुधार गर्नुपर्ने भनी नागरिकबाटसमेत माग आएकाले सडकलाई दसैँ अगाडि नै सहज बनाउने तयारीमा आफूहरू रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

बागलुङ नगरपालिका–१० दवल्याङमा रहेको पहिरामा सडक खुलाउने विषयमा समेत नगरपालिका लागिरहेको उपप्रमुख राजु खड्का बताउँछन् । गत वर्ष खसेको पहिरो नरोकिँदा वर्षाभरि नै बागलुङ कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड अवरुद्ध हुने गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.