सोपान फर्मास्युटिकल्सले १४ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल

  २०७९ असोज ४ गते १७:१८     विकासन्युज

काठमाडौं । सोपान फर्मास्युटिकल्सले सर्वसाधारणलाई १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको सेयर गर्ने भएको हो । आईपीओ निष्काशन पश्चा्त कम्पनीको पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको छ । आईपीओ निष्काशनका लागि सोपान फर्मास्युटिकल्स र एनएमबि क्यापिटलबीच सम्झौता भएको छ । सोपाल फर्मास्युटिकल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा सोपानका वित्त प्रमुख रुपेश महतका साथै क्यापिटलका चिफ बिज्नेश अफिसर कमल प्रसाद नेपाल तथा फण्ड म्यानेजमेण्ट प्रमुख आशिष राज पाण्डेको समेत उपस्थिति रहेको थियो । सोपानका प्रमुख कार्यकारी अधिकृतले यस वर्षभित्रमा नै आईपीओ निष्काशन गरिसक्ने बताए ।

ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका ८ मा औषधि उत्पादन गरिरहेको छ । कम्पनीमा प्रतिष्ठित गैर आवासीय नेपाली व्यवसायीहरु, नेपाली सफल व्यापारिक घराना, औषधि, स्वास्थ्य तथा अन्य क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको लगानी रहेको छ । कम्पनीले आईएसओ, विश्व स्वास्थ्य संगठन तथा युरोपियन मापदण्डको गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस अनुसारको अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी आर्थिक वर्ष २०७८/०७९ देखि उच्च गुणस्तरको विभिन्न प्रकारका औषधिहरु उत्पादन गरीरहेको छ ।

कम्पनीले औषधि व्यवस्था विभागमा ११० वटा औषधिहरुको उत्पादन अनुमतिको लागि आवेदन पेश गरेकोमा हालसम्म ६० वटा औषधिहरुको उत्पादन अनुमति प्राप्त गरेको छ । यस्तै, २५ वटा औषधिहरु हाल बजारमा विक्री वितरण भैरहेको छ । त्यसैगरी थप ६० वटा औषधिहरु अनुसन्धान तथा विकासको चरणमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी २ वर्ष भित्र औषधिको संख्या २०० पुर्याउने लक्ष लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

यस उद्योगले एन्टिवायोटिक्स, मुटुरोग, मधुमेह, स्वास प्रस्वास, छालारोग, नशा तथा हाडजोर्नी, मानसिक रोग, पाचन प्रणाली, प्रोस्ट्रेट, प्रतिरक्षा प्रणाली र भिटामिन्ससँग सम्बन्धित औषधिहरु उत्पादन गर्दै आइरहेको छ । साथै आगामी २ वर्ष भित्रमा आइ एण्ड इएर ड्रप्स र सफ्ट जेल क्याप्सुल समेत उत्पादन गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.