स्कुलमा धेरै परीक्षा हटाऔं, शिक्षकहरुको पनि ग्रेडिङ तोकौं

  २०७९ असोज ४ गते १३:०८     विकासन्युज

काठमाडौं । एसईई र कक्षा १२ को नतिजाले नेपालको शिक्षा क्षेत्र पछिल्ला दिनमा थप खस्कँदै गएको देखाएकोले यसको सुधारका निम्ति यथाशिघ्र पहल गर्नुपर्ने शिक्षाविद्हरुले धारणा राखेका छन् ।

शिक्षाविद्हरुका अनुसार विद्यालय तहको शिक्षामा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षकको गुणस्तर, शैक्षिक क्यालेन्डर र परीक्षा प्रणाली लगायत धेरै विषयहरुमा समस्या रहेका छन्, जसलाई जिम्मेवार तहबाट सम्बोधन गर्न आवश्यक रहेको छ ।

ग्रेडिङमाथि प्रश्न

विद्यालय तहको परीक्षामा राष्ट्रिय परीक्षा बोर्डले लागु गरेको ग्रेडिङ प्रणालीमाथि शिक्षा क्षेत्रका विज्ञहरुले फरक–फरक धारणा राखेका छन् । कतिपयले ग्रेडिङ सही नभएको बताएका छन भने कतिपयले सही भएको तर्क गरेका छन् ।

शिक्षाविद् डा। विद्यानाथ कोइरालाले कक्षा १२ को परीक्षाको नतिजाअनुसार नन ग्रेडिङको संख्या ठूलो देखिएकोले सो विषय चूनौतिपूर्ण भएको बताएका थिए । विद्यालय शिक्षा सुधारका लागि शिक्षकहरुलाई ग्रेडिङ गर्नुपर्ने डा. कोइरालाको धारणा छ ।

अर्का शिक्षाविद् मनप्रसाद वाग्लेले विद्यालय तहको परीक्षाको नतिजामा गरिएको ग्रेडिङ उपयुक्त रहेको बताए । विद्यार्थीलाई विद्यार्थीलाई टेकस्टबुक पढाएर ग्रेडिङ गरिएकोले उनीहरुको उनीहरुको क्षमता नाप्ने काम नभएको बताउँछन्, विद्यालय तहको शिक्षामा निश्चित विषयमा कम्पिटेन्स टेस्ट गर्नुपर्ने र सोही आधारमा नतिजाको ग्रेडिङ गर्नुपर्ने वाग्लेको धारणा छ ।

उलेन्स स्कुल ललितपुरका प्रधानाध्यापक मेदिन लामिछानेले राष्ट्रिय परीक्षा बोर्डले कस्ता सामग्रीहरुमा विद्यार्थीमाथि टेस्ट गरेर विद्यार्थीले अहिलेको ग्रेड हासिल गरेको हो भन्ने कुरा नभन्ने गरेको बताए । विद्यार्थीहरुले के कुरा नजानेर उच्च ग्रेड हासिल भएन भन्ने कुरा थाहा पाउन नसकिएको भन्दै उनले अहिलेको ग्रेडको मापदण्डहरु सही नभएको उनको भनाइ छ । विद्यार्थीले कुन विषयमा कति नम्बर ल्यायो भन्ने आधारमा ग्रेड दिने पद्दती लागु गर्नुपर्ने भन्दै उनले विद्यार्थीले साँच्चिकै जानेबुझेको कुरामा मार्किङ गर्ने काम भएको विषयमा उनको प्रश्न उठाए ।

विद्यालय तहमा परीक्षा घटाउनुपर्ने

विद्यालय तहमा प्रत्येक कक्षामा परीक्षा गर्ने तरिका सही नभएको कुरामा धेरै शिक्षाविद्हरुको समान धारणा रहेको छ । विद्यालय क्षेत्र सुधारको विषयमा बोल्दै उनीहरुले सो कुरा बताएका छन् । संख्यात्मक रुपमा भिन्न मत भएता पनि परीक्षा धेरै भएको र यसलाई घटाउनुपर्ने कुरामा उनीहरुको समान मत रहेको छ ।

शिक्षाविद् प्रा।डा। बालकृण लुईंटेलले शिक्षा क्षेत्रलाई सामान्य अवस्थामा सुधार गर्ने की एक्सिलेन्स खोज्ने भन्ने प्रश्न उठाएका छन् । परीक्षालाई जोड दिने हो की सिकाई रु सबै कक्षामा परीक्षा गर्ने प्रणालीप्रति असहमति जनाउँदै उनले आफ्नो विचारमा कक्षा १२ मात्रै परीक्षा भए हुने बताए । विद्यालय तहमा परीक्षा धरैपटक गर्ने कुरा राम्रो नभएको भन्दै प्राडा। लुईंटेलले ‘बाघको अगाडि बाख्रा डराउने’ भन्दै धेरै मुलुकहरुले परीक्षालाई हटाएको बताएका छन् । त्यस्तै, उलेन्स स्कुलका प्रधानाध्यापक मेदिन लामिछानेले कन्सेप्ट बेस अध्यापन पद्दती लागु गर्नुपर्ने र निश्चित कक्षामा मात्रै जाँच लिने व्यवस्था हुनुपर्ने बताएका छन् ।

शिक्षक र विद्यालयलाई जिम्मेवार बनाउनुपर्ने

विद्यालय तहको शिक्षाको सुधारका लागि शिक्षक र विद्यालय जिम्मेवार हुनुपर्ने शिक्षा क्षेत्रका विज्ञहरुको धारणा रहेको छ । विद्यार्थीको नतिजा विद्यालय र शिक्षक जिम्मेवार नहुने बेलासम्म राम्रो हुन नसक्ने उनीहरुको भनाइ छ ।

विद्यालय सुधारका लागि शिक्षकलाई ग्रेडिङ गरेर असक्षक शिक्षकहरुलाई विदाई गर्नुपर्ने शिक्षाविद् डा। विद्यानाथ कोइराला बताउँछन् । शिक्षकहरुलाई अब्बल , दोयम, सिम र चार गरेर ग्रेडिङ गर्नुपर्ने भन्दै उनले अब्बल तहले दोयमलाई सिकाउनुनपर्ने, दोयम तहले सिम तहलाई सिकाउनुपर्ने र चार तहलाई बिदाई गर्नुपर्ने बताए । साथै, उनले पछिल्लो समयमा शिक्षकहरुलाई अपडेट गर्ने कुरामा समस्या भएको बताउँदै शिक्षकहरुलाई अपडेट गर्नको लागि ओरेन्टसन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

हिसानका अध्यक्ष रमेश सिलवालले विद्यार्थीलाई पास हुन प्रतिशत चाहिने तर विद्यालय र शिक्षकलाई नचाहिने कुरामा प्रश्न उठाए । विद्यालयमा राम्रो पढाउनेलाई प्रोत्साहनको व्यवस्था हुनुपर्ने उनको भनाइ छ । शिक्षकको तलबको विषयमा असतुन्ष्टि जनाउँदै सिलवालले राणाको समयमा पनि अरुकोभन्दा शिक्षकको तलब बढी भएको सुनाए ।

तारकेश्वरस्थित साङ्ला बालकुमारी माविका प्रधानाध्यापक डा। टिकाराम भट्टले विद्यालय तहको शिक्षामा पढाउने काम भएको तर सिकाउने काम नभएको बताए । असाध्यै थोरै विद्यालयमा मात्रै कन्सेप्ट पद्दतीमा आधारित रहेर अध्यापन कार्य भएको भन्दै उनले ९८ प्रतिशत शिक्षकहरु तालिमप्राप्त भएतापनि उनीहरुमा पाठयोजना बनाउने, कक्षाकोठाको ह्यान्डल गर्ने र प्रश्नपत्र बनाउने कुरामा क्षमता भएको विषयमा प्रश्न उठाए । शिक्षकहरुलाई कार्यसम्पादन करार अनिवार्य गर्नुपर्ने उनले बताए ।

सिकाइमा सुधारको आवश्यकता

शिक्षाविद् डा। विद्यानाथ कोइरालाले सिकाईको सुधार गर्ने की परीक्षा सुधार गर्ने भन्ने विषय महत्वपूर्ण देखिएको भन्दै उनले कप्टिसनमा आधारित सिकाई प्रणालीको विकास गर्नुपर्ने धारणा राखेका थिए । कप्टिसनमा आधारित सिकाइको विकास गर्दा स्थानीय विषयलाई लिभरेज दिँदै विद्यार्थीलाई निश्चित अभ्यास गर्नैपर्ने जिम्मेवारी दिनुपर्ने डा। कोइरालाको भनाइ छ ।

प्रा।डा। बालकृष्ण लुईंटेलले जनक शिक्षा सामग्री कम्पनीले उत्पादन गरेको पुस्तक पूर्ण रुपमा सही नभएको र अन्य निजी पब्लिकेसनहरुले प्रकाशन गरेको पाठ्यपुस्तकहरु बजारमा बेच्न नै अयोग्य भएको बताए । किताबको गुणस्तरका लागि नयाँ कानून आवश्यक भएको प्रा।डा। लुईंटेलको भनाइ छ । पाठ्यक्रम विकास केन्द्रले पुस्तकको रिभ्यु गर्ने काम छाप लगाउने कुरामा मात्रै सिमित भएको उनले बताए ।

उलेन्स स्कुल ललितपुरका प्रधानाध्यापक मेदि लामिछानेले विद्यालय तहको शिक्षामा सिकाइमा नै समस्या भएको तर उत्पादनमा समस्या देख्ने गरेको बताए । परीक्षकको जिम्मेवारी तोक्ने प्रणाली सही नभएकोले सो विषयमा पनि सुधार गर्नुपर्ने लामिछानेको भनाइ छ । कतिपय मुलुकमा परीक्षकको लागि भिन्नै लाइसेन्सको व्यवस्था हुनेगरेकोमा नेपालमा पनि त्यसको अभ्यास गर्नुपर्ने उनले बताए । समस्या परीक्षकमा पनि हुन सक्ने विषयमा अनुसन्धान नभएको उनी बताउँछन् ।

राष्ट्रिय परीक्षा बोर्डले ‘विद्यालय तहको परीक्षाको नतिजा, वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयमा सोमबार काठमाडौंमा आयोजना गरेको एकदिवसीय गोष्ठीमा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरुले आफ्ना प्रतिक्रिया तथा सुझाव राखेका थिए ।

2 comments on "स्कुलमा धेरै परीक्षा हटाऔं, शिक्षकहरुको पनि ग्रेडिङ तोकौं"

  • Yagya Bohara says:

    टिचर को सिकाउने शैली नै गलत सरकारी इस्कुल तिर आफ्नु डिप्टी पूरा गरेर रामायन पढेजसरी पढछ्न जान्छ्न सहर बजार भन्दा बाहिर को कुरा हो अनि टुसन को नाम मा लुट धन्दा गर्छ्न।मेरो पढने इस्कुल मा यस्तै थियो।

  • Man Prasad Pandey says:

    शिकाइका लागि अंग्रेजी माध्यम बेठीक छ । रं । विद्यालयका संगठन खारेजी र नीजी पाठ्यपुस्तक को अनुगमन तिब्र वनाइ नगर शिक्षा अधिकारी जीम्मेवार हुनुपर्‍यो । र निजी विधालय का पिछलगु हुनुभएन । जनक का पाठ्य पुस्तक पढाइने हुँदैनन नीजी पाढयपुस्तकले पेलेर बच्चा मार्ने ‘ शिक्षकलाई अनावश्यक प्रेसरमा पार्ने । विधालय संगठन हरुले कमीशन का कारण अनावश्यक कितावहरू लादने काम भैराखेको र शिक्षा अधिकारी हरू मुक दर्शक हुँदा शिक्षा क्षेत्र हेड मास्टर हरुको दादागीरी देखाउने ठाउ भएको छ । तहगत अनुगमन लाई जोड दिनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X