टिकट काउन्टरलाई लाग्यो दशैं (फोटोफिचर)

  २०७९ असोज ३ गते १४:३३     रिसव चाैधरी

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा आइतबारदेखि भिडभाड देखिन थालेको छ । केही दिन अघिसम्म खासै भिडभाड नभएको बसपार्कभित्रका टिकट काउन्टरहरुमा आइतबारबाट भने भीडभाड बढेको हो ।

सरकारले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारबाट टिकट बुकिङ खुला गरेपछि नयाँ बसपार्कमा रहेका टिकट काउन्टरमा भीड बढेको हो ।

सरकारले पश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्युठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर धरान विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो ।

पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारी साधनको पनि अग्रिम टिकट बुकिङ चाँडो खुला गरिने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका काठमाडौं प्रमुख रमेश खत्रीले जानकारी दिए । लामो दूरीमा जाने यात्रुका लागि टिकट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म वितरण गर्ने गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताए । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । महाशाखाले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिनेछ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.