बजार अनुगमन गर्न समितिद्वारा अखाद्य वस्तुको मिसावट र कालोबजारी रोक्न सरकारलाई निर्देशन

  २०७९ भदौ ३१ गते १६:२०     विकासन्युज

काठमाडौं । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले अखाद्य वस्तुको मिसावट र कालोबजारी रोक्न सरकारका विभिन्न निकायलाई निर्देशन दिएको छ ।

‘बजार अनुगमन, मूल्यवृद्धि नियन्त्रण, उपभोक्ता हित संरक्षण तथा गुणस्तरीय वस्तुको सहज आपूर्तिका’ सम्बन्धमा सिंहदरबारमा आज बसेको समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा अखाद्य वस्तुको मिसावट र कालोबजारी हुनेतर्फ सजग हुन सरकारलाई आग्रह गरेको छ ।

समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीले बैठकमा अन्तरमन्त्रालय र तीन तहका सरकारको समन्वयमा बजार अनुगमन गरी अहिले भइरहेको मिसावट र कालोबजारी गर्नेलाई कारबाही गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएको बताए । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागलाई समितिमा बोलाएर खाद्यान्न वस्तुमा अखाद्य पदार्थ मिसाउन र कालोबाजारी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको जानकारी दिए ।

उनले एकीकृत अनुगमन टोली बनाई बजार अनुगमन गर्नुपर्नेसमेत बताए । ‘चाडपर्वको समयमा सर्वसाधारणलाई झुक्काउन अखाद्य वस्तु मिसावट र धेरै मूल्यमा वस्तु बिक्री गर्ने गरेका हुन्छन’, उनले भने, ‘अनुगमन गरी बजारलाई नियन्त्रण गर्नुपर्दछ ।’ समितिका सदस्य खिमलाल भट्टराईले खाद्य वस्तुमा कृतिम अभाव खडा गर्ने भएकाले सचेत हुनुपर्ने बताए । उनले चिनी, खसी, बोका, भेडा, च्याङ्ग्राको सहज उपलब्धता हुनुपर्ने भन्दै होटेल रेन्टुराँको पनि नियमित अनुगमन गर्नुपर्ने खाँचो औँल्याए ।

समिति अर्का सदस्य इन्दिरा गौतमले अखाद्य बस्तु बेच्नेलाई हदैसम्मको कारबाही गर्नुपर्छ भने । उनले स्वदेशी केरा र स्याउलाई प्राथमिकतामा राख्नुपर्ने भनाइ राखे । अर्का सदस्य जयन्ती राईले बजारमा अखाद्य वस्तु बेच्ने गरेको पाइएको जनाउँदै अनुगमन हुन नसकेको गुनासो गरे । ‘व्यापारीले मनपरि वस्तुको मूल्य लिएका छन् । सरकारले अनुगमन गर्न सकेको छैन’, उनले भने, ‘अहिले दैनिक र अरु बेला साप्ताहिकरुपमा अनुगमन गर्नुपर्दछ ।’

समितिका अर्का सदस्य रामचन्द्र रायले सरकारले ल्याएको नीति, नियम कार्यान्वयन नगरेको हुनाले बजारमा विचौलिया बढेको बताए । उनले सुपथ मूल्यका पसल सञ्चालन गर्नुभन्द मूल्य नियन्त्रणमा ध्यान दिनुपर्ने भनाइ राखे ।

समितिका सदस्य इन्दु कँडेलले बजार अनुगमन नहुँदा व्यापारीको मनोमानी बढेको बताए । उनले सुपथ मूल्यका पसलमा धनी वर्गको मात्र पहुँच बढेको जनाउँदै नेपाल भारत सीमा क्षेत्रमा अखाद्य वस्तु बढी मिसावट हुने गरेको बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले मन्त्रालयको क्षमताअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाइने जानकारी दिए । उनले वैशाखयता एक हजार चार सय व्यापारी फर्ममा अनुगमन गर्दा ८३ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको बर्ताए ।

उपभोक्त संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले अगामी असोज २ गतेबाट १० सयुक्त अनुगमन टोलीले बजार अनुगमन गर्ने जानकारी दिए । उनले अखाद्य वस्तुको मिसावट र कालोबजारीबारे सर्वसाधारणलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । उनका अनुसार यही भदौ ३० गते पाँच सय ५६ व्यापारी फर्ममा अनुगमन गर्दा एक सय सात व्यापारी फर्मबाट अखाद्य वस्तु र म्याद गुज्रेका सामान बरामद गरी २१ लाख जरिवाना गरिएको थियो ।

नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रले नापतौलका सामग्रीको नियमित अनुगमन गरिरहेको जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.