आईपीओपछि कमाएर ५ अर्ब पुँजी पुर्याउँछौं : नारायण बाबु लोहनी

  २०७९ भदौ २३ गते १४:१८     विकासन्युज

रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनी वित्तीय क्षेत्रमा विगत दुई दशकदेखि नेतृत्वदाही भूमिकामा हुनुहुन्छ । सिभिल इन्जिनियरिङ पास गरेपछि बिजनेश एडमिनिस्ट्रेशनमा मास्टर डिग्री हासिल गर्नुभएको लोहनी राष्ट्रिय स्तरको विकास बैंकको सीईओ हुँदै बीमा कम्पनीको सीईओको भूमिकामा आउनु भएको छ । लोहनी रिलायबल लाइफमा संस्थापक सीईओ हुनुहुन्छ र अहिले दोस्रो कार्यकालको जिम्मेवारी समालिरहनु भएको छ ।

नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णय गरेपछि धेरै बीमा कम्पनीहरुले मर्जको बाटो रोजेका छन् । रिलायबल इन्स्योरेन्स कम्पनीले आफै थप लगानी गर्दै पुँजी वृद्धिको बाटो रोज्यो । प्रवर्द्धकलाई हकप्रद सेयर निष्काशन गरेर कम्पनीले चुक्ता पुँजी २ अर्ब ८० करोड बनाईसकेको छ भने सर्वसाधारणको लागि १ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्दैछ । प्रस्तुत छ : बीमा कम्पनीहरुको पुँजी वृद्धि, व्यवसाय विस्तार, लघुबीमा थपिदा बजारमा पर्ने असरबारे विकासन्युजकर्मी मञ्जरी पौडेलले तयार पारेको अन्तरवार्ता ।


पछिल्लो समय सबैले भन्छन्- ‘बजारमा पैसा छैन ।’ बीमा क्षेत्रमा यसको असर कस्तो छ ?

बजारमा तरलताको अभावले सबै क्षेत्रलाई अफ्ठ्यारो छ । यसमा बीमा व्यवसाय पनि अछुतो रहेको छैन । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट नयाँ कर्जा प्रवाह कम भएको कारणले गर्दा लघुवित्त तथा फाइनान्सहरुलाई जाने ऋण पनि रोकिएको छ । गाउँ गाउँमा पुग्नुपर्ने पैसा पुगेको छैन । जसले गर्दा गाउँतिरको व्यापार पनि कम छ ।

गत आर्थिक वर्षसम्म सबै कम्पनीको बिजनेश बढेको थियो तर चालु आवमा भने केही खस्किएको छ । हामीलाई आशा छ अब पुसदेखि भने हामी पुरानै लयमा फर्किन्छौं ।

अर्को, मुद्रास्फीति दर बढेको कारणले मान्छेहरुको खर्च गर्ने क्षमता घटेको छ । दालभात तरकारी खान, बच्चाबच्ची पढाउने लगायतका आधारभूत विषयमा नै धेरै खर्च हुने भएकाले बीमा गराउने पैसा उहाँहरुसँग नभएको देखिन्छ । यी सबै समस्या देखिनुको एउटै कारण हो, ब्यालेन्स अफ पेमेन्ट नमिल्नु । जब ब्यालेन्स अफ पेमेन्टमा सुधार हुँदै आउँछ, रेमिट्यान्स बढ्छ, निर्यात बढ्छ र आयात हुने सामानको परिणाम र मूल्य दुबै घट्छ तब मात्र बजारमा सुधार आउने देखिन्छ । त्यसपछि बजारमा विस्तारै सुधार हुन्छ भन्नेमा हाम्रो विश्वास छ ।

यसपालिको बजेटले आयकरमा छुट हुने बीमा रकम वृद्धि गरेको छ । यसले जीवन बीमा बजारलाई विस्तार गर्न कत्तिको मद्दत गरेको छ ?

चालु आर्थिक वर्षदेखि लागू हुने गरी ४० हजार रुपैयाँसम्म बीमा शुल्कमा आयकर छुटको व्यवस्था गरिएको छ । यो व्यवस्था राम्रो हो । तर कर तिर्ने कर्मचारीहरु सीमित नै हुन्छन् । त्यो बाहेक हामीले ठूलो ठाउँ अर्थात सर्वसाधारणहरुमा पुग्नुपर्छ । गत आर्थिक वर्षसम्म सबै कम्पनीको बिजनेश बढेको थियो तर चालु आवमा भने केही खस्किएको छ । हामीलाई आशा छ अब पुसदेखि भने हामी पुरानै लयमा फर्किन्छौं ।

के छन् आधारहरु ?

एउटा बाहिरबाट आउने रेमिट्यान्स बढिरहेको छ । अर्को, राष्ट्र बैंकले गरेको कडाईले आयात पनि कम हुँदै गएको छ । विद्युत् पहिला भारतबाट नेपाल ल्याउनु पर्थ्यो भने अहिले नेपालबाट भारतमा जान थालेको छ । पेट्रोल डिजेलको पनि कम खपत हुन थालेको छ । पहिला भारतमा भन्दा नेपालमा तेल सस्तो हुँदा बोडरबाट तेलहरु बाहिरिन्थ्यो भने अहिले त्यस्तो स्थिति छैन । यसले ब्यालेन्स अफ पेमेन्टलाई सुधार गर्छ । योसँगै बैंकहरुमा तरलता बढ्ने अनुमान छ । वित्तीय बजारमा तरलता सहज भएपछि बीमामा पनि सकारात्मक असर पर्ने विश्वास छ । त्यसपछि अर्थतन्त्रसँगै हाम्रो व्यवसाय पनि लयमा फर्किन्छ ।

मुद्दती निक्षेपको व्याजदर बढेको छ । यसले बीमा कम्पनीको नाफा वृद्धि गर्ला नि ?

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपको व्याजदरले बीमा कम्पनीहरुको वित्तीय विवरणमा सकारात्मक असर पर्छ । बीमा कम्पनीहरुको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी हुन्छ । त्यसैले मुद्दतीको बढ्दो व्याजदरले सकारात्मक प्रभाव पार्छ । तर मुद्दती निक्षेपको व्याजदर बढ्दा पनि कम्पनीहरुले व्यापार व्यवसाय बढाउन सकिएन भने त्यसको नकारात्मक असर वित्तीय विवरणमा देखिन्छ । त्यसैले, कम्पनीहरुले मुद्दती निक्षेपको व्याजदरमा भन्दा व्यापार व्यवसायमा नै बढी फोकस गर्नु उपयुक्त हुन्छ ।

मुद्दती निक्षेपको व्याजदरमा बैंकहरुले विभेदकारी नीति अबलम्बन गरेका छन् । व्यक्तिलाईभन्दा संस्थालाई २ प्रतिशत कम व्याज दिने निर्णय गरेका छन् । यसलाई बीमा कम्पनीहरुले कसरी ग्रहण गरिरहेका छन् ?

यो एकदमै गम्भीर विषय हो । मुद्दती निक्षेपको व्याजदरमा व्यक्ति तथा संस्थाबीच भेदभाव देखिएको छ । यो सम्बन्धमा जीवन बीमक संघ लगायत बीमा समितिसँग समेत छलफल भइरहेको छ । बीमा कम्पनीहरुले लगानी गरेको अधिकांश रकम बीमितहरुको हो । जब मुद्दती निक्षेपको व्याजदर कम हुन्छ, त्यसले कम्पनीहरुले बीमितलाई दिने बोनसदर घट्न सक्छ । यसले आमजनमानसहरुमा बीमाप्रति विकर्षण देखिन्छ र बीमा व्यवसायमा नै प्रतिकुल असर पर्न सक्छ ।

बीमा कम्पनीहरुले अधिकतम ३५ वर्षसम्म बीमा पोलिसी जारी गरेका हुन्छन् । त्यबाट आर्जीत बीमा शुल्क रकम लामो समयको डिपोजिट राम्रो व्याजदरमा राख्न सकियो भने यसले सकारात्मक प्रभाव पार्छ । यदि व्यक्तिले बढी पाउने र संस्थाले कम पाउने भयो भने भोलिको दिनमा कम्पनीहरुलाई बीमाको व्यवसाय गर्न अफ्ठ्यारो पर्छ र बैंकलाई पनि व्यवसाय गर्न प्रतिकूल परिस्थिति हुन सक्छ । यसले गर्दा भोलिका दिनमा व्यापार व्यवसायमा असर पर्छ । यसको बारेमा जीवन बीमक संघले बीमा समितिमा चिठ्ठी पठाउँदै छ । यता राष्ट्र बैंकले पनि सर्वसाधारणको डिपोजिटको हित नै हेर्ने हो । त्यसैले राष्ट्र बैंकले यो विषयलाई सकारात्मक रुपमा हेर्छ भन्ने विश्वास छ ।

बीमा गर्दा डबल फिर्ता पनि पाइन्छ’ भनेर अभिकर्ताहरुले बीमितलाई लोभ्याउने अभ्यास छ । तर पछिल्लो समय वाणिज्य बैंकहरुले मुद्दतीमा राख्दा २५ वर्षमा १५ गुणासम्म प्रतिफल दिन योजनाहरु ल्याइरहेका छन् । यसले इन्स्योरेन्समा कत्ति असर गर्छ ?

बैंकको मुद्दती र बीमामा धेरै फरक छ । बैंकमा अहिले नै सम्पूर्ण पैसा राख्नुपर्छ, त्यसको गुणामा ग्राहकले पाउने हो । तर बीमा कम्पनीमा वार्षिक वा त्रैमासिक वा अर्धवार्षिक रुपमा बीमा शुल्क भुक्तानी गर्नुपर्छ, पहिलो । दोश्रो बीमाको सिद्धान्त भनेको जोखिम बहन गर्ने हो, जुन बैंकले गर्दैन, मुद्दती निक्षेपले गर्दैन । बैंकहरुले कुनै कम्पनीसँग टाईअप नै गरेको छ भने पनि त्यत्ति प्रभावकारी हुँदैन ।

बैंकहरुले अहिले ल्याएको मुद्दती योजना र हामी बीमा कम्पनी सेवाको प्रकृति नै फरक छ । हामीले बीमितलाई बचत, सुरक्षा र प्रतिफल सँगसँगै भनेर लाग्छौं, जुन बैंकले दिन सक्दैनन् ।

यसो हेर्दा के हो-के हो ? जस्तो हुन्छ । तर बीमाको महत्व बीमासँग नै छ । बैंकमा अहिले पैसा राखेर सीमित अवधिपछि मात्रै रिटर्न लिन सकिन्छ भने बीमा कम्पनीले वर्षैपिच्छे रिटर्न दिइरहेको हुन्छ, त्यसबीचमा जोखिम बहन पनि गरिरहेको हुन्छ र सीमित अवधि सकिएपछि पनि आएको बोनससमेत जोडेर रिटर्न दिन्छौं । त्यसैले बैंकहरुले अहिले ल्याएको मुद्दती योजना र हामी बीमा कम्पनी सेवाको प्रकृति नै फरक छ । हामीले बीमितलाई बचत, सुरक्षा र प्रतिफल सँगसँगै भनेर लग्छौं, जुन बैंकले दिन सक्दैनन् ।

पक्कै पनि बैंकहरुले ल्याएका चक्रबर्ती व्याज मुद्दती योजनाले केही चासो सिर्जना गरेको छ । सत्यतथ्य बुझिसकेपछि बीमाको मान्छे बीमामै आउँछ र मुद्दतीको मान्छे मुद्दतीमै जान्छ । २०/२५ वर्षको चक्रबर्ती मुद्दतीमा कति मान्छेले पैसा लगाउँछन् भन्ने प्रश्न पनि छ ?

तर यस्ता योजनाले केही समयनै भएपनि बजारमा उतारचढाव त ल्याउने भयो नि ?

उतारचढाव भन्दा पनि बचतका पनि १०/१५ गुणा प्रतिफलका योजना बन्न सक्दोरहेछ भन्ने देखियो । यो धेरै नयाँ कुरा होइन । यो सिम्पल कम्पाउडिङ्ग इन्ट्रेस्टरेटका आधारमा भएको हो । इन्स्योरेन्सले गर्ने दायराभित्र हामीले गरेका छौं भने बैंकहरुले आफ्नो दायरा भित्र काम गरेका छन् । बैंकहरुको यस्तो योजना लामो समयसम्म चल्दैन । तरलता सहज भएपछि उच्च लागतको योजना उनीहरुले बन्द गर्नेछन् । कष्ट अफ फण्ड बढेपछि बैंकहरुले पनि यो पुनर्विचार गर्नेछन् । अहिले तरलताको संकटको अवस्थामा यस्ता योजनाबाट पैसा आउँछ की भन्ने बैंकहरुलाई लागेको होला । तर हामी बीमा कम्पनीले पनि यसमा यस्तो यस्तो हुन्छ भनेर बुझाउनको लागि थप मेहेनत गर्नुपर्ने हुन्छ ।

बैंकहरुको यस्ता योजना आइसकेपछि सहकारीमा डिपोजिट गर्नेहरु बैंकमा आकर्षित भएको पाइरहेका छौं । त्यस्तै तपाईंहरुकोमा बीमा गरेकाले सरेन्डर गर्छु र बैंकमा पैसा राख्छु भन्ने किसिमको परिवर्तन आएको छ वा छैन ?

रिलायबलमा यस्तो केस आएको छैन । यता बीमा क्षेत्रको तथ्यांक पनि हामीले विश्लेषण गर्न पाएका छैनौं । समग्रमा हेर्दा बीमाबाट बैंकमा गएको केस हामीले फेला पाएका छैनौं ।

पछिल्लो समय बीमा कम्पनीहरुको व्यवसाय घट्नुमा कतै यस्ता फेनामेनाहरुले काम गरिरहेका त छैनन् ?

बजारमा तरलता प्रयाप्त नभएपछि डाउनवार्ड हुनु स्वभाविक हो । बीमा आम मान्छेको पहिलो प्राथमिकतामा नपर्नु एउटा कारण हो । पहिला, खान लाउन पर्यो, बाल बच्चा पढाउँनै पर्यो । त्यसपछि बल्ल बीमा आउँछ ।

रिलायबलमा ठूलो बीमा गर्ने अधिकांश मान्छेहरु एकभन्दा धेरै व्यापार व्यवसाय गर्नेहरु हुनुहुन्छ । तरलताको अभावले गर्दा उहाँहरुले पनि पहिलो प्राथमिकता व्यापार व्यवसायमा फोकस गर्नुपर्ने र आफूले लिएको व्याजहरु तिर्नुपर्ने हुनसक्छ ।

पछिल्ला तथ्यांकलाई केलाउने हो भने, जब नयाँ कम्पनीको प्रवेश भएको छ, त्यत्ति बेला बजारको विस्तार भएको पाइएको छ । अब आउने लघुबीमा कम्पनीले पनि बजार विस्तार नै गर्छ भन्नेमा हाम्रो विश्वास छ ।

पछिल्ला वर्षमा व्यवसायीहरुले करोडौंको बीमा पोलिसीहरु खरिद गरेको समाचार पनि आईरहेका छन् । रिलायबलमा यस्ता किसिमका पोलिसीहरुको कारोबार कत्तिको छ ?

भइरहेको छ । ठूलो र सानो दुबै खालको बीमा भइरहेको छ । तर औषतमा सानो खालका अर्थात १० लाख रुपैयाँसम्मका बीमा पोलिसीहरु बिक्री भइरहेका छन् ।

बीमा समितिले लघुबीमा कम्पनी खोल्ने बाटो खुला गरिसकेको छ । समग्रमा बीमा बजारमा यसको प्रभाव कस्तो पर्छ ?

अहिले लघुबीमा दुर दराजमा जति हुनुपर्थ्यो, त्यत्ति भएको छैन । यसमा दुविधा नै छैन । यो अवस्थामा नयाँ विशेष कम्पनी आएपछि त्यसमा फोकस हुनु बीमा बजारलाई नै राम्रो हुन्छ । भोलिका दिनमा लघुबीमा गर्नेले ठूलो बीमा पनि गर्न सक्छन् । र, यसले बीमा सचेतना बढाउन पनि सहयोग गर्छ । त्यसैले यो आएपछि बीमा बजारलाई राम्रो गर्छ भन्ने विश्वास छ । पछिल्ला तथ्यांकलाई केलाउने हो भने, जब नयाँ कम्पनीको प्रवेश भएको छ, त्यत्ति बेला बजारको विस्तार भएको पाइएको छ । अब आउने लघुबीमा कम्पनीले पनि बजार विस्तार नै गर्छ भन्नेमा हाम्रो विश्वास छ ।

हिजोको दिनमा थोरै बीमा कम्पनी हुँदा पनि चलेकै थियो । त्यो बेलामा यतिका कम्पनीको प्रवेश भएको थिएन । त्यसैले जति नयाँ कम्पनी आउँछन्, उनीहरु नयाँ सोच, नयाँ प्रविधि, नयाँ दृष्किोण लिएर आउँछन् । हामीले पनि सेवा सुविधाको हिसावले प्रतिस्पर्धाको रुपमा अगाडि बढ्नु पर्ला । दुरदराज जहाँ बीमा पुगेको छैन, त्यहाँ बढी फोकस होला । यसको सकारात्मक प्रभाव अहिले भइरहेका बीमा कम्पनीलाई पनि पर्छ । त्यसैले पनि हामी सकारात्मक छौं ।

पुँजी वृद्धिमा कम्पनी कहाँसम्म पुग्यो ? खासगरी संस्थापकबाट लगानी थप भइसक्यो कि हुने क्रम जारी छ ?

कम्पनीको चुक्ता पुँजी वृद्धिको लागि संस्थापकहरुले शतप्रतिशत पुँजी थपिसक्नु भएको छ । १ अर्ब ४० करोड रुपैयाँ भएको हाम्रो पुँजी हाल २ अर्ब ८० करोड भइसकेको छ । अब हामी सर्वसाधारणमा छिट्टै जाने तयारीमा छौं । एक अर्ब २० करोड रुपैयाँ बराबरको पुँजी आईपीओबाट थप्छौं । त्यसपछि आफ्नै कमाईबाट ५ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउँछौं ।

अन्त्यमा, चालु आवमा रिलायबल लाइफको प्राथमिकतामा के के छन् ?

हामीहरुको योजनाअनुसार यो वर्ष डिजिटलमा बढी फोकस हुन्छौं । त्यस्तै, हरेक तहतप्कालाई हुने खालका नयाँ नयाँ प्रडक्टहरु ल्याउँछौं । अभिकर्ता तथा शाखा मार्फत दुरदराजमा नेटवर्क बढाउनतर्फ लाग्छौं । गत वर्षहरुभन्दा बीमितलाई दिने बोनसदर बढेर आएको छ, त्यसमा थप फोकस गर्छौं । त्यस्तै, लगानी विस्तारमा जोड दिनेसँगै कर्मचारी र अभिकर्ताको क्षमता अभिवृद्धिमा कम्पनी लागि पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.