विकासन्युजले आयोजना गरेको फुटसल प्रतियोगिता सम्पन्न, हिमालयन बैंककी अधिकारी बनिन् उत्कृष्ट गोलकर्ता

  २०७९ भदौ ११ गते १२:१६     विकासन्युज

काठमाडाैं । विकासन्युज डटकमले आयोजना गरेको मैत्रिपूर्ण महिला फुटसल प्रतियोगिता सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुक्रबार आयोजित मैत्रिपूर्ण खेल भव्यताका साथ सम्पन्न भएको हो ।

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमार खत्री, एनएलजी इन्स्योरेन्सका डेपुटी सीईओ मनोज श्रेष्ठ, नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल, काठमाडौं महानगरपालिका वडा न. २६ का अध्यक्ष ख्यामराज तिवारी, लैनचौर क्लबका अध्यक्ष रामबहादुर रजक लगायत अतिथिहरुको सहभागिता रहेको थियो ।

बैंकर्स र बीमकबीच भएको खेलमा बैंकर्सले ५ गोेल गर्न सफल भएको छ भने बीमकले आफुलाई शुन्यमा चित्त बुझाएको छ । ४५ मिनेटको खेलमा हिमालयन बैंककी अनु अधिकारीले ४ गोल हानेर उत्कृष्ट गोलकर्ता बनेकी छिन् । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पनि पाएकी छिन् । एनएलजी इन्स्योरेन्सका डेपुटी सीईओ श्रेष्ठले उनलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।

कार्यक्रममा बैंकर्स समूहबाट १४ जना महिला खेलाडीको सहभागिता रहेको थियो भने बीमक समूहबाट १३ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि डा. ढुङ्गानाले खेलाडीहरुलाई मायाको चिनो वितरण गर्दै तीजको अवसरमा भएको फुटसल प्रतियोगिताले एउटा फरकपन झल्काएको धारणा राखिन् । उनले पछिल्लो समय तीजको नाममा अनेक विकृति हुने गरेको बताउँदै उनले यस्ता खालका सिर्जनात्मक खेल तथा कार्यक्रमहरुले महिलाहरुलाई थप अगाडि बढ्न उर्जा प्रदान गर्ने बताइन् ।

‘सञ्चार माध्यमले बैंकर्स र बीमकबीच गरेको खेलको सह्राना गर्नै पर्छ, तीजको अवसरमा नाच गानमै सीमित हुने भएपनि विकासन्युजले आयोजना गरेको यस कार्यक्रमले फरकपनको सन्देश दिएको छ, महिलाहरुले कामसँगै खेलकुदलाई पनि विशेष ध्यान दिनु पर्छ, यो कार्यक्रमले तीजलाई नाचगानमा मात्रै सीमित नपारेर सिर्जनात्मक ढंगले मनाउन पनि सकिन्छ भन्ने सन्देश पनि प्रवाह गरेको छ,’  कार्यक्रममा बोल्दै उनले भनिन् । साथै, उनले आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्नका लागि आयोजकलाई आग्रह गरिन् ।

यस्तै, कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पनि विकासन्युज डटकमले मैत्रिपूर्ण फुटसल आयोजना गरेकोमा आफु धेरै हर्षित भएको धारणा राखे ।

‘तिजको सन्दर्भमा धेरै मनोरञ्जनात्मक गतिविधि भइरहेका छन्, फुटसल खेल्दा महिलाहरुलाई एक किसिमको रिफ्रेसमेन्ट हुन्छ,आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रम आवश्यक छन्,’ उनले भने । उनले अन्य क्षेत्रले पनि यस्ता खालका कार्यक्रम आयोजना गर्न आवश्यक रहेको धारणा राखे ।

कार्यक्रमका सभापति तथा विकास मिडिया प्रा.लिका अध्यक्ष रामकृष्ण पौडेलले सञ्चार माध्यमको क्षेत्रबाट तीजमा यस्ता कार्यक्रम पनि आयोजना गर्नु पर्छ भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिताको आयोजना गरेको धारणा राखे । उनले तीज नाचगानमै सीमित भएकोले तीजको अवसरमा वा अन्य पर्वहरुमा पनि यस्ता किसिमका खेलकुदको पनि आयोजना गरेर मनोरञ्जन प्रदान गर्न सकिने धारणा राखे ।

‘सञ्चार माध्यमको काम सूचना तथा समाचार सम्प्रेषणसँगै समाजमा असल संस्कृति तथा अभ्यासको थालनी र सुरुवात गर्नु पनि हो, हिजोका दिनमा तीजमा नाचगानमै सीमित हुन्थे, यस्ता खालका पर्वहरुमा कामको बोझ पनि हुँदैन, यस्ता प्रतियोगिताले स्वास्थ्यलाई पनि राम्रो, रिफ्रेसमेन्ट पनि हुने र एउटा अभ्यासको थालनी पनि गर्न सकिने उद्देश्यले हामीले यो प्रतियोगिताको आयोजना गर्यौं, आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमको आवश्यकता छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.