नेप्सेमा हरियाली छाउँदा ४ कम्पनीमा लाग्यो सर्किट, हाइड्रोमा झुम्मिए लगानीकर्ता

  २०७९ भदौ २ गते १५:४३     विकासन्युज

काठमाडौं । पछिल्लो तीन दिन लगातार राताम्मे देखिएको बजारमा बिहीबार हरियाली छाएको छ । नेप्से परिसूचक र कारोबार रकम दुबै बढेकोले सेयर बजार हरियाली देखिएको हो ।

सेयर मूल्य मापक नेप्से परिसूचक २७.५६ अंकले बढेर २०६८.२६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३५ प्रतिशतले बढी हो ।

त्यस्तै, सेयर कारोबार रकम पनि ६५ करोड रुपैयाँले बढेको छ । अघिल्लो दिन १ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको कारोबार बिहीबार २ अर्ब ५ करोड रुपैयाँ बढीको किनबेच भएको छ । दिनभरको बजारमा २२० वटा स्क्रिप्सको ५१ लाख १ हजार २९० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

जसमध्ये रिडी पावरको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका छन् । बजारमा कम्पनीको १० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य भने १२ रुपैयाँले घटेर प्रतिकित्ता ६३२ रुपैयाँमा झरेको छ । त्यसपछि बढी कारोबार गर्नेको दोश्रोमा अपि पावर कम्पनी छ । जसको ७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

बजार बढेसँगै चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । मन्दाकिनी हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर क्रमशः २८७.१० र ३९२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३२५.४० रुपैयाँ र अपर हेवा हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २२६.४० रुपैयाँ पुगेको छ ।

बजारमा प्रतिशतको आधारमा बढी घट्नेमा एनआइबीएल प्रगति फण्ड रहेको छ । जसको इकाई मूल्य ३.८० प्रतिशतले घटेर प्रतिइकाई ९.१२ रुपैयाँमा झरेको छ ।

बिहीबार कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये विकास बैंक समूह भने सबैभन्दा बढी ११७ अंकले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.