संसदमा उठ्यो काठमाडौंको फोहोरको विषय, कसले के भने ?

  २०७९ भदौ २ गते १३:१६     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको शून्य समयमा सांसदहरुले काठमाडौंमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अमृता थापा मगरले काठमाडौंमा दैनिक फोहोर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएको प्रति सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले काठमाडौंसहित देशभरका सहरमा फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिँदै फोहोरका कारण नेपालका मुख्य सहर कुरुप बन्दै गएकोप्रति सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद कलिना खातुनले फोहोर व्यवस्थापन वर्गीकरण गरेर तीनै तहका सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापन गर्न वडा, नगर, प्रदेश र सङ्घ सबै जुट्नुपर्नेमा जोड दिए ।

सांसद अञ्जना विसङ्खेले नागरिकतासम्बन्धी विधेयक सबैले छलफल गरेर आवश्यक संशोधन गरी सम्मानजनक तरिकाले पठाउनुपर्ने बताए । सांसद कृष्णगोपाल श्रेष्ठले नागरिकता विधेयकमा गम्भीर त्रुटी देखिएपछि राष्ट्रपतिले संसद्समक्ष फिर्ता पठाएपछि त्यसका विषयमा गम्भीर छलफल गर्नुपर्ने सुझाव दिए ।

सांसद खेमप्रसाद लोहनीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउनु संवैधानिक अधिकार भएको र विवाह गर्ना साथ नागरिकता दिने व्यवस्था राख्न नहुने बताए । सांसद गणेश ठगुन्नाले दार्चुलामा बुधबार भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद जयकुमार राईले देशभरका सडक, पुल समयमै ठेकेदारले निर्माण सम्पन्न नगर्दा यात्रुले सास्ती भोग्नुपरेको हुँदा सरकारले त्यस्ता ठेकेदारलाई समयमै काम गर्न लगाउन ध्यानाकर्षण गराए । सांसद झपटबहादुर रावलले कैलालीमा डेङ्गु फैलिएर समस्या देखिएकाले तत्काल रोकथामका लागि सरकारसँग आग्रह गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.