हिमालयन डिस्टिलरीमा एक लाख लगानी गर्नेले कमाए डेढ करोड, यस्तो छ लाभांश इतिहास

  २०७९ भदौ २ गते १२:३१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये सेयर लगानीकर्ताको पहिलो रोजाइमा पर्ने कम्पनीहरुमा हिमालयन डिस्टिलरी पनि पर्दछ । कम्पनीले सेयरधनीहरुलाई आकर्षक प्रतिफल वितरण गर्दै आएपछि लगानीकर्ताको रोजाइमा पर्न थालेको हो ।

हिमालयन डिस्टीलरी कम्पनी सन् २००७ जुलाइ २९ तारिखका दिन नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको संस्थापक सेयर स्वामित्व ५८ प्रतिशत अर्थात् ८८ लाख ७ हजार १७९ कित्ता सेयर र पब्लिक सेयर स्वामित्व ४२ प्रतिशत अर्थात् ६३ लाख ७७ हजार ६१२ कित्ता सेयर गरी कूल १ करोड ५१ लाख ८४ हजार ७९१ कित्ता सेयर नेप्सेमा सूचीकृत छन् ।

बुधबार नेप्सेमा कम्पनीको ३ हजार ५४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस आधारमा कम्पनीको बजार पूँजीकरण ५३ अर्ब ७५ करोड ४१ लाख ६० हजार १४० रुपैयाँ रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७०/०७१ मा १०.५२ प्रतिशत, आर्थिक वर्ष २०७१/०७२ र आर्थिक वर्ष २०७२/०७३ मा २० प्रतिशत, आर्थिक वर्ष २०७३/०७४ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/०७५ मा ६८.४२ प्रतिशत र २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले निरन्तर नगद लाभांश वितरण गर्दै आएकोमा आर्थिक वर्ष २०७५/०७६ मा ५० प्रतिशत बोनस सेयर र ५२.६३ प्रतिशत नगद गरी कूल १०२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद गरी कूल १ सय प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद गरी कूल १ सय प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस कम्पनीमा २०७० सालमा एक सय रुपैयाँमा एक हजार कित्ता सेयर खरिद गरेर एक लाख लगानी गर्ने सेयरधीले ९ वर्षको अवधिमा साढे एक करोड रुपैयाँ प्रतिफल पाएको देखिन्छ ।

२०७० मा कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक सय रुपैयाँको हाराहारीमा थियो । सो अवधिमा एक सय रुपैयाँमा एक हजार कित्ता खरिद गरेको लगानीकर्ताले त्यसको एक वर्षपछि अर्थात आर्थिक वर्ष २०७०/७१ मा १०.५२ प्रतिशत नगद लाभांश पाएको देखिन्छ । यस हिसाबले सो सेयरधनीले कुल साढे १० हजार रुपैयाँ नगद लाभांश पाएको देखिन्छ ।

यसरी आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७७/७८ सम्ममा सो सेयरधनीले १ हजार सेयर खरिदबाट कुल १ लाख २ लाख ८८ हजार ६५० रुपैयाँ नगद लाभांशबाट पाएको देखिन्छ ।

यस्तै, कम्पनीले आर्थिक वर्ष २०७५/७६ बाट बोनस सेयर पाएको देखिन्छ । कम्पनीले तीन आर्थिक वर्षमा कुल १७५ प्रतिशत बोनस सेयर वितरण गर्दा सो सेयरधनीको कुल ३ हजार ९ सय सय ३७ कित्ता सेयर पुगेको देखिन्छ ।

यस हिसाबले सेयरधनीले नौ वर्ष अगाडि एक सय रुपैयाँमा एक हजार सेयर खरिद गर्दा कुल १ करोड ३९ लाख ३८ हजार ७५० रुपैयाँ प्रतिफल पाएको तथ्यांकले देखाउँछ । सेयरधनीले बोनस र नगद लाभांशबाट भने कुल १ करोड ४२ लाख २७ हजार ४ सय रुपैयाँ प्रतिफल पाएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.