उल्लासमय कर्मचारीको प्रतिक्षामा जब मन्त्री भुसालले पानी खन्याइन्

  २०७९ भदौ १ गते १९:०९     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वाषिकोत्सव उल्लासमय रुपमा सम्पन्न भएको छ । बुधबार काठमाडौं, कमलादीमा एक समारोहको बीचमा प्राधिकरणको ३७ औं वार्षिकोत्सव उल्लासमय ढंगले सम्पन्न भएको हो ।

लामो समयदेखि निरन्तर रुपमा घाटामा रहेको प्राधिकरणले पछिल्लो केही वर्ष यता निरन्तर रुपमा नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष ०७७/०७८ मा ६ अर्ब २७ करोड नाफा आर्जन गरेको प्राधिकरणले गत आवमा नाफामा १ सय ५७ दशमलब ७३ प्रतिशतले वृद्धि गरी १६ अर्ब १६ करोड ५० लाख पुर्याउन सफल भएको छ ।
प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्त्वयपछि प्रस्तुत गरिएको डिजिटल प्रस्तुतीकरणमा प्राधिकरणको स्थापनादेखि वर्तमानसम्मको अवस्थालाई संक्षेपमा प्रस्तुत गरिएको थियो । उक्त विगतमा लोडसेडिङको तालिका निर्माण गर्न व्यस्त हुने प्राधिकरणका कर्मचारी अहिले आएर विद्युतको निर्यात गर्ने तालिका बनाउन व्यस्त रहेको प्रस्तुती गर्दा सम्पूर्ण कर्मचारीहरु उत्साहित भएर ताली बजाउने काम गरेका थिए ।

मनग्गे नाफा आर्जन गरिसकेपछि प्राधिकरण अहिले कसैको जमानीबिना नै ऋण लिन र लगानी गर्न सक्ने अवस्थामा पुगेको छ । अहिलेसम्म ४२ वटा जिल्लामा पूर्ण विद्युतीकरण गरिएको र बाँकी जिल्लामा छिटै नै पूर्ण विद्युतीकरण गर्ने योजनामा प्राधिकरण जुटेको बताईरहँदा हल उल्लासमय बनेको थियो ।

अब प्राधिकरणले विद्युत मात्रै निर्यात गर्ने नभएर हरित हाइड्रोजन उद्योग निर्माण गरेर अन्तर्राष्ट्रिय जगतमा बिक्री कार्य जुट्ने तयारी गरेको रिपोर्टमा बताइएको थियो ।
वार्षिकोत्सवमा टे«ेड युनियनका विभिन्न नेताले मन्तव्य राख्दै प्राधिकरणले मनग्य नाफा आर्जन गरेकाले कर्मचारीको सेवा सुविधा वृद्धि गर्नुपर्ने माग राखेका थिए । साथै उनीहरुले प्राधिकरणको नाफाको १० प्रतिशत नाफा कर्मचारीहरुलाई बोनसको रुपमा वितरण गर्नुपर्ने माग राखेका थिए । साथै उनीहरुले कर्मचारीको बीमा रकमको वृद्धि, आवासको व्यवस्था लगायतको माग गरेका थिए ।

ट्रेड युनियनका नेताहरुले भाषण गर्दैगर्दा पुरै हलमा बसेका कर्मचारीहरुले उत्साह हुँदै धेरैपटक ताली बजाए । ट्रेड युनियनका नेताहरुको मन्तव्य पश्चात बोलेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा सानो इन्टेन्सिभको निर्णय गर्दा अख्तियार र संसदबाट पत्र आउने स्थितिबाट प्राधिकरण आँफै निर्णय गर्नसक्ने अवस्थामा आइपुगेको बताएका थिए । विगत ५ वर्षदेखि यता विद्युत खपतको दरमा ३ गुणा वृद्धि भएको र आगामी दिनमा पनि प्राधिकरणको नाफाको ग्राफ थप उकालो लाग्ने उनको भनाई थियो ।

निर्देशक घिसिङले कर्मचारीहरुले राखेको मागलाई मन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताउँदै भनाई टुंग्याउँदा हलमा प्रतिक्षाको ताली बजेको थियो ।

केही व्यक्तिहरुको भनाईपछि कार्यक्रमकी प्रमुख अतिथि तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको मन्तव्यलाई कर्मचारीहरुलाई प्रतिक्षा गरिरहेका थिए । तर, मन्त्री भुसालले प्राधिकरणलाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने कर्मचारी लगायतका क्षेत्रलाई धन्यवाद दिँदै कर्मचारीको बोनस माग सान्दर्भिक नभएको बताइन् । ‘नेपाली दाजुभाई अरबको घाममा पसिना बगाएर काम गरिरहेका छन्, भर्खरै सरकारले १५ प्रतिशत तलबको वृद्धि गरेको छ, त्यसमाथि तपाईंहरुले बोनस माग्ने ? सँधै कर्मचारी भन्दा पनि देशको नागरिक भएर सोँच्नुस’, मन्त्री भुसालले भनीन् ।

मन्त्री भुसालको भनाइले कार्यक्रमको शुरुदेखी उल्लासमय हुँदै आएका कर्मचारीहरुको खुसीमा पानी हाले जस्तो भयो । तर, केही कर्मचारीहरुले भने ताली बजाए ।
कार्यक्रमबाट निस्कँदै गर्दा कर्मचारीहरुले एक आपसमा अब राष्ट्रको लागि काम गर्ने भनेर हाँस्दै थिए भने केही कर्मचारीले मन्त्रीको भनाई वास्तवमा ठिक हो भनेर पनि समर्थन गर्दै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.