बैंकका मुद्दति योजना : निक्षेपकर्ताको रकम २० वर्षपछि बैंकिङ कोषमा त जाँदैन ?

  २०७९ साउन ३१ गते १३:३७     सीआर भण्डारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तान्नका लागि विभिन्न बचत योजनाहरू सार्वजनिक गरिरहेका छन् । यी योजनाहरू न्यूनतम पाँच वर्षदेखि अधिकतम् २५ वर्षसम्मका छन् । बैंकिङ प्रणालीमा तरलताको अभाव भइरहेको बेला बैंक तथा वित्तीय संस्थाले यस्ता किसिमका योजनाहरू सार्वजनिक गरिरहेका हुन् ।

अधिकांश बैंक तथा वित्तीय संस्थाले ग्राहकसँगै निक्षेप तान्नको लागि आकर्षक योजनाहरू ल्याएपनि दीर्घकालमा भने त्यसको प्रयोग र प्रतिफलको विषयमा भने धेरैले चासो देखाएका छन् ।

कुमारी बैंकले व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा १० गुणासम्मको प्रतिफल पाउन २१.६३ वर्ष र संस्थागत निक्षेपकर्ताले साँवा रकममा १० गुणा प्रतिफल पाउन २५.४० वर्ष अवधि तोकिएको योजना ल्याएको छ । उदाहरणका लागि कुमारी बैंकको यो योजना अन्तर्गत खाता खोलेर १० लाख रुपैयाँ निक्षेप राखेमा २१ वर्ष ६३ दिनमा सो खातावालले १ करोड रुपैयाँ पाउँछ ।

यस्तै, प्राइम कमर्सियल बैंकले ‘प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता’ अन्तर्गत २६ वर्ष ६ महिना ३ दिनमा जम्मा गरेको रकमको १० गुणा बढी रकम पाउने योजना ल्याएको छ । यो योजना पनि कुमारीको जस्तै हो । अर्थात, एक लाख रुपैयाँ जम्मा गर्ने खातावालले २६ वर्ष ६ महिना ३ दिनपछि १० लाख रुपैयाँ बैंकबाट फिर्ता पाउँछ ।

एनआईसी एशिया बैंकले पनि यस्तै किसिमको योजना सार्वजनिक गरेको छ । बैंकले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्मका मुद्दती खातामा रकम जम्मा गरे २ गुणादेखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउन सक्ने योजना ल्याएको छ । यी बैंकहरुसँगै अन्य बैंकहरुले पनि छोटोदेखि लामो अवधिसम्मका मुद्दति योजना सार्वजनिक गरेका छन् ।

२० वर्षभन्दा लामो समयसम्मका लागि मुद्दति योजना ल्याइरहँदा धेरैले यसको प्रतिफल, प्रयोग र नीति नियमसँग पनि बाँझिएको धारणा राखिरहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११२ को उपदफा १ ले बैंक वा वित्तीय संस्थाले १० वर्षदेखि चल्ती नभएको वा यस ऐन बमोजिम हक दाबी नपरेको निक्षेप खाताहरुको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैंकमा पठाउनु पर्ने व्यवस्था गरेको छ ।

सोही दफाको उपदफा ३ ले पनि २० वर्षसम्म लिन बुझ्न नआएमा उक्त रकम राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गरी बैंकिङ्ग विकासमा प्रयोग गर्नु पर्ने व्यवस्था छ । बैंकहरुले ल्याइरहेका यी मुद्दति निक्षेप योजनामा पनि खातावालाले पैसा राखेर २० वर्षसम्म पनि सो खातालाई प्रयोग नगरेमा सो रकम के हुने भन्ने चासो धेरैको छ ।

बैंकहरुले आकर्षक योजना ल्याएपनि यस विषयमा भने ग्राहकलाई स्पष्ट पार्न सकेका छैनन् । तर, कुमारी बैंकका चिफ मार्केटिङ नबिनमुनी बज्राचार्य भने बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को व्यवस्थाले मुद्दति निक्षेप योजनालाई कुनै प्रभाव नपार्ने बताउँछन् ।

उनले यो ऐन बचत खातामा मात्रै लागू हुने बताए । उनले तोकिएको अवधिमा राखिएको रकम बचत खातामा जम्मा गर्ने र त्यसपछि नियम अनुसार लिन नआएमा सो व्यवस्था आकर्षित हुने धारणा राखे ।

‘यदि कुनै बैंकको २१ वर्षको अवधिसम्म खातामा रकम राखिन्छ भने त्यसको अवधि त्यही समयमा समाप्त हुन्छ, त्यसपछि त्यो रकम बचत खातामा जम्मा हुन्छ, बचत खातामा राखिएको १० वर्षसम्म सो रकम लिन कोही नआएमा बैंकिङ्ग कोषमा जम्मा हुन्छ,’ उनले भने ।

बज्राचार्यका अनुसार कुनै मुद्दति निक्षेपमा ५ वर्षसम्मका लागि रकम राखिएको छ भने ५ वर्षपछि बचत खातामा जान्छ । यदि १० वर्षसम्म सो रकम लिन आएन भने त्यो बेला सो दफा आकर्षित हुन्छ । किनभने ५ वर्षमा उसको सम्झौता सकिएको हुन्छ ।

‘बैंकका खाताहरु २ किसिमका हुन्छन्, सम्म र सक्रिय (साधारण बचत खाता र फिक्स्ड खाता) । मुद्दती खातामा सम्झौता हुन्छ । तर, बचत खातामा सम्झौता भएको हुँदैन, बचत खाता सक्रिय भइरहनु पर्ने भएकाले यस्ता खाता लामो समयसम्म सक्रिय नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११२ मा भएको व्यवस्था लागू हुन्छ,’ उनले भने ।

यस्तै, राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरभिजन विभागका प्रमुख देव कुमार ढकाल यस्ता योजनाहरु कुनैपनि नियमसँग नबाझिने बताउँछन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा लिन नआएको अवस्थामा भनिएको र यस्ता योजनामा त्यो अवधिमा भुक्तानी गर्छु भनेको हुनाले सो ऐन मुद्दति योजनाहरुमा लागू नहुने उनको भनाइ छ ।

बैंकले ग्राहक सम्पर्कमा नआएको सूचना निकाल्दा पनि लिन नआएको अवस्थामा मात्रै सो व्यवस्थ लागू हुने उनको धारणा छ । बैंकहरुले मुद्दती निक्षेपमा अहिले पनि १० वर्षको ऋणपत्र स्वीकार गरिरहेको उनले बताए ।

‘बैंकहरुको ऋणपत्र हेर्ने हो भने १० वर्षसम्मको अवधि हुन्छ, त्यसमा चल्ति नभएको भन्न मिल्दैन,उसले सृजना गरेको दायीत्व नै दीर्घकाल हो, यसलाई चल्ति नभएको भन्न मिल्दैन,’उनले भने ।

‘बैंक र ग्राहकबीच सम्झौता भएको हुन्छ, जति नै वर्षको अवधि भएपनि त्यो दिनमा बैंकले मुद्दति निक्षेप फिर्ता दिन्छ, बैंकले समय सकिएको अवस्थामा सूचना गरेर पुन नवीकरण गर्न आउनु भन्छ, नवीकरण गर्याे भने पुन निक्षेपमा जान्छ होइन भने बचत खातामा जम्मा हुन्छ, यस्ता खातामा जहिले पनि दाबी पर्छ,’ उनले भने ।

सामान्य बचत, चल्ती खाता नियममित चल्ने खाता भएकाले लामो समयसम्म सक्रिय नभएमा सो व्यवस्था लागू हुने उनको भनाइ छ । ‘सामान्य बचत, चल्ती खाता नियममित चल्ने खाता हुन्, लामो समयसम्म सक्रिय नभएमा बैंकले लिनका लागि बोलाउँछ, बोलाउँदा पनि लिन नआएमा यो व्यवस्था लागू हुन्छ, लामो समयसम्म नआएमा बैंकिङ्ग कोषमा जम्मा हुन्छ,’ उनले भने, ‘यदि कुनै बैंकको योजनामा रकम राखेर एकै पटक २५ वर्षपछि लिन्छु भनेर जाँदा त्यो रकम लिन पाउँछन्, याृजना नै त्यहि प्रकृतिको हो ।’

सम्बन्धित सामग्री : १० लाख डिपोजिट गर्दा एक करोड पाइने, कुन बैंकमा पैसा राख्दा बढी फाइदा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.