बलियो बन्दै जीवन बीमा कम्पनी, नाफा घटेपनि बढाए कोषको आकार

  २०७९ साउन ३१ गते १४:००     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा अधिकांश जीवन बीमा कम्पनीको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा १७ कम्पनीहरुको नाफामा औषत ४४.२८ प्रतिशतले  घटेको छ ।

हालसम्म कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरण अनुसार १७ कम्पनीले कूल २ अर्ब ५ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका छन् । यस्तो रकम अघिल्लो आवमा ३ अर्ब ५९ करोड २ लाख रुपैयाँ थियो ।

१७ कम्पनीमध्ये ९ कम्पनीको नाफा घटेको पाइएको छ । जीवन बीमामध्ये अग्रस्थानमा रहेको नेपाल लाइफसहित, मेटलाइफ, प्राइम लाइफ, एशियन लाइफ, सूर्या लाइफ, आइएमई लाइफ, लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ र यूनियन लाइफको नाफा एक वर्षको अवघिमा घट्न पुगेको छ भने बाँकी कम्पनी नाफामा छन् ।

नाफा घट्नेमध्ये पनि तीन वटा जीवन बीमा कम्पनीहरु नोक्सानमा छन् । नोक्सानमा हुनेमा नेपाल लाइफ, सूर्या लाइफ र लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । जसमध्ये पनि रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा बढी नोक्सानमा छ । इन्स्योरेन्स हाल ३५ करोड २७ लाख रुपैयाँ नोक्सानमा रहेको पाइएको छ ।

त्यस्तै, प्रतिशतको आधारमा हेर्ने हो भने सूर्या लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा बढी प्रतिशतले घटेको छ । अघिल्लो आवको तुलनामा इन्स्योरेन्स गत आवमा १६७.२७ प्रतिशतले नाफा घटाएर नोक्सानमा छ । सूर्या लाइफले अघिल्लो वर्षमा २० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ ।

यता नाफा कमाउनेमा नेशनल लाइफ, रिलायबल लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ र महालक्ष्मी लाइफ रहेका छन् । जसमध्ये सन नेपाल लाइफको सबैभन्दा बढी प्रतिशतले नाफा बढेको छ । एक वर्षमा सन नेपालले १६७.२६ प्रतिशतले नाफा बढाएर २१ करोड ४६ लाख रुपैयाँ बराबर कमाउन सफल भएको छ ।

रकमको आधारमा भने नेशनल लाइफले सबैभन्दा बढी नाफा कमाएको छ । नेशनल लाइफले एक वर्षमा ४० करोड ८८ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अन्य कम्पनीको तुलनामा सर्वाधिक हो भने कम्पनीले अघिल्लो वर्ष कमाएको नाफाभन्दा १.९१ प्रतिशतले बढी हो । नेशनल लाइफले अघिल्लो आवमा ४० करोड १२ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो ।

सबैभन्दा कम नाफा आर्जन गर्नेमा यूनियन लाइफ छ । यूनियन लाइफले १ करोड २७ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अन्य कम्पनीको तुलना कम हो भने अघिल्लो वर्षको तुलनामा ९०.२६ प्रतिशतले घटी हो ।

२२.२६ प्रतिशतले बढ्यो जीवन बीमा कोष

आर्थिक वर्ष २०७८/७९ मा १७ जीवन बीमा कम्पनीको जीवन बीमा कोषको आकार कूल ४ खर्ब १५ अर्ब रुपैयाँ बढीको छ । जुन अघिल्लो आवको तुलनामा २२.२६ प्रतिशतले बढी हो । उक्त रकम अघिल्लो आवमा ३ खर्ब ३९ अर्ब रुपैयाँ थियो ।

जीवन बीमा कोषको आधारमा नेपाल लाइफ सबैभन्दा अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको उक्त कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ बढी छ । जबकी अन्य कम्पनीको उक्त कोषमा खर्बभन्दा तल छ । अघिल्लो वर्ष १ खर्ब १२ अर्ब रुपैयाँ रहेको उक्त कोष एक वर्षमा २१.५८ प्रतिशतले बढेको हो ।

प्रतिशतको आधारमा रिलायबल लाइफको जीवन बीमा कोषको आधार सर्वाधिक बढेको छ । एक वर्षमा कम्पनीको कोषको आकार ७८.१३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २ अ र्ब ५८ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा हाल ४ अर्ब ६० करोड रुपैयाँ बढी सञ्चित छ ।

त्यस्तै, सबैभन्दा कम जीवन बीमा कोष हुनेमा महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको उक्त कोषमा २ अर्ब १२ करोड रुपैयाँ सञ्चित छ । जुन अन्य कम्पनीको तुलनामा कम भएपनि अघिल्लो वर्षको तुलनामा भने २२.२६ प्रतिशतले बढी हो ।

समग्रमा हालसम्म प्रकाशित वित्तीय विवरणमध्ये सबै कम्पनीको जीवन बीमा कोषको आकार भने बढ्दो छ । यसले कम्पनीहरु नाफा बढाउनमा भन्दा कम्पनीलाई बलियो बनाउन तर्फ केन्द्रित रहेको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X