नेपाल ट्रष्टको सयौं रोपनी जग्गामा व्यक्तिको रजाइँ, यी हुन् स्वामित्वमा ल्याउन नसकेका जग्गा

  २०७९ साउन ३१ गते १०:५२     विकासन्युज

काठमाडौं । नेपाल ट्रस्टको स्वामित्वमा रहेको सयौं कित्ता जग्गाहरु लामो समयदेखि एकलौटी रुपमा व्यक्ति (मोही)ले प्रयोग गर्दै आएका छन् । काठमाडौं उपत्यकाभित्र मालपोत तथा नापीको रेकर्डमा नेपाल ट्रस्टको स्वामित्वमा रहेका १०९ कित्ता जग्गाहरु मोहीहरुले एकलौटी रुपमा प्रयोग गर्दै आएको देखिएको हो ।

ट्रस्टले पछिल्लोपटक प्रकाशन गरेको प्रतिवेदनअनुसार काठमाडौं नगरपालिकाको वडा नं. २९ मा ४ कित्ता र तत्कालिन बालाजुको वडा नं. ८ क मा २७ कित्ता जग्गा मोहीले प्रयोग गर्दै आएका छन् ।

त्यस्तै, तत्कालिन सतुंगलको वडा नं. १ क मा १ कित्ता, मातातिर्थ १ क मा २७ कित्ता, मातातिर्थ १ ख मा ७ कित्ता र थानकोट महादेवस्थान वडा नं. ४ क मा ११ कित्ता जग्गा मोहीको स्वामित्वमा रहेको ट्रस्टको प्रतिवेदनमा उल्लेख गरिएको छ । थानकोट महादेवस्थानकै वडा नं. ४ ख मा १५ कित्ता र ४ ग मा १७ कित्ता जग्गा मोहीले प्रयोग गर्दै आएका छन् ।

०६४ सालमा अध्यादेशमार्फत् स्थापना भएको नेपाल ट्रस्टले डेढ दशकभन्दा बढी समय गुजारीसकेको छ । पछिल्लो अभिलेखअनुसार ट्रस्टसँग २१ हजार रोपनी भन्दा धेरै जमिन रहेको छ । जसमध्ये सयौं रोपनी जमिन विभिन्न व्यक्तिहरुले मोहीको रुपमा प्रयोग गर्दे आएका छन् । यसरी मोहीहरुले प्रयोग गर्दै आएको जमिनबाट न त ट्रस्टले कुनै उत्पादित मूल्य पाएको छ न त आफ्नो स्वामित्वमा नै ल्याउन सकेको छ ।

नेपाल ट्रस्टका प्रवक्ता विष्णुराज ढकालले ट्रस्टले गर्नुपर्ने काम धेरै भएको र मोहीको स्वामित्वमा रहेका जग्गाहरुलाई ट्रस्टको स्वामित्वमा ल्याउने विषयमा काम अगाडि बढीनसकेको बताएका छन् । उनले आफु ट्रस्टको जिम्मेवारीमा आइसकेपछि मोहीहरुले प्रयोग गरेको जग्गाको अवस्थाबारे अनुगमन गर्ने काम पनि नभएको बताए ।

ट्रस्टमा नापी विषयको नेतृत्व सम्हाल्दै आएकी नापी अधिकृत दुर्गा चापागाईंले ट्रस्टले मोहीहरुले प्रयोग गर्दै आएको जग्गालाई ट्रस्टको स्वामित्वमा ल्याउनेबारे आवश्यक काम अगाडि नबढेको बताइन् ।  साथै उनले रेकर्डमा मोहीको नाममा देखिएका अधिकांश जग्गाको प्रयोग पनि मोहीहरुले नै गरिरहेको बताइन् ।

‘सञ्चालक समितिको बैठक नबसेको धेरै भएको भइसक्याे, खासगरी सो समितिको बैठक नबसिकन केहीपनि गर्न नमिल्ने रहेछ, त्यहीभएर अगाडि बढेको छैन्,’ अधिकृत चापागाईंले भनिन् । व्यक्तिगत स्वामित्वमा रहेको जग्गामा मोहीको आधा हक हुने तर तत्कालिन राजा विरेन्द्रको सम्पत्ति नभएर सरकारी जग्गा भएको भए त्यसमा मोहीको हक नलागेर सबै सम्पत्ति ट्रस्टको मातहतमा आउन सक्ने उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.