कुन बैंकले दिन्छ सस्तोमा ऋण ? यस्तो छ २६ वटै बैंकको ब्याजदर

  २०७९ साउन २७ गते १५:३४     विकासन्युज

काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । बैंकहरुले लगानीयोग्य रकम नपाइरहेको अवस्थामा ब्याज बढाएर निक्षेप संकलन गर्ने रणनीति पनि बनाइरहेका छन् । लगानी गर्नका लागि स्रोतको अभाव भएपछि बैंकहरुले विभिन्न बचतका योजनामा आकर्षक ब्याज दिएर पैसा संकलन गर्ने रणनीति बनाइरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य स्रोतको अभाव हुँदा निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर (स्प्रेड रेट) पनि बढाएको छन् । जसले गर्दा बैंकहरुको ब्याजदर थप महँगो भएको छ । बैंकहरु ब्याज बढाउने उद्धेश्यले आधार दर बढाउन बाध्य भएका छन् । अहिले बैंकहरुको आधारदर नै दोहोरो अंकमा छ ।

नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार ब्याजदरसँग आवद्ध गर्नुपर्ने व्यवस्था गरेको छ । आधार दरमा केही निश्चित प्रिमियम तोकेर बैंकहरुले ऋण लगानी गर्छन् । बैंकहरुको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरुको आधार दर औसतमा ९.४६ प्रतिशत छ ।

अहिले आधा दर्जन वाणिज्य बैंकहरुको आधार दर १० प्रतिशत माथि छ । कुमारी, सिभिल, सेञ्चुरी, सिटिजन्स, मेगा र सनराइज बैंकको आधारदर १० प्रतिशतभन्दा बढी देखिएको छ । यी बैंकहरुको आधार दर क्रमशः १०.५७ प्रतिशत, १०.४६ प्रतिशत, सेञ्चुरी बैंकको १०.२३ प्रतिशत, सिटिजन्स बैंकको १०.०९ प्रतिशत, मेगाको १०.०१ प्रतिशत र सनराइज बैंकको १०.०१ प्रतिशत छ ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बैंकहरुको औसत आधार दर ८.९९ प्रतिशत थियो । यो अवधिमा चार वटा वाणिज्य बैंकको आधार दर ३ प्रतिशत बिन्दुले वृद्धि भएको छ । १३ वटा वाणिज्य बैंकका आधार दर ९ प्रतिशतको हाराहारीमा छ । पाँच वटा वाणिज्य बैंकहरुको आधार दर ८ प्रतिशत र दुइटा वाणिज्य बैंकको आधारदर ७ प्रतिशतको हाराहारीमा छ । अहिले सबैभन्दा कम आधारदर नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको छ ।

आधार दर बढेपछि बैंकहरुको कर्जामा दिने ब्याज पनि बढाउँछन् बैंकहरुले अधिकतम ५ प्रतिशत प्रिमियम लिँदै आएका छन् । अहिले १० प्रतिशत हाराहारीमा आधारदर भएका बैंकहरुको कर्जा १५ प्रतिशतसम्म हुन्छ । कम आधारदर भएका बैंकहरुको ब्याजदर कम र बढी हुनेको कर्जाको ब्याजदर पनि बढी नै हुन्छ ।

One comment on "कुन बैंकले दिन्छ सस्तोमा ऋण ? यस्तो छ २६ वटै बैंकको ब्याजदर"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.