५ करोडको लगानीमा बाइसधारा पार्क ‘स्मार्ट’ बन्दै, पिकनिक स्पटदेखि स्विमिङ पुलसम्मको सुविधा

  २०७९ साउन २७ गते १४:००     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको बाइसधारा पार्कको स्तरोन्नती गर्ने भएको छ । महानगरले सो पार्कको स्तरोन्नती गरेर ‘स्मार्ट पार्क’ को रूपमा विकास गर्ने भएको हो ।

बालाजुको बाइसधारा पार्कलाई नयाँ स्वरूपमा फेरेर पुनर्निमार्ण गर्ने योजनाका साथ काठमाडौं महानगरपालिकाले काम अगाडि बढाएको हो । महानगरका सार्वजनिक निर्माणका विभागीय प्रमुख रामबहादुर थापाले बाइसधारा पार्कलाई स्मार्ट पार्कका रुपमा अगाडि बढाउने बताएका हुन् ।

उनका अनुसार सो पार्ककालाई स्मार्ट पार्कको रूपमा विकास गर्ने योजनासहित अहिले महानगर अगाडि बढेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि बालाजु बाइसधारा पार्कको सौन्दर्यता हराएको थियो । त्यसपश्चात् उक्त पार्कको स्वरुप परिवर्तन हुन सकेको थिएन । अब महानगरले उक्त पार्कलाई पुनः निर्माण गरी नयाँ स्वरुप दिन लागेको हो ।

विभागीय प्रमुख थापाका अनुसार पार्क निर्माण गर्नको लागि ५ करोड ९७ लाख ७९ हजार रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । सो पार्क निर्माण गर्नको लागि महानगरपालिकाले टेन्डर लगाइसकेको छ । श्री पशुपति कन्स्ट्रक्सन कम्पनीले सो पार्क निर्माण गर्ने टेन्डर पारेको हो । कम्पनीले टेन्डर पारे पनि महानगरसँग पार्क निर्माण गर्नको लागि सम्झौता भने भएको छैन ।

पार्क निर्माणको लागि उक्त कम्पनीसँग सम्झौता गर्ने तयारीमा रहेको महानगरपालिकाले जनाएको छ । ‘पार्क निर्माणको लागि अहिले महानगरले आवश्यक तयारी गर्दै छ, उक्त कम्पनीसँगै महानगरले पार्कको स्तरोन्नती तथा निर्माण गर्नको लागि सम्झौता गर्ने तयारीमा लागेको छ, खरिद विभागबाट टेन्डर भएर सम्झौता भएपछि काम अगाडि बढाउने हो, अहिले खरिद सम्झौता गर्ने क्रममा छौं,’ थापाले भने ।

महानगरपालिकाका अनुसार साउनभित्रै उक्त कम्पनीसँग सम्झौता हुनेछ । सम्झौता पश्चात् मात्र पार्क कहिले निर्माण सक्ने भन्ने विषय टुङ्गो लाग्नेछ । निर्माण पश्चात् पार्कका सम्पूर्ण स्वरुप परिवर्तन भई नयाँ संरचनामा पार्क देख्न पाइने पनि थापाले बताए ।

महानगरपालिकाले ३ वर्ष अगाडि सो पार्कको स्तरोन्नती गर्ने योजना बनाएको थियो । पार्क भित्र सामान्य मर्मत सम्भार गरे पनि पार्कको कामले पूर्णता पाउन सकेको थिएन ।

नयाँ संरचनाको विकास गर्ने योजना सहित महानगरले एक वर्ष अगाडि नै टेन्डरको आव्हान गरेको थियो । तर, टेन्डर भए पनि सम्झौता हुन नसक्दा पटक–पटक ठेक्का रद्ध हुँदै आएको पनि थापाले बताए ।

पार्कको संरक्षण गरेर थप आकर्षक, सुविधायुक्त र मनमोहक बनाउने योजना अनुसार महानगरले बाइसधारा पार्कको गुरुयोजना तयार पारी स्मार्ट पार्कका परिकल्पना साथ अगाडि बढाएको हो ।

‘अब पार्कलाई मर्मत गरेर मात्र हुँदैन, यसलाई पुनः संरचनामार्फत् नयाँ स्वरुप दिएर स्मार्ट बनाउने हाम्रो सोच छ, निर्माण सम्पन्न गर्न केही वर्ष लाग्ला तर पार्कलाई स्तरोन्नती गरेर साँच्चिकै थकाइ बिसाउने उत्तम विकल्प बनाउँछौं,’ उनले भने ।

पार्कभित्र रहेका स्पटहरुलाई पिकनिक खान योग्य बनाउन सके आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने महानगरको विश्वास छ । पार्कभित्रको प्राकृतिक बगैँचा र धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण पनि गर्ने महानगरको योजना छ । पार्क निर्माण पश्चात् पार्क भित्र प्रवेश गर्न सामान्य शुल्क पनि लाग्छ । तर, शुल्क निर्धारण अहिले नै भई नसकेको पनि थापाले बताए ।

महानगरपालिकाले अहिले बाइसधारा पार्कमा नयाँ स्विमिङ पुल (पौडी पोखरी), पिकनिक स्पट, चेन्जिङ रुम, पुल, सांस्कृतिक सम्पदा आदि जस्ता संरचनाको निर्माण हुनेछन् । पौडी पोखरीको वरपरको जग्गामा बच्चाहरूका लागि पनि छुट्टै पोखरी बनाउने तयारी गरिएको छ । स्विमिङ पुल वरपर हरियाली बगैँचा पनि रहनेछ । सँगै विभिन्न आकर्षक संरचनाहरू बनाएर स्विमिङ पुललाई स्तरी बनाइनेछ ।

उक्त कम्पनीसँग सम्झौता भई ठेक्का लगाएर दशैैं अगाडि बाट नै काम सुरु गर्ने योजना रहेको पनि थापाले बताए । थापाका अनुसार पार्कको डिजाइन सामान्य परिवर्तन भएको छ । पार्क ओलम्पिक स्ट्याण्डर्डमा हुनेछ ।

महानगरका अनुसार पार्क १ सय ६५ रोपनी जमिनमा हुनेछ । प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाहरूले सजिएको बाइसधारा पार्कमा थप आन्तरिक पर्यटक भित्र्याउन भन्दै महानगरले स्तरीकरणको योजना बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.