जनकपुर भन्सारको राजस्व संकलन घट्यो

  २०७९ साउन २७ गते ८:३९     विकासन्युज

जनकपुर । जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ ।

सो कार्यालयले आव २०७८/७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व संकलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात २६ करोड ३६ लाख ७९ हजार राजस्व संकलन गरेको छ । जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव २०७८/७९ मा भन्सार महसुलतर्फ १६ करोड १७ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ नौ करोड ७४ लाख ५९ हजार, अन्तःशुल्कतर्फ ३७ लाख २७ हजार र बोलपत्र आयाततर्फ सात लाख १५ हजार राजस्व संकलन गरेको छ ।

आव २०७७/७८ मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व संकलन भएको थियो । आव २०७७/७८ मा रु ५३ करोड ५१ हजार ५७ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु ४४ करोड ५९ लाख ७१ हजार संकलन भएको थियो । भन्सार कार्यालयका अनुसार आव २०७७/७८ मा भन्सार महसुलतर्फ २१ करोड ७७ लाख ८२ हजार, मूल्य अभिवृद्धि करतर्फ २२ करोड ३३ लाख ८ हजार, अन्तःशुल्कतर्फ ३० लाख ६२ हजार र सडक निकासी दस्तुरतर्फ १८ लाख १८ हजार राजस्व संकलन भएको थियो ।

थुप्रै सामान आयातमा लगाएको प्रतिबन्ध, बैंकिङ माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था, बाटोको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, स्थानीय तहको निर्वाचनलगायतका कारणले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकिएको कार्यालय प्रमुख दासले बताए । जिल्लामा मुख्य भन्सार कार्यालय एक र छवटा छोटी भन्सार कार्यालय छन् । जटही, इनर्वा र अररियास्थित छोटी भन्सार मात्र सञ्चालनमा छन् । खजुरी, महुवा र महिनाथपुरस्थित छोटी भन्सार कार्यालय हाल बन्द रहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.