साल्ट ट्रेडिङले १० कित्ता सेयर भएका लगानीकर्तालाई बनायो लखपति

  २०७९ साउन २५ गते २०:४२     विकासन्युज

काठमाडौं । तत्कालीन समयमा नेपालमा नूनको व्यवथापन र बिक्री वितरणमा सहजता कायम गर्नका लागि वि.स. २०२० साल भाद्र २७ गते स्थापना भएको कम्पनी हो साल्ट ट्रेडिङ्ग कर्पोरेशन ।

नेपालमा नूनको स्रोत नभएको कारण सो समयमा यातायातको समस्याका कारण जनतालाई नून पुर्याउन ठूलो चुनौति थियो । नूनको आपूर्ति व्यवस्थालाई व्यवस्थित र नियमित गर्न तत्कालीन श्री ५ को सरकारले मुख्य व्यापारीहरूलाई समावेश गरी नूनको कारोबार गर्न साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड स्थापना गरेको हो ।

कम्पनीले आफ्नै लगानीमा गोरखकाली रबर उद्योग, नेपालकै प्रथम खाद्य उद्योग, नेपाल वनस्पति ध्यू उद्योग लगायत हिमालय खाद्य एवं प्याकिङ उद्योग, नेशनल फाईनान्स, सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाहरू स्थापना गरेर देशलाई औद्योगिकरण तथा ब्यापार व्यवसायमा आफ्नो पकड बनाएको थियो । तर, विभिन्न कारणले केही संस्थाहरु हाल संचालनमा छैनन् ।

हाल कम्पनीले देशका जनतालाई ९३ कार्यालय (२२ कार्यालय र ७१ सम्पर्क कार्यालय) मार्फत सेवा उपलब्ध गराइ रहेको छ । ५९ अघि स्थापना भएको कम्पनी नेपालको सबैभन्दा ठूलो व्यापारिक संस्था हो ।

कम्पनीमा सर्वसाधारणको लगानी २१ प्रतिशत र सरकारको ७९ प्रतिशत लगानी रहेको छ । औधोगिक क्षेत्रमा आफ्नो छुट्टै छाप रहेको सो कम्पनी सन् २००७ साल जुलाई २६ तारिखमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । कम्पनीको चुक्ता पूँजी २३ करोड ४ लाख ४२ हजार रुपैयाँ रहेको छ । नेप्सेमा कम्पनीको २५ लाख ३५ हजार ३१२ कित्ता सेयर छन् । बुधबारको कारोबार अनुसार कम्पनीको बजार पूँजीकरण १० अर्ब ४६ करोड ५७ लाख ६७ हजार रुपैयाँ छ ।

जनतालाई नूनको सेवा दिइरहेको भएपनि नेप्सेमा कम्पनीलाई ‘हट केक’ सेयरका रुपमा लिइन्छ । यस कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै भएको कम्पनीका रुपमा चिनिन्छ । सेयरधनीहरुलाई मनग्य प्रतिफल दिइरहको कम्पनीको सेयर मूल्य बुधबारसम्म ४ हजार १२८ रुपैयाँ रहेको छ । उसो त यस कम्पनीको सेयरमूल्य केही वर्ष अघि १४ हजारसम्म पनि पुगेको थियो ।

कम्पनीको सेयरमा एक हजार रुपैयाँ लगानी गरेर १० कित्ता भएका सेयरधनीलाई ११ वर्षमा लखपति बनाएको छ । यदि कम्पनीमा आर्थिक वर्ष २०६७/२०६८ मा एक हजार रुपैयाँ लगानी गरेर १० कित्ता सेयर थियो भने आर्थिक वर्ष २०७७/२०७८ सम्म सेयरधनीले ३ लाख रुपैयाँ प्रतिफल प्राप्त गरेको छ । यद्यपि आर्थिक वर्ष २०६७/२०६८ मा कम्पनीको सेयर मूल्य धेरै भएकाले एक हजार रुपैयाँमा १० कित्ता पाउन मुस्किल थियो ।

२०६८ मा यस कम्पनीको सेयर मूल्य साढे २ सयको हाराहारीमा थियो । त्यसपछि कम्पनीले निरन्तर बोनस सेयर र नगद लाभांश दिँदै आएको छ ।११ वर्षको लाभांशलाई मात्रै हिसाव गर्दा एक हजार रुपैयाँ लगानी गर्ने सेयरधनीको १० कित्ताले बोनस र नगद लाभांशबाट ३ लाख रुपैयाँ प्रतिफल प्राप्त गरेका छन् ।

कम्पनीले प्रत्येक वर्ष नगद लाभांश पनि वितरण गर्दै आएको छ । तर, यस तथ्याङ्कमा नगद लाभांश समावेश गरिएको छैन । नगद लाभांश पनि जोड्ने हो भने १० कित्ते सेयरधनीले ११ वर्षमा ३ लाख रुपैयाँ बराबर पाएका हुन् ।

कम्पनीले ११ वर्षको अवधिमाम न्यूनतम १० प्रतिशतदेखि ४५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट १० बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद गरी कूल १०.५० प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक बर्ष २०७६/७७ मा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले आर्थिक बर्ष २०७३/७४ मा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल ३५ प्रतिशत, आर्थिक बर्ष २०७२/७३ मा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, कम्पनीले आर्थिक बर्ष २०७१/७२ मा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत, आर्थिक बर्ष २०७०/७१ मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल २० प्रतिशत र आर्थिक बर्ष २०६९/७० मा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले आर्थिक बर्ष २०६८/६९ मा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत र आर्थिक बर्ष २०६७/६८ मा ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.