प्राधिकरणले ७ करोडको लगानीमा बनाउँदै सुविधा सम्पन्न ६ वटा पार्क, तयारी तीव्र

  २०७९ साउन २५ गते ११:२९     राजिव न्यौपाने

काठमाडौं । उपत्यका विकास प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० मा ६ वटा पार्कको निर्माण गर्ने भएको छ । प्राधिकरणले काठमाडौं उपत्यकाका तीन शहर काठमाडौं, ललितपुर र भक्तपुरमा निर्माण गर्न लागेको हो ।

प्राधिकरणले सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रमा सुन्दर पार्क निर्माण गर्ने योजनाका साथ यो वर्ष ६ वटा पार्क निर्माण गर्न लागेको उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी तथा इन्जिनियर सौरब ढकालले बताए । प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा सो पार्क निर्माण गर्ने योजना समावेश गरेको छ ।

सूचना अधिकारी ढकालका अनुसार काठमाडौंमा दुई, भक्तपुरमा गत वर्षकै पार्कलाई निरन्तरता र ललितपुरमा तीन वटा पार्क निर्माण हुने भएका हुन् । र, एउटा पार्क विपद् व्यवस्थापन तथा वातावरण संरक्षणको लागि सहरी क्षेत्रका सार्वजनिक जग्गामा पार्क निर्माण गर्ने कार्य रहेको प्राधिकरणले जनाएको छ ।

उपत्यकामा सुविधा सम्पन्न पार्क निर्माण गर्ने योजनासहित सो पार्कको बनाउने लक्ष्य लिएको पनि बनाएको ढकाले बताए । पार्क निर्माण गर्नको लागि प्राधिकरणले काठमाडौंमा दुई करोड, ललितपुरमा चार करोड र सार्वजनिक जग्गामा पार्क निर्माण गर्नको लागि एक करोड गरी जम्मा ७ करोड रुपैयाँ बजेटको विनियोजन गरेको छ ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष भित्रमा नै ति पार्कहरुको निर्माण कार्य सकिनेछ । प्राधिकरणले टेन्डरेका आव्हान गरे पश्चात् सो पार्कको निर्माण कार्य सुरु हुनेछ ।

‘यस वर्ष उपत्यका भित्र ६ वर्ष पार्कको निर्माण गर्ने लक्ष्य छ, यसको सम्पूर्ण प्रक्रिया पुरा गरी पार्क निर्माणको प्रक्रिया जान्छौं, यो मल्टिपल पार्कको योजना हो, अहिले शहरको अतिआवश्यक चिज भित्र पार्क पनि पर्छ, त्यसैले यस योजनालाई अगाडि बढाउने जमर्को गरेका हौं,’ उनले भने ।

ढकालका अनुसार पार्क अनुसार फरक–फरक सेवा सुविधा हुनेछन् । उनका अनुसार जलवायु अनुकूल, पर्यावरण अनुकूलन र विपत् व्यवस्थापन अनुरूपको पार्क निर्माण हुनेछन् ।

‘शहरदेखि गाउँको इच्छा र आकांक्षा फेरिएको छ, मान्छेलाई मनोरञ्जन नभई नहुने आवश्यकता हो, साँच्चै भन्ने हो भने घर, कार्यालय, बैठक, काम अनेक कामको बोझले तनावको तह बढ्दा मान्छेलाई दुई मिनेट शान्त भएर एकान्तमा ‘रिफ्रेस’ हुने ठाउँ पनि छैन, त्यसैले पार्क निर्माण अवधारण ल्याएको हौं,’ उनले भने ।

कुन ठाउँ बन्दैछन् पार्क ?

प्राधिकरणका अनुसार ६ वटा पार्क निर्माणको योजना चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएको छ । जसमध्ये केही पार्कको निर्माणको तयारीमा पनि प्राधिकरण जुटिसकेको छ । गत आर्थिक वर्षमा पनि साना ठुला गरी करिब ३० वटा पार्क निर्माणको अवधारणासहित प्राधिकरण अगाडि बढेको थियो । उक्त पार्कमध्ये केही पार्क निर्माणको काम सम्पन्न भएको छ भने बाँकी पार्क चालु आबभित्र सम्पन्न गर्ने लक्ष्य राखेको प्राधिकरणले जनाएको छ ।

नयाँ योजनामा समावेश भएका पार्कमा एक करोड रुपैयाँ भन्दा बढी बजेट प्राधिकरणले विनियोजन गरेको छ । प्राधिकरणको चालु आर्थिक वर्षको योजना अनुसार काठमाडौं जिल्लाको कागेश्वरी नगरपालिका वडा नं. ७ र ८ स्थित कागेश्वरी मन्दिर क्षेत्रमा पार्क निर्माण गर्नको लागि ८० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

यस्तै, काठमाडौंकै शंकरापुर नगर वडा नं.७ स्थित धार्मिक पर्यटन स्थल सलिनदीमा पार्क, टोखा नगरको वडा नं. ६ मा रहेको हात्तीटोल ढङगेधारा पुन निर्माण तथा सार्वजनिक जग्गा संरक्षण गर्ने, नागार्जुन नगरको वडा नं ७ स्थित घटाल बाबा मन्दिर क्षेत्रको जग्गा संरक्षण तथा पूर्वाधार निर्माण गर्नको लागि एक करोड २० लाख रुपैयाँ बजेट रहेको छ ।

प्राधिकरणका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ मा रहेको ढुङ्गेकोट र लुभु मा.वि. पछाडिको सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्नको लागि एक करोड रुपैयाँ छुट्याएको छ । यस्तै, ललितपुर महानगरपालिका वडा नं. २५ सैंब भैसेपाटीको सार्वजनिक संरक्षण गरी पार्क निर्माण गर्नेको लागि २ करोड रुपैयाँ बजेट छुट्याएको छ । सो महानगरको नै वडा नं. १३ मच्छिन्द्र पार्क र वडा नं. २१ खोकना स्थित पंचो पार्क निर्माण गर्नको लागि एक करोड रुपैयाँ बजेट रहेको छ ।

विपद् व्यवस्थापन तथा वातावरण संरक्षणको लागि सहरी क्षेत्रमा सार्वजनिक जग्गामा पार्क निर्माण गर्नेको लागि एक कारण रुपैयाँ बजेट छुट्याएको पनि प्राधिकरणले बताएको छ ।

गत वर्ष ६ वटा पार्क निर्माण

गत आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले एक करोड रुपैयाँ भन्दा माथिका १५ वटा पार्कका निर्माणको काम अगाडि बढाएको थियो । ती पार्कहरुमध्ये ६ वटा पार्कको निर्माण सम्पन्न भएको छ भने बाँकी ९ वटा पार्क निर्माणको काम पनि चालु आर्थिक वर्ष भित्र सक्ने योजना रहेको प्राधिकरणका सूचना अधिकारी ढकालले बताए ।

पार्क निर्माणको कार्य हाल तीव्र गतिमा भइरहेको प्राधिकरणको भनाइ छ । यो वर्ष नै ती पार्कको निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ काम भइरहेको पनि ढकालले जानकारी दिए । केही पार्क निर्माणको योजना बहु–वर्षीय योजनाको रूपमा अगाडि बढेका छन् ।

काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं. २ को गिरिजा प्रसाद, सोही नगरको वडा नं. ८ स्थित ओमनगर, कीर्तिपुर नगरपालिकाको वडा नं. २, चम्पादेवी मन्दिर क्षेत्रमा सार्वजनिक पार्क निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

यस्तै, ललितपुर जिल्लाको बदेलीचौर (गचा), ललितपुर महानगरको वडा नं. २ को छुङमती पार्क निर्माणको काम पनि ४० प्रतिशत पुरा भएको पनि प्राधिकरणले जनाएको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरको वडा नं. ५ को गणेशमान वाटिका पार्क निर्माणको काम ४० प्रतिशत सकिएको छ भने चांगुनारायण नगरको वडा नं. ५ स्थित नागथलि कृष्ण मन्दिर पार्क निर्माणको काम ८० प्रतिशत पुरा भएको पनि प्राधिकरणले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.