हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार भोलिदेखि खुल्ने

  २०७९ साउन २४ गते १६:३५     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार सम्भवतः साउन २५ गते (भोलि) देखि खुल्ने भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरपछि एकीकृत कारोबार शुरु गरेको कम्पनीको सेयर कारोबार भोलिदेखि खुल्ने गरी अन्तिम तयारीमा पुगेको हो ।

इन्स्योरेन्सले दोश्रो बजारमा सेयर कारोबार खुलाउनको लागि कम्पनीको तर्फबाट सबै काम भइसकेको कम्पनीको प्रवक्ता धुर्व न्यौपानले बताए ।

‘हामीले हाम्रो तर्फबाट सबै काम सम्पन्न गरिसक्यौं र नेप्सेमा पत्र पनि पठाइसकेका छौं,’ उनले विकासन्युजसँग भने ।

यता नेप्सेले पनि कम्पनीबाट चिठी पाइसकेको बताएको छ । ‘कारोबार खुलाउन इन्स्योरेन्सबाट चिठी आइसकेको छ, तर स्वीकृत भने पाइसकेको छैन, अब सीईओ सरबाट स्वीकृत भएपछि दोश्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्छ, सम्भवतः भोलि खुल्ला,’ उक्त श्रोतले विकासन्युजसँग भन्यो ।

नेपाली बीमा बजारमा पहिलो पटक मर्जरमा गएका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी । यी दुई कम्पनीले गत बैशाख २२ गते एक आपसमा मर्जरमा जान प्रारम्भिक सहमति गरेका थिए । त्यसको भोलिपल्ट अर्थात बैशाख २३ गतेदेखि दुबैं कम्पनीको सेयर कारोबार रोक्का भएको थियो ।

हाल दुबै कम्पनीबीचको मर्जर प्रकृया सम्पन्न भइसकेको छ । र, साउन १ गतेदेखि नै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरु भएको छ । एकीकृत कारोबार शुरु गरेको करिब एक महिना पछि दोश्रो बजारमा सेयर कारोबार खुल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.